तस्वीरहरुः देबकी विष्ट
२४ वर्षीय आबु सुफिया पत्नी मुविना र बच्चाका साथ।
बर्मा (म्यानमार)मा जून २०१२ मा भएको बौद्ध र मुस्लिम समुदायबीचको धार्मिक दंगामा परिवारका सदस्य र सम्पत्ति गुमाएका केही मुस्लिम काठमाडौं आइपुगेका छन्। बंगलादेश र भारतका विभिन्न शहरहुँदै सुरक्षित र सहज जीवनयापनको खोजीमा यहाँ आइपुगेका उनीहरूको संख्या ५१ मात्र भए पनि सो संख्या बढ्न सक्ने देखिन्छ।
नेपाली मुस्लिम समुदायको सहयोगमा अहिले उनीहरू कपनमा २३ र बाँसबारीमा २८ जना बसिरहेका छन्। पासपोर्ट लगायत परिचय जनाउने कुनै कागजपत्र नभएका उनीहरूमध्ये अधिकांशलाई यहाँ बुझिने भाषा बोल्न आउँदैन। बर्माको अर्कान गाउँ छाडेपछि परिवार, गाउँ र समुदायसँग सम्पर्क नभएका उनीहरू देश नफर्कने बताउँछन्।
चार प्रतिशत मुस्लिम धर्मावलम्बी रहेको बर्मामा बौद्ध धर्मावलम्बी ९० प्रतिशतभन्दा बढी छन्। दुई समुदायबीच सन् १९७१ देखि शुरू भएको धार्मिक द्वन्द्व गत वर्ष दंगामा परिणत भएको थियो। जुन दंगामा ७०० मुस्लिम र ३५ बौद्ध धर्मावलम्बीको मृत्यु भएको थियो।
भागेको भागेकै
मोहमद आयस पत्नी नुरजहाँ वेगम र पाँच छोराछोरी सहित दुई महीनाअघि काठमाडौं आइपुगेका हुन्। बर्माबाट भाग्दै गर्दा त्यतै भेटिएकी ९ वर्षीया नुरकलिमा पनि उनीहरूसँगै छिन्। जसका बुबा–आमा लगायत परिवारका सदस्य मारिए वा उनी जस्तै कतै शरणार्थी छन् भन्ने उनीहरूलाई थाहा छैन। दंगा शुरू भएर घर जलेपछि गाउँ छाडेका उनीहरू जंगलको बाटोहुँदै बंगलादेश पुगेका थिए। त्यहाँ जीवनयापन सहज नहुने देखेपछि पाँच दिनमै उनीहरू भारत लागे। भारतको अलिगढ नामको शहरमा एउटा कम्पनीमा काम शुरू गरेको १७ दिनमै प्रहरीले सोधखोज गर्न थालेपछि आत्तिएका आयस घरधनीले नेपालमा संयुक्त राष्ट्रसंघको कार्यालय भएकाले त्यहाँ गए शरणार्थीको कार्ड बन्ने बताएकाले नेपाल आएको बताउँछन्। जोगवनी नाकाबाट विराटनगरहुँदै काठमाडौं आएका उनी अहिले कपनमा घर बनाउने काम गर्छन्।
६५ वर्षीय अब्दुल जलिल पत्नी नूरसवा वेगम, बुहारी मारिया खातुन र तीन नाति–नातिनाका साथमा, जलिलका छोरा कहाँ छन् पत्तो छैन।
साहार वेगमसँग विवाह गरेको एक महीनामै दंगा चर्किएपछि आबुलान उसमान (२५) काम गरेको ठाउँबाट गाउँ पनि नगई पत्नी र ९ वर्षीया साली लिएर भागे। जंगलको बाटोहुँदै बंगलादेश र त्यहाँबाट भारत छिरेका उनी ६ महीनाअघि काठमाडौं आइपुगेका हुन्। उतै हुँदा खानेपानीको पाइप फिट गर्ने सीप सिकेका उनी काठमाडौंमा पनि त्यही काम गरेर गुजारा चलाइरहेका छन्।
दङ्गामा बुबा–आमा गुमाएकी नौ वर्षीया नुरकलिमा बर्माबाट मोहमद आयसको साथ काठमाडौं आइपुगेकी छन्।
