असार पहिलो साता महाकाली नदीमा आएको बाढी र त्यसले ल्याएको पहिरोले दार्चुलामा तीन जनाको मृत्यु भयो भने ३१७ परिवारका ३ हजार २०० जनालाई विस्थापित बनायो। दिनको बाढी र पहिरोले १३ सरकारी कार्यालय सहित १५० घर बगाएपछि ध्वस्त बनेको दार्चुला पुनर्निर्माण गर्न मात्रै पाँचदेखि दश वर्ष लाग्ने गृह मन्त्रालय अन्तर्गतको योजना तथा विशेष सेवा महाशाखाका प्रमुख लक्ष्मीप्रसाद ढकाल बताउँछन्।
महाकाली किनारको दार्चुलालाई ध्वस्त बनाएको सो दुर्घटनाले त्यत्रै वा त्योभन्दा ठूला बाढी अरू नदीमा आउने हो भने नदी किनारका पोखरा, नारायणगढ, हेटौंडा, बुटवल, बेनी, चिसापानी, बाह्रबिसे, खाडीचौर, दोलालघाट, त्रियुगा, रिडी, मनहरी, पुतलीबजार जस्ता शहर जोखिममा पर्ने स्पष्ट भएको विज्ञहरूको भनाइ छ। (हे. नक्सा)
केही वर्षदेखि मध्य र उच्च पहाडमा मुसलधारे वर्षा बढी हुन थालेकाले नेपालमा त्यत्रै वा त्योभन्दा ठूलो बाढी आउने र त्यही कारण पहिरो जाने सम्भावना बढेको छ। १५ साउनमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कोठा कर्मचारी बस्न समेत नसक्ने गरी डुबानमा पर्नुले पनि देखाउँछ, बढ्दो अतिवृष्टि। मुसलधारे वर्षापछि त्यहाँ जमेको पानी निकाल्न नेपाली सेना, महानगरपालिका र दमकलका कर्मचारीलाई दमकल र वाटर पम्प प्रयोग गर्दा पनि दुई घण्टाभन्दा बढी समय लागेको थियो। जलस्रोतविद् अजय दीक्षित भन्छन्, “सिंहदरबारभित्र आगलागीको समस्या देखे पनि झ्रीले यस्तो भएको पहिलो पटक थाहा पाएँ।”
बढ्यो, मुसलधारे वर्षा
जल तथा मौसम विज्ञान विभागले देशका २८२ ठाउँमा राखेको वर्षा मापन स्टेशनबाट आएका तथ्याङ्क विश्लेषण गर्ने गरेका विभागका महानिर्देशक डा. ऋषिराम शर्मा पछिल्लो समय सिमसिमे झरी कम भएर मुसलधारे वर्षा बढी हुन थालेको बताउँछन्। अधिकांश स्टेशनमा एकै दिनमा १०० मिलिमिटर भन्दा बढी पानी पर्न थालेको बताउँदै उनी त्यसले अन्नबाली उत्पादनमा नकारात्मक असर पार्दै विपत् बढाएको ठहर सुनाउँछन्।
वरिष्ठ मौसमविद् सरजुकुमार वैद्यका अनुसार प्रतिघण्टा १०० मिलिमिटर भन्दा बढी पानी पर्नुलाई क्लाउड बर्स्ट भनिन्छ। केही मिनेटमा २० मिलिमिटर भन्दा बढी पानी पर्ने क्लाउड बर्स्ट धेरै पानी सहितको बादलमा तातो हावाको झोक्का वा केहीले अवरोध पुर्याउँदा हुने गर्छ।
