२ भदौ २०७० | 18 August 2013

भाग्ने या भूमिका खेल्ने?

Share:
  
- रघु पन्त
जनताबाट भागेर हैन निर्वाचित भएर मात्र नेकपा–माओवादीले आफ्नो काँधमा रहेको अभिभारा पूरा गर्न सक्छ।

जीवित र क्रियाशील राजनीतिक दलले आफ्नो अस्तित्वको औचित्य व्यवहारद्वारा सिद्ध गर्न सक्नुपर्दछ। कागज र अभिव्यक्तिमा सीमित सिद्धान्त, नीति र राम्रा भनाइ काममा रूपान्तरित नहुँदासम्म कुनै अर्थ हुँदैन। उग्रता र जडता राजनीतिमा देखापर्ने त्यस्ता रोग हुन्, जसले शुद्धताको नाममा राजनीतिक दलको गतिशीलता, परिस्थितिलाई बुझने क्षमता र भूमिका खेल्ने अवसरलाई अवरुद्ध पार्छन्। नेपालको राजनीतिमा मोहन वैद्य 'किरण' ले नेतृत्व गरेको नेकपा–माओवादी त्यही चिन्तनको बन्दी बनेर तात्कालिक राजनीतिक दायित्व पूरा गर्ने भूमिकाबाट आफूलाई वञ्चित तुल्याउँदैछ।

समानतामा आधारित शोषणरहित समाजको स्थापना गर्न जीवनलाई पार्टीमा समर्पित गर्ने आदर्शवान, समर्पित र क्रियाशील कार्यकर्ताको कमी नेपालको कम्युनिष्ट आन्दोलनमा कहिल्यै रहेन। यस्ता समर्पित कार्यकर्ताकै कारण आज नेपालमा वामपन्थी दल राजनीतिको निर्णायक भूमिकामा पुगेका हुन्। समर्पित र क्रियाशील कार्यकर्ताको देशव्यापी संगठन र सञ्जाल भएको एउटा दल नेकपा–माओवादी पनि हो। तर आफ्नो संगठन र केही शक्ति हुँदाहुँदै पनि उसले तत्कालीन राजनीतिमा सार्थक र प्रभावकारी भूमिका त टाढा, सकारात्मक भूमिकासम्म खेल्न सकेको छैन।

आज त्यसै पनि राजनीतिक दलप्रति जनतामा चर्को आलोचना छ। यतिवेला जनताको चाहना राजनीतिक स्थिरता, शान्ति, सद्भाव, एकता र आर्थिक विकास हो। छिटोभन्दा छिटो स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन होस्, संविधानसभाबाट संविधान बनोस् र देश राजनीतिक स्थिरताको बाटोमा लम्कियोस् भन्ने भावना सबैमा छ।

नेकपा–माओवादी भने आम जनताको यो भावना विरुद्ध उभिन पुगेको छ। आफूले भने जस्तो नभए बल प्रयोग गरेर भए पनि संविधानसभा निर्वाचन बिथोल्छु भन्छ, ऊ। दशक लामो हिंसात्मक द्वन्द्वबाट देश थिलथिलो भएकोले जनता थकित छन्, शान्ति, सद्भाव र आपसी विश्वास खलबलिएको छ। जनता यस्तो अवस्थाबाट छिटो मुक्ति चाहन्छन् तर वैद्य नेतृत्वको माओवादी जनविद्रोहको कुरा गर्छ। यसरी, निर्वाचन भाँड्न खोज्ने राजनीतिक खलनायकका रूपमा माओवादीलाई नेपाली जनताको बीचमा चित्रित गरेर आफूलाई लोकतन्त्र र निर्वाचनको घनघोर पक्षधर देखाउने पुष्पकमल दाहाल 'प्रचण्ड' को रणनीतिलाई प्रकारान्तरमा माओवादीकै अदूरदर्शी नीति र उग्र व्यवहारले सहयोग पुर्‍याइरहेको छ।

वास्तवमा नेकपा–माओवादीले राष्ट्रिय राजनीतिमा नपाएर हैन नचाहेर र नजानेर उपयुक्त भूमिका खेल्न नसकेको हो। मित्र शक्ति चिन्न नसक्ने, आफ्नो भूमिका पहिल्याउन नसक्ने, शक्तिको ठीक मूल्यांकन गरेर आफ्ना लागि उपयुक्त भूमिका नखोज्ने र तात्कालिक राजनीतिमा सही नीति र व्यवहार नलिने हो भने माओवादी नेपालको राजनीतिमा एउटा शक्ति बन्न सक्दैन।

नेकपा–माओवादी र त्यसका नेताहरू वैद्य, सीपी गजुरेल, रामबहादुर थापा, देव गुरुङ र नेत्रविक्रम चन्दहरूको अघि अहिले अवसर र चुनौती दुवै छन्। निर्वाचनमा भाग नलिने, निर्वाचित हुन आँट नगर्ने, निर्वाचन मार्फत जनताले दिएको दायित्व लिन अघि नसर्ने तर एकोहोरो र अव्यावहारिक रूपमा क्रान्ति, बहिष्कार र विद्रोहको कुरा मात्रै गरिरहने सजिलो तर सारमा पलायनवादी बाटोमा हिंडिरहने या लोकतान्त्रिक बाटोमा हिंड्दै व्यवहारबाटै क्रान्तिकारी, देशभक्त र जनताप्रति उत्तरदायी सावित गर्ने?

आज नेपालको आन्तरिक राजनीतिमा राष्ट्रवादी शक्ति कमजोर हुन थालेका छन् र हाम्रा आन्तरिक मामलामा विदेशी शक्तिको अवाञ्छित रुचि र हस्तक्षेप बढ्दो छ। यस्तो हस्तक्षेपलाई रोक्ने हो भने नेपालका देशभक्त राजनीतिक दल र शक्ति एकैठाउँ उभिन जरूरी छ। देशभक्त शक्ति लोकतान्त्रिक भएनन् भने तिनकै गतिविधि र आन्दोलनलाई कारण देखाएर विदेशी शक्तिले हस्तक्षेप बढाउँछन् भन्ने सबैभन्दा ताजा प्रमाण माओवादी 'जनयुद्ध'मार्फत भएका विदेशी खेल र हस्तक्षेपले नै दिन्छन्।

'जनयुद्ध' कसरी विदेशी हस्तक्षेप निम्त्याउने आधार बन्न पुग्यो भनेर प्रत्यक्ष देखे–भोगेका वैद्य र उहाँका सहकर्मीले देशलाई फेरि द्वन्द्व र विदेशी हस्तक्षेपको बाटोमा जान नदिने हो भने 'जनयुद्धको जगमा आधारित जनविद्रोह' हैन, शान्तिपूर्ण ढंगले लोकशक्तिको मत, संगठन र आधारलाई स्वीकार गर्नुपर्दछ। आजको युगमा लोकशक्तिको शान्तिपूर्ण विद्रोहबाट भएका र भइरहेका ठूलाठूला परिवर्तन र क्रान्तिलाई आत्मसात् गर्न सक्नुपर्दछ। आजको राजनीति जनताको बीचमा रहेर जनताको लागि गर्नुपर्दछ, जनताबाट भागेर जंगलको बीचमा पुगेर हैन। त्यसैले संविधानसभा निर्वाचनबाट भाग्ने हैन त्यसमा सहभागी भएर आफ्नो भूमिका राष्ट्रिय राजनीतिमा स्थापित गर्ने बाटो नेकपा–माओवादीले लिनुपर्दछ।

comments powered by Disqus

रमझम