दुई महीनाअघि बंगलादेश र भारतहुँदै काठमाडौं आइपुगेका रोफिफ आलम (२०) लाई पत्नी र परिवारका अरू सदस्यको खबर केही थाहा छैन। ज्यान जोगाउन गाउँबाट एक्लै भागेका उनी दंगामा हजारौंको घर जलेको र हजारौं मारिएको बताउँछन्। अब्दुल जलिल (६५) पत्नी नूरसवा वेगम, बुहारी मारिया खातुन र तीन जना नातिनातिना सहित दुई महीनाअघि काठमाडौं आइपुगेका हुन्। दंगाको वेला छोरो घरमा नभएकाले नखोजी भागेका उनलाई छोराको स्थिति थाहा छैन। नेपालमा बुझिने कुनै भाषा नजानेका उनी यहाँका मुस्लिम संगठनहरूको सहयोगमा गुजारा चलाइरहेका छन्।
पत्नी खोज्न पनि भ्याइएन
मोहमद आयुव
गाउँमा हाम्रो २० बिघा खेत छ। ६ महीना पानी जम्ने खेतमा माछा पालेर र अर्को ६ महीना धान लगाएर राम्रो आम्दानी लिन्थ्यौं। दंगा शुरू भएको वेला म घरबाट ८–९ किलोमिटर टाढाको खेतमा थिएँ। खेतबाट राति ८ बजे फर्किंदा आफ्नो र छिमेकीका घरहरू जलिसकेका रहेछन्। पत्नी र परिवारका सदस्यलाई के भयो भन्ने बताउने पनि त्यहाँ कोही थिएन। त्यसपछि भाग्नुको कुनै विकल्प नदेखेर भागें। जंगलै जंगल भाग्दा १० दिनसम्म पानी मात्र पिएर प्राण धानें। त्यसरी बंगलादेश पुगेपछि एउटा होटलमा काम गर्न बसें। होटलको साहूलाई साँचो कुरा बताएपछि उसले त्यहाँ नबस्न सल्लाह दिंदै केही रुपैयाँ बाटो खर्च पनि दियो। उसैले भनेको अर्काे शहर पुग्दा त्यहाँ बर्माबाट भागेका म जस्तै अरू पनि भेटिए। बर्माबाट आउनेहरूलाई प्रहरीले दुःख दिने थाहा पाएपछि हामी भारत जाने निष्कर्षमा पुग्यौं।
त्यहाँ १५ दिन काम गरेको पारिश्रमिक लिएर हामी भारत लाग्यौं। सीमामा प्रहरीले सोधपुछ गर्दा साँचो बताएपछि प्रवेश पाउन गाह्रो भएन। नाम पनि थाहा नभएको भारतको त्यो शहरमा राति रेल्वे स्टेशनमा सुतेर गुजारा चलायौं। त्यहाँ पनि प्रहरीले सोधपुछ गर्न थालेपछि डराएर हामी जोगवनी, विराटनगरहुँदै काठमाडौं आयौं।
परिवारको केही थाहा छैन
हदिम हुसेन
गाउँमा मेरो परिवारको २०० बिघा जमिन छ। पहाडको हाम्रो गाउँको खेतमा माछा र धान राम्रो हुन्छ। सम्पन्न भएकाले गाउँमा हाम्रो परिवार प्रतिष्ठित थियो। केही पढेकाले मलाई थोरै अंग्रेजी बोल्न पनि आउँछ। हाम्रो समुदायको अगुवा परिवार भएर होला दंगामा हामी नै पहिलो निशानामा पर्यौं। घर जलेपछि आमाबुबालाई के भयो थाहा नभए पनि दाइ र म सँगै थियौं। दंगामा परेर घरपरिवार गुमाएको मलाई नै प्रहरीले पक्राउ गरी रातभरि यातना दियो। त्यही वेलाको पिटाइले मेरो छाती अहिले पनि दुख्छ।
भोलिपल्ट थुनाबाट छुटेपछि दाइ र मैले भाग्ने निर्णय गर्यौं। दुई जना सँगै भाग्दा पक्राउ परिने डरले जंगलमा भेट्ने गरी दाइ र म छुट्टाछुट्टै बाटोबाट हिंडेको केही किलोमिटरमै प्रहरीले दाइलाई पक्रियो। त्यसपछि दाइलाई नपर्खी म भागेर बंगलादेश आएँ। पाँच दिनमै बंगलादेशमा बस्न ठीक नहुने निष्कर्षमा पुगेपछि भारतको कोलकाता गएँ। त्यहाँबाट गुहाटी गएर काम गर्न थालेपछि काममै जोगवनी आउँदा घुम्दै विराटनगर पुगियो। त्यो वेलासम्म जोगवनी र विराटनगर छुट्टै देश भएको थाहा नभएको मलाई पसलमा साबुन किन्दा नेपाली रुपैयाँ फिर्ता आएपछि नेपालमा आइपुगेको थाहा भयो। त्यसपछि बस र ट्वाइलेट सफा गरेर कमाएको रु.३ हजारले काठमाडौं आइपुगें।