बाढी भविष्यवाणी केन्द्रका प्रमुख राजेन्द्र शर्मा यो वर्षको मनसुनमा कर्णालीको चिसापानी, राप्तीको कुसुम र नारायणीको देवघाटमा पानीको बहाव पटक पटक खतरा सूचकभन्दा माथि पुगेको बताउँछन्। त्यसो हुनुमा माथिल्लो जलाधार क्षेत्रमा पानी बढी पर्नु कारण रहेको र त्यसले किनारका बस्तीहरूमा खतरा बढाएको उनको निष्कर्ष छ।
सधैंभन्दा चार दिन ढिलो अर्थात् १४ जूनमा शुरू भएको यो मनसुनमा ओखलढुंगा बाहेक सबै जिल्लामा निकै बढी पानी परेको छ। जबकि, यो पटक जल तथा मौसम विज्ञान विभागले सामान्यभन्दा १५ प्रतिशत बढी मात्रै पानी पर्ने अनुमान गरेको थियो। मनसुन असोज पहिलो सातासम्म रहन्छ।
प्रायः सधैं पूर्वबाट मनसुनी वर्षा शुरू हुने गरेकोमा यो पटक पश्चिममा पहिला पानी परेको बताउने जलवायु विश्लेषक ङमिन्द्र दाहाल जलवायु परिवर्तनको असरले बंगालको खाडी हुँदै आउनुपर्ने बादल यसपटक अरब सागरबाट पश्चिम नेपाल प्रवेश गरेको बताउँछन्। पृथ्वीको तापक्रम बढेकाले समुद्री क्षेत्रबाट उच्च वेगमा बादल आउन थालेको र हिमाली क्षेत्रको न्यून वहावको हावासँग ठोक्किएपछि बढी वर्षा हुनथालेको दाहालको विश्लेषण छ।
उनका अनुसार सामान्यतः १००–२०० वर्षको अन्तरमा आउने प्राकृतिक प्रकोप जलवायु परिवर्तनले गर्दा १०–१२ वर्षमै आउन थालेको छ। अहिलेसम्म पृथ्वीको तापक्रम ०.८ डिग्री बढ्दा यत्रो ठूलो परिवर्तन देखिनुले आगामी ८५ वर्षमा तापक्रम ४ डिग्री बढ्ने हुँदा अतिवृष्टि झ्न् ठूलो मात्रामा बढ्ने र अनुमान समेत नगरिएका नदी किनारका बस्ती बगाउन सक्ने देखिन्छ।
जमीन नै कमजोर
नेपालका शहर र गाउँ बाढी र पहिरोको उच्च जोखिममा पर्नुको अर्को कारण हो, यहाँको जमीन। यहाँको भौगोलिक अवस्था र बाढी पहिरोबारे लामो समयदेखि अध्ययन अनुसन्धान गरेका त्रिभुवन विश्वविद्यालय भूगोल विभागका प्रा.डा. नरेन्द्रराज खनाल नेपालका पहाडहरू संसारकै कान्छा भएकाले बाढी पहिरोले सजिलै बगाउने बताउँछन्। नेपाल लगायत दक्षिण एशियाका पहाडहरू अरू ठाउँका भन्दा निकै कान्छा अर्थात् ५० लाख वर्षका मात्रै भएकोले विगतका विपत् र मौसममा आएको परिवर्तन हेर्दा देशभरिका सबै नगरपालिका र नदी किनारका शहर जोखिममा रहेको उनको भनाइ छ। (हे. लेख)
पहाड पहिरो र तराई बाढीका कारण जोखिममा छन्। गेग्रान, बलौटे माटो तथा चोकर मिलेर बनेको चुरेमा साना खोलाहरूमा बाढी आउँदा पहिरो बग्ने र खोलामा त्यो मिसिंदा तल झ्न् ठूलो बाढी गएर क्षति पुर्याउने भूगोलविद्हरूको भनाइ छ। पहाडमा पनि पहिरोले नदीहरू थुन्ने, माटो र ढुंगाको साथ पाएपछि साना नदीले पनि ठूला नदी थुनिदिने र त्यसरी केही समयका लागि बन्ने ताल फुट्दा ठूलो बाढी आएर तल्लो भागमा रहेका बस्ती बगाउने गरेको भारतको नैनीतालबाट प्रकाशित पहार म्यागजिनका सम्पादक शेखर पाठक बताउँछन्। उनका अनुसार, असार पहिलो साता भारतको उत्तराखण्डमा त्यही कारण विनाशक बाढी आएको हो।
