२ भदौ २०७० | 18 August 2013

'वागमती प्राथमिकतामा परेन'

Share:
  
८ भदौसम्म चल्ने वागमती महोत्सवको आयोजकमध्येको नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष **मेघ आले** भन्छन्, “सरकार र दलहरूले वागमतीलाई डम्पिङ साइट नबनाउने प्रतिबद्धता नगरेसम्म वागमती सफा हुँदैन।”

देबकी विष्ट
वागमती महोत्सव आयोजना गर्नुको उद्देश्य के हो?

नदी फोहोर भएकाले नाक थुनेर हिंड्नुपर्छ। तर नाक थुन्दैमा नदी सफा नहुने भएकाले १२ वर्षदेखि यो महोत्सव आयोजना गरेका हौं। वागमती सभ्यता सबै धर्म, जाति र समुदायका लागि आवश्यक भएकाले हामीले वागमतीप्रति चासो राख्ने सबैका लागि प्लेटफर्म बनोस् र मानिसलाई वागमती र यसमा मिसिने नदीहरूमा पुर्‍याउन सकियोस् भनेर महोत्सव आयोजना गरेका हौं।

महोत्सवमा के के हुन्छ?

नदीको मुहान सफा गर्ने पर्व सिठीनखः बाट महोत्सव शुरु हुन्छ। बाजागाजा सहित सरसफाई, क्लिन परेड, र्‍याफ्टिङ जस्ता कार्यक्रम गरिन्छन्। यसपटक महोत्सवमा मुख्य सचिव, कलाकार, पत्रकार, विभिन्न संघसंस्था, कलेज र विद्यालयले सहभागिता जनाएका छन्।

अभियानबाट के उपलब्धि भएका छन्?

राजनीतिकर्मी र नीतिनिर्माताले वागमती भनिरहेका छन्। सुन्दरीजलदेखि गोकर्णसम्म, पशुपति क्षेत्रमा परिवर्तन आएको छ। नदीलाई सफा गर्न मनैदेखि लाग्ने देखिएका छन्। वागमतीलाई मागिखाने भाँडो बनाउनेहरू पनि हुनु अर्कै कुरा हो।

सरकारको भूमिका कस्तो पाउनुभएको छ?

वागमतीसँग प्रत्यक्ष जोडिएको सुकुम्बासी समस्या र फोहोर व्यवस्थापन सरकारको पहल विना समाधान हुँदैन। वागमतीमा ढल मिसाउन नदिने काम सरकारको हो। सरकारले फोहोर फाल्नेलाई कारबाही र सफाईमा लाग्नेलाई प्रोत्साहित गर्नुपर्छ। सरकार र दलहरूले वागमतीलाई डम्पिङ साइट नबनाउने प्रतिबद्धता जनाउनुपर्दछ।

व्यवसाय गरिरहेको मान्छे कसरी सफाई अभियानमा लाग्नुभयो?

र्‍याफ्टिङ व्यवसायमै छु, म। पेशा र 'प्यासन' दुवै भएकाले नदीको माया लागेको हो। वागमती भन्न पनि लाज लाग्ने अवस्था आएपछि यो अभियानमा लागेको हुँ।

comments powered by Disqus

रमझम