२९ असोज - ११ कार्तिक २०७४ | 15-28 October 2017

उज्यालो घर

Share:
  

बिक्रम राई
औंसीको अघिपछिका दिनमा पर्ने भए पनि तिहारलाई उज्यालोको पर्व मानिन्छ । बत्ती, फूल, रंगरोगन र सजावटलाई महत्व दिइने यो पर्वमा झिलिमिली बत्ती बालेर घरलाई आकर्षक बनाइन्छ । लक्ष्मीपूजाको दिनमा त दियो, रंगीन मैनबत्ती, इलेक्ट्रिक बत्तीले घर मात्रै नभई पसल, कार्यालय समेत झिलिमिली र झकिझकाउ बनाउने प्रचलन छ । तिहारको तेस्रो दिन त औंसीको रातमा समेत बत्तीले घरलाई उज्यालो बनाएर लक्ष्मीको पूजा गरिन्छ ।

यसरी घर उज्यालो बनाउन पहिले माटोको पाला प्रयोगमा आउँथे । अहिले मैनबत्ती हुँदै विद्युतीय बत्तीको प्रयोग गर्न थालिएको छ । जसले गर्दा स्वदेशमै तयार हुने परम्परागत माटोको पाला र मैनबत्तीको स्थान त्यस्तै देखिने विदेशबाट आयातीत विद्युतीय बत्तीले लिएको छ । आकर्षक र प्रयोग गर्न सजिलो भएकोले परम्परागत सामग्रीभन्दा आयातीत विद्युतीय सामग्रीको प्रयोग बढेको इन्टेरियर डिजाइनर सनन श्रेष्ठ बताउँछन् । त्यसैले पहिले दियो र रंगीविरङ्गी मैनबत्तीले झिलिमिली हुने घर अचेल विद्युतीय बत्तीको उज्यालोमा चम्किन थालेका छन् ।

विद्युत्को सहज आपूर्तिले पनि इलेक्ट्रिक झिलिमिली, फोकस तथा स्याडो लाइट्सको प्रयोग तिहारमा बढेको उनको भनाइ छ । “विद्युत् कम खपत गर्ने र सजिलै घरमा राख्न सकिने डेकोरेटिभ लाइट्सको प्रयोग बढेको छ” उनी भन्छन्, “तिहारमा बत्तीको आकर्षक सजावट अपरिहार्य समेत बनेको छ ।” पूजाकोठा तथा घरभित्र सँगै बाहिरको आवरण, आँगन, बगैंचा, गेट, पर्खाललाई समेत बत्तीले सजाउने गरिएको छ ।

इलेक्ट्रिक झिलिमिली

लामो समय लोडशेडिङ भोगेका नेपालीले अहिले पर्याप्त मात्रामा विद्युत्को उपयोग गर्न पाएका छन् । यसले पनि तिहारमा अधिकांश घरमा झिलिमिली बत्तीको प्रयोग धेरै हुने विद्युत् व्यवसायी महासंघ नेपालका अध्यक्ष तेजनारायण खरेल बताउँछन् । केही वर्षयता नयाँ–नयाँ डिजाइनमा बनाइएका झालर, मालासँगै विभिन्न रङका प्रकाश दिने फूलबत्ती बजारमा आएका छन् । आवाज तथा संगीतसहितका लाइट्सले पनि उपभोक्तालाई आकर्षित गरिरहेको छ ।

पहिले तिहारका लागि भारतबाट धेरै बत्ती आयात हुन्थे । अहिले चीनबाट धेरै आयात हुन थालेका छन्, सस्तो र आकर्षणले । यसले गर्दा बत्तीले व्यापारिक प्रतिष्ठान तथा मल डेकोरेसन गरेर सजाउन थालिएको छ । यसैलाई पछ्याउँदै घरमा पनि बत्तीले डेकोरेशन गर्न थालिएको इन्टेरियर डिजाइनर श्रेष्ठ बताउँछन् । घरको बाहिरी भाग, रेलिङ, गेट, गेटदेखि घरसम्म पुग्ने बाटो, पार्किङ, बगैंचाका बोटबिरुवामा झिलिमिली बत्ती राखेसँगै घरको टप तथा बाउण्ड्री वालमा कलरफुल फोकस लाइट्स राख्ने गरिएको छ । पर्खालमा निश्चित कलरको फोकस लाइट राखी त्यसको फोकस घरमा पारेर पनि आकर्षक देखाउन सकिने उनी बताउँछन् । नियमित प्रयोग गरिने बल्बलाई परिवर्तन गरेर कलरफुल बनाउन सकिन्छ ।

घरलाई बत्तीले सजाउँदा हुनसक्ने दुर्घटनाका बारेमा पनि ख्याल गर्नुपर्छ । बत्ती झुन्ड्याउन तथा अड्याउन आवश्यक सपोर्ट सामग्री राख्नुपर्छ । विद्युतीय बत्ती बाल्दा विद्युत् सट भएर दुर्घटना हुनसक्ने भएकोले झिलिमिली छनोटदेखि ननिभाउँदासम्म ध्यान दिनुपर्छ । दियो तथा मैनबत्ती बाल्दा अरु चिजलाई नभेट्ने गरी राख्नुपर्छ । तेल पोखिएर हुनसक्ने दुर्घटना रोक्न सानो प्लेटमाथि दियो राखेर बाल्नुपर्छ ।

सविता श्रेष्ठ

comments powered by Disqus

रमझम