नदीको प्रकृति
नेपालको वार्षिक जल प्रवाह २ अर्ब २५ करोड घनमिटर रहेकोमा त्यसको ८० प्रतिशत पानी असारदेखि असोजको बीचमा प्रवाह हुन्छ। जलाधार क्षेत्रको अध्ययन अनुसन्धानमा तीन दशक विताएका मधुकर उपाध्या चुरे पहाडबाट निस्कने खोलाहरूले धार परिवर्तन गरिरहने भएकाले नियन्त्रण गर्न कठिन हुने बताउँछन्। २२ हजार ७९७ वर्ग किलोमिटर जलाधार क्षेत्र रहेको चुरेका खोला बढी चञ्चले रहेका र झ्री परेको वेला बग्ने ग्रेगान र बालुवाले झ्नै उत्ताउलो बनाइदिंदा त्योभन्दा तल्लो क्षेत्रमा रहेका बस्तीलाई क्षति पुर्याउने गरेको उनको भनाइ छ।
महाभारत शृङ्खलाबाट शुरू हुने कन्काई, वाग्मती, मेची, बबई, राप्ती र पश्चिम राप्ती जस्ता पहाडी नदीको जलाधार १६ हजार २५१ वर्गकिलोमिटर छ। यी नदी किनारमा रहेका बुटवल, हेटौंडा, सिन्धुली, काठमाडौं जस्ता शहर पनि जोखिममा छन्।
यो वर्ष भने हिमाली क्षेत्रबाट उत्पत्ति भएका कोशी, कर्णाली, नारायणी र महाकाली नदीले बढी क्षति पुर्याएका छन्। वषौं बगेर बाटो र किनारा स्थायी बनाइसकेका १ लाख ८ हजार १३३ वर्गकिलोमिटर जलाधार क्षेत्र भएका यी नदीले बढी क्षति पुर्याउनुमा पहाडी क्षेत्रबाट मिसिने तिनीहरूका सहायक नदी कारण रहेको विज्ञहरूको भनाइ छ।
हिमतालहरूको ताल
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को अध्ययन अनुसार बाँध भत्किनु तथा हिउँका भित्री ढिक्का र हिमनदीले बगाएर ल्याएको ढुङ्गा–माटोका थुप्रोले बनाएका हिमताल हिउँ पग्लेर फुट्नुले पनि बाढी आउने गरेको छ। मौसम परिवर्तनले हिमनदीको अग्रभाग तीव्र रूपमा पग्लनु र हिमतालहरू प्राकृतिक बाँधको नियन्त्रणमा नरही चाँडो–चाँडो विस्फोट हुनुले पनि बाढी आउने गरेको सो अध्ययनको निष्कर्ष छ।
इसिमोडको अध्ययनले नेपालका २ हजार ३१५ हिमतालमध्ये २१ वटा विस्फोटको जोखिममा रहेकामध्ये ६ वटा हिमताल उच्च जोखिममा रहेको देखाएको छ। च्छो रोल्पा, तल्लो वरुण, इमजा छो, लुमदिङ, पश्चिम चमजाङ र ठुलगी (डोना) उच्च जोखिममा रहेका हिमताल हुन्। मध्यम जोखिममा रहेका तालहरूमा नगमा, हुङगु, टाम पोखरी र कोवुद–०२२९ छन्। यस्तै वरुण, पूर्वी हुङगु–२, गाकल–००२२, कोटम–०१९१, कोटम–०१११, गाकल–०००८, गाकल–०००४, कोवुद–०२३८, कोवुद–०२२०, गवुद–००९ र कौरु– ००१६ कम जोखिमपूर्ण छन्। प्रा.डा. खनालले गरेको अर्कोे अध्ययन अनुसार हिमतालहरू फुटे भने इमजा (दूधकोशी) बाट ७ हजार ७६२, च्छो रोल्पा (तामाकोशी)बाट ५ हजार १८३, थुलगी (मर्स्याङ्दी) बाट ३ हजार ८०८ र लुमुचिमी (भोटेकोशी) बाट १६ हजार ३१३ जना प्रभावित हुनेछन्।
मानिसकै गल्ती
जल उत्पन्न प्रकोप नियन्त्रण विभागका पूर्व महानिर्देशक प्रकाश पौडेलका अनुसार बाढी पहिरो प्राकृतिक कारणले भन्दा मानिसको क्रियाकलापका कारण बढी आउने गर्छ। बम ब्लास्ट गरेर बनाइने सडक, ठूला भवन तथा नहर/कुलाको बेपर्वाह निर्माण, वन जंगल विनाश, अवैज्ञानिक खेतीप्रणाली विपत् आउने कारण भएको पौडेल बताउँछन्।
अमेरिकी सहयोग नियोग (युएसएड)का वरिष्ठ विकास कार्यक्रमविद् सन्तोष ज्ञवालीको विचारमा पनि मानव बस्ती जोखिममा पर्नुको कारण अव्यवस्थित विकास र बसोबास नै हो। त्यसमाथि, बाढी र पहिरो आउने ठाउँ ख्यालै नगरी बसोबास बनाउँदा प्राकृतिक प्रकोपले मानवीय क्षति बढी भएको अर्का एक विज्ञको भनाइ छ। वाग्मती, तिनाउ, नारायणी जस्ता नदीका किनारमा घर बन्नु र काठमाडौंको टुकुचा र धोबीखोला जस्ता नदीलाई मिचेर घर बनाउनुले त्यस्तै देखिन्छ।
जलाधारविद् उपाध्या चाहिं प्रकृतिको नियमित प्रक्रियामा पर्ने बाढी र पहिरो नजिक मानिस बस्न गएकोले मानवीय क्षति बढी भएको बताउँछन्। तटबन्ध वा अन्य कृत्रिम बाँध बनाएर बस्ती बसाल्नुलाई 'फल्स् सेक्युरिटी' बताउँदै उनी त्यही कारण बढी क्षति भएको धारणा राख्छन्।
अबको बाटो
युएसआईडीका वरिष्ठ विकास कार्यक्रमविद् ज्ञवाली मानवीय क्षति कम गर्न जोखिम रहेका ठाउँमा बस्ती नबसाउने सुझाव दिन्छन्। त्यस्ता ठाउँमा बस्ती छ र हटाउन मिल्दैन भने सजगताका अरू उपाय अपनाउनुपर्ने उनको सुझाव छ। (हे. बक्स) जल उत्पन्न प्रकोप नियन्त्रण विभागका महानिर्देशक प्रदीपराज पाण्डे सुरक्षाका पर्याप्त उपाय अपनाउन सक्दा मात्रै नदी छेउछाउका बस्ती सुरक्षित हुने बताउँछन्।
नदीको किनार वा पहिले नदी रहेको ठाउँमा घर बनाउँदा बढी मानवीय क्षति हुने गरेको जलस्रोतविद् अजय दीक्षितको ठम्याइ छ। त्यसैले उनको विचारमा नदीलाई पर्याप्त ठाउँ छाडेर मात्र बस्ती बसाल्नुपर्छ। पहिला बगेको स्थानमा पुनः खोला फर्कन सक्ने भएकाले सकभर त्यस्तो ठाउँमा बस्ती राख्नै नहुने उनको सुझाव छ।
जलाधारविद् उपाध्या स्कूल तहमै बाढी, पहिरोका सबै पक्षबारे पढाउनु जोखिम न्यून बनाउने एउटा उपाय हुनसक्ने ठान्छन्। स्थानीय ज्ञानमा आधारित त्यस्तो पाठ्यक्रम बन्न राजनीतिक प्रतिबद्धता आवश्यक पर्ने उनको धारणा छ।
'दैवी होइन, मानवीय प्रकोप'
कुन शहर जोखिममा छन् भन्नुभन्दा कुन चाहिं जोखिममा छैनन् भनेर हेर्ने वेला भएको छ। अव्यवस्थित विकासले हाम्रा धेरै शहर जोखिमयुक्त बनेका हुन्। यो प्राकृतिकभन्दा पनि मानव सिर्जित विपत्ति हो। प्रायशः बाटाहरू खोला किनारमा र घरहरू माटो पुरेर बनाइन्छ। शहर बस्नुअघि माटोको अध्ययन गर्ने गरिंदैन। 'रिस्क सेन्सेटिभ ल्याण्ड युज प्लानिङ' पनि छैन। घरका लागि खाली जग्गा भए पुग्छ अनि सिमेन्ट र डण्डी प्रयोग गर्नासाथ घर बलियो हुन्छ भन्ने गलत धारणा छ। चुरे उत्खननले धेरै शहर असुरक्षित बन्नेछन्। खतरा रहेको ठाउँमा बस्ती राख्न दिनुहुँदैन। बसिसकेको बस्तीलाई हटाउन सकिंदैन भने पूर्व तयारीका अरू उपाय अपनाउनुपर्दछ। अनुगमन गर्ने निकाय प्रभावकारी बनाउनुपर्दछ। योजनाबद्ध रूपले नयाँ शहर बसाउनुपर्छ।
कति छ क्षति?
२०५९ सालमा ४६ जिल्लालाई प्रभावित पारेको बाढी पहिरोले ४४१ जनाको ज्यान लियो भने ३९ जना बेपत्ता भए। त्यतिवेला पनि काठमाडौं उपत्यकासँग बाहिरको यातायात सम्पर्क विच्छेद भएको थियो। उपत्यका भित्रै मातातीर्थमा गएको पहिरोले १३ जनाको ज्यान लिएको थियो।
कोशीको तटबन्धको स्पर फुटेर २०६५ सालमा आएको बाढीले सुनसरीमा ७० हजार मानिस विस्थापित भएका थिए। भारतबाट आयात हुने बिजुली नआउँदा लोडसेडिङ दैनिक १८ घण्टा पुगेको थियो। पूर्वाञ्चलसँग नेपालको बाँकी भागको सम्पर्क टुटेको थियो।
२०६९ वैशाखमा सेती नदीमा अकस्मात् आएको बाढीले १३ जनाको मृत्यु भयो भने ९ जना बेपत्ता भए। सार्दीखोलाको खारापानीमा १० र माछापुच्छ्रेको सादलमा तीन घर बगाएको थियो। टन्टलापुर घाम लागेकै वेला आएको बाढीले बस्तीलाई एकैछिनमा बगरमा परिणत गरेको थियो। बीस किलोमिटर उत्तरमा रहेको खारापानी बस्ती बगाएपछि त्यहाँका बासिन्दाले पोखरामा खबर गरेकाले थप जनधनको क्षति हुनबाट जोगिएको थियो।
'जंगलले बाढी पहिरोबाट जोगाउँदैन'
हाम्रो आर्थिक, सामाजिक र वातावरणीय पक्षसँग प्रत्यक्ष गाँसिएको बाढी पहिरोको विषयमा गहन अध्ययन र अनुसन्धान नहुँदा बाढी पहिरो नियन्त्रणप्रतिको बुझाइ नै गलत छ। वन–जंगल भएपछि बाढी पहिरोबाट मुक्ति पाउन सकिन्छ भन्नु परम्परागत सोचाइ मात्रै हो। यो सीमित अध्ययन र व्याख्याको आधारमा निकालिएको निष्कर्ष हो। घना–जंगल भएको ठाउँमा ठूलो पहिरो गएका प्रशस्त उदाहरण छन्।
जंगल र बुट्यानले सामान्य वर्षा हुँदा बग्ने सतही पानीको बहावको गति कम गर्न चाहिं मद्दत गर्छ। वनस्पतिले ढाकेको ठाउँमा पानी बग्ने गति कम हुने भएकाले जमीनमुनि पानी सोसिन्छ र बाढी कम गराउन मद्दत गर्छ। तर जमीन पूरा भिजिसकेपछि माटोको पानी सोस्ने क्षमता नगण्य हुन्छ। त्यसमाथि वर्षामा माटोले सोस्न सक्ने क्षमताभन्दा धेरै गुणा बढी पानी पर्छ। त्यस्तो अवस्थामा परेको ठूलो पानी जमीनमाथि बग्न थाल्छ। त्यस्तो वेला जग्गा कमजोर वा भिरालो छ भने जंगलको भारले पहिरो जाने सम्भावना बढाउँछ। उदाहरणका लागि १९ साउन २०५० मा भीषण वर्षा हुँदा कुलेखानीमा जंगल भएकै क्षेत्रमा पहिरो गएको थियो।
वन, जंगल विनाश भएकाले भू–क्षय, बाढी र पहिरो गएको हो भन्ने वन विज्ञहरूको तर्कको आधारमा वि.सं. २०३० को दशकदेखि वन जोगिन थालेको छ। तर बाढी पहिरो नघटेर बढ्दै गएका छन्।
५५ नगर जोखिममा
दार्चुलामा भएको प्राकृतिक प्रकोपको क्षतिको यकिन विवरण अझ्ौ आएको छैन। त्यहाँ धेरै घरहरू अझै पनि बाढीको जोखिममा छन्। दार्चुलामा जस्तो बाढी र पहिरोका घटना र बस्ती तथा जीविकोपार्जनका साधनस्रोतको नोक्सानी विगतमा अरू ठाउँमा पनि भएको देखिन्छ। त्यस्तो घटना अरू ठाउँमा हुने सम्भावना पनि प्रबल छन्। जोखिममा रहेका बस्तीहरूको पहिचान गरी वेलैमा जोखिम व्यवस्थापन गर्न लाग्दा मात्र जोखिमको क्षति न्यून गर्न सकिन्छ।
सन् १९७१–२००९ सम्म नगरपालिका क्षेत्रमा बाढी पहिरोका घटना र त्यसबाट भएका क्षतिहरूको तथ्यांक (केस इनभेटारको डाटाबेस) विश्लेषण गर्दा ५५ वटा नगरपालिका बाढी र पहिरोको प्रकोपबाट प्रभावित रहेको देखिन्छ। पहाडी, भित्री मधेश र भावर क्षेत्रमा रहेका ती नगरपालिका बाढी र पहिरो दुवैको प्रकोपबाट प्रभावित भएका छन्।
पहाड, भित्री मधेश र भावर क्षेत्रमा रहेका नगरपालिकालाई खोलाको बाढीले क्षति पुर्याएको देखिन्छ भने तराईका नगरपालिकालाई खोलाका बाढीको पानी जमेर बढी क्षति पुर्याएको देखिन्छ। पानी जमेर हुने बाढीबाट कृषि उत्पादन र कच्ची घरहरूमा नोक्सानी पुग्दछ भने खोला पसेर वा खोलाको बाढीले किनार काटेर हुने क्षतिले कृषि भूमि, पक्की घर, सडक, पुल–पुलेसालाई नोक्सान पुर्याउँछ।
पहाडी, भित्री मधेश र भावर क्षेत्रका नगरपालिकामध्ये बुटवल, पुतलीबजार, हेटौंडा, काठमाडौं, कमलामाई, पनौती, वालिङ, नारायण, खाँदबारी, पृथ्वीनारायण यो प्रकोपबाट प्रभावित देखिएका छन्।
चुरेको फेदी र तिनाउ नदीको किनारमा रहेको बुटवल बाढी र पहिरोको प्रकोपमा बारम्बार परेको देखिन्छ। १९७० मा आएको बाढीले त्यहाँ ८२ जना बगाएको र २२० घरमा क्षति पुर्याएको थियो भने १९८१ मा ३५ जना र १२५ घर बगायो। १९९८ मा ज्योतिनगरमा आएको पहिरो र बाढीले ९८ घर, २००३ मा ३० घर, २००८ मा ४८ घर र २००९ मा ६० घरलाई क्षति पुर्यायो।
भीषण पानी, पहिरो र अरौदी खोलामा आएको बाढीको कटानबाट सन् १९९८ मा पुतलीबजार नगरपालिकाको प्रगतिनगरमा १४ घर बगाउँदै १८ घर भत्कायो। २००४ मा राप्ती नदीमा आएको बाढीले हेटौंडाका १५२ घर बगायो। २००२ र २००४ मा कमला खोलामा आएको बाढी र १९९८ आएको पहिरोले कमलामाईलाई क्षति पुर्याएको थियो। सन् १९८१, १९९३ र २००३ मा गएको पहिरोले पनौतीमा क्षति भयो भने १९८४, २००१ र २००२ मा गएको पहिरो र बाढीले वालिङमा धनजनको क्षति पुर्यायो। नारायण नगरपालिकामा २००१, २००२ र २००८ मा आएको बाढी पहिरोले पनि ठूलो क्षति पुर्याएको थियो।
खाँदबारीमा १९८५ मा आएको बाढी, २००१, २००२ र २००८ मा गएको पहिरोले धनजनको क्षति गर्यो भने पृथ्वीनारायणमा १९९८, २००१ र २००२ मा गएको पहिरो एवं बाढीले त्यस्तै क्षति गर्यो। गत वर्ष पोखरामा सेती नदीमा आएको बाढीले धनजनको क्षति गर्यो भने धरानलाई पनि बाढी पहिरोले क्षति पुर्याउने गरेको छ। त्रियुगा खोलाबाट त्रियुगा जोखिममा रहेको सन् २००० मा १६ घर र २००४ मा १५ घर बगाउनुले देखाउँछ।
तराईमा रहेका नगरपालिकाहरूमा महाकाली र सुक्खा खोलाबाट महेन्द्रनगर, टीकापुर कर्णालीबाट टीकापुर र मोहना नदीबाट धनगढी पीडित हुने गरेका छन्। बक्राहा र लोहोन्द्राबाट विराटनगर, रातुबाट जलेश्वर, लोखन्तीबाट जनकपुर, वाग्मती र लालबकैयाबाट गौर, खुट्टीखोलाबाट लाहान, रतुवा र मावाबाट दमक र झिम खोलाबाट मलंगवा प्रभावित हुने गरेको देखिन्छ।
पहिरो तथा खोलाको बाढीको जोखिम कम गर्न खोला किनारमा तटबन्ध र जलाधार संरक्षणमा जोड दिनुपर्ने देखिन्छ भने तराईका नगरपालिकाहरूमा बाढीको जोखिम कम गर्न तटबन्ध र पानीको बहाव रोक्न बढी जोड दिनुपर्छ। सरकारी निकाय तथा विकास कार्यमा संलग्न गैरसरकारी संघ–संस्थाहरूले नगरपालिका तथा घनाबस्तीहरूमा बाढी पहिरो जोखिमको स्थितिको समीक्षा गरी त्यसको व्यवस्थापन गर्न विशेष पहल नगरे दार्चुलामा भन्दा बढी क्षति हुने देखिन्छ।