‘सुकुलगुण्डे कार्पेट्ब्यागर’

Share:
  
- कनक दीक्षित
विधिको शासनको लागि लड्दै गर्दा गंगामाया अर्थतन्त्रको लागि पनि भिडिरहेको मान्नुपर्छ।

बिक्रम राई
छोराको हत्यामा न्यायको खोजीमा रहेकी गंगामाया अधिकारी र देशको आर्थिक उन्नतिबीच के साइनो छ भनेर सोध्नुहोला । सम्बन्ध टड्कारो छ, मात्र अलिकति सतहमुनि खोस्रेर हेर्नुपर्दछ ।

जब २४ जेठ २०६१ मा माओवादीले टाँडी, चितवनको बकुलर चोकमा १६ वर्षीय कृष्णप्रसाद अधिकारीलाई यातना दिएपश्चात् निर्मम ढंगले मारे, गोरखा फुजेल गाउँमा रहेका मातापिता गंगामाया र नन्दप्रसाद मर्माहत भए । उनीहरू न्यायको खोजीमा हिंडे, भौंतारिए ।

तर तलदेखि माथिसम्म सुनुवाइ भएन । निर्मम राज्यलगायत नागरिक समाजले मुन्टो बटारे । नन्दप्रसादले अनशनको दौरानमा देह त्यागे, वीर अस्पतालको क्याबिन नं. ७ मा रहेकी गंगामायाको न्यायिक लडाइँ जारी छ ।

द्वन्द्वकाल सकियो, तर त्यस समयका ज्यादतीकर्ताको बिगबिगी छ । यति कुरा चेतनशील नागरिकले बुझेकै छन् । अधिकांश ज्यादतीकर्ता शहरबजारमा फुक्काफाल हिंडेकै छन् । अझ कति त टिकट हत्याएर निर्वाचन लड्दैछन् । बल्ल एक जना बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । ‘भेटिङ’ शब्द नै कसैले चलाउँदैनन् आजकल, जबकि त्यस्ता व्यक्तिलाई निर्वाचनमा जान दिनु पूरै समाजको लागि हानिकारक छ ।

आजभोलि आवाज नउठाए पनि धेरैले बुझेकै कुरा भयो– पुष्पकमल दाहाल, बाबुराम भट्टराईलगायत नेपाललाई हिंसाको भुंग्रोमा ठेलेकोमा जवाफदेही छन् । ध्यान नदिइएको कुरा चाहिं के भने द्वन्द्वपीडितले न्याय नपाउनु र नेपालको आर्थिक अग्रगमन तथा समृद्धिको सपनाबीच रहेको ठाडो सम्बन्ध ।

यता पुराना कुरा बिर्सिदेऊ, निको हुन लागेको घाउ नकोट्याऊ भन्दै आदर्श छाँट्ने महानुभावहरूलाई सोध्नुपर्ने चार कुरा हुन्– यसमा पीडितको राय लिनुभयो ?, सेना र माओवादीबीच रहेका पीडकहरूलाई छुट्कारा दिन किन यसरी तम्सेको ?, ज्यादतीमा जवाफदेही नहुने समाजमा फेरि ज्यादती हुने सम्भावना रहँदैन र ?, ज्यादतीमा जवाफदेही नहुने समाजमा आर्थिक प्रगति सम्भव छ ? माओवादीको प्रभाव, पैसा र ‘पपुलिजम्’ (लोकरिझ्याइँ) बाट प्रभावित विचार निर्माताहरू यी प्रश्न छल्दै हिंडिरहेछन् ।

माथिको अन्तिम प्रश्नको जवाफमा भन्नुपर्ने कुरा यो हो– कानूनीराज र विधिको शासन एउटा क्षेत्रमा लागू नहुने अर्कोमा हुने भन्ने हुँदैन । मानवअधिकारको सन्दर्भमा कानूनको अपहेलना, न्यायालयको निष्क्रियता र राज्य पदाधिकारीहरूको मनोमानी हुन्छ भने त्यसैगरी राजकाज, व्यापार, सामाजिक सेवा अन्य क्षेत्रमा अवश्यंभावी हुन्छ नै । गंगामायाले मानवअधिकारको फाँटमा नागरिकको न्यायको अधिकार नपाउँदै गर्दा कुनै अमूक लगानीकर्ताको पनि आफ्नो पूँजी, लगानी तथा मुनाफा गर्ने सम्भावना सुनिश्चित र सुरक्षित रहँदैन ।

यतिवेला मुलुकलाई आवश्यक परेको वैदेशिक अनुदान होइन, वैदेशिक लगानी हो । नयाँ संविधान कार्यान्वयनको क्रममा पहिलो प्राथमिकता नै लथालिङ्ग बनेको हाम्रो राज्यव्यवस्थालाई विधिको शासनद्वारा सुचारु गर्ने हो । व्यापार, व्यवसाय तथा लगानीमा लागेकाहरूलाई पारदर्शी वातावरणमा स्वच्छ र प्रतिस्पर्धी व्यवसाय गर्न दिने हो भने अर्थतन्त्र आकाशिने छ, जनतालाई राहत मिल्नेछ ।

होइन, विधिको नभई बेथितिले शासन गर्ने हो भने विदेशी होउन् वा स्वदेशी, असल व्यवसायी अगाडि सर्ने छैनन् । मौकाको फाइदा उठाउने, कमसल उत्पादन गर्ने, मिलेमतो र ठगी व्यवसाय गर्नेहरूको खेलमैदान हुनेछ नेपाल । एक दशकको द्वन्द्व र एक दशककै संक्रमणकालमा समाजको यात्रा त्यतैतिर थियो, संविधान कार्यान्वयनको समय दिशा बदल्ने मौका हो ।

नेपालीमा ‘सुकुलगुण्डा’ भनिन्छ, बाहिर सुकिला, भित्र टपर्टु®याँलाई । त्यस्ता ‘भलाद्मी’ को विशेषता हुन्छ– छलछाम र ठगी । अनौठो कुरा, त्यस्तो चरित्रका व्यवसायीलाई अंग्रेजीमा उस्तै–उस्तै शब्द प्रयोग गरेको पाइन्छ– ‘कार्पेट्ब्यागर’ । दुई शब्दको उत्पत्ति वेग्लै छ, अर्थ एउटै ।

नेपाललाई सुकुलगुण्डे कार्पेट्ब्यागरहरूबाट बचाउनु पर्‍यो ताकि सही लगानी र स्वस्थ व्यावसायिक प्रतिस्पर्धीको आम्दानी र मुनाफाबाट व्यवसायी र आम जनता दुवैलाई फाइदा पुगोस् ।

मानवअधिकारमा कानूनीराज नरहेको समाजमा ‘कर्पोरेट’ क्षेत्रले पनि कानूनको सही कार्यान्वयनको अपेक्षा गर्न सक्दैन । अनि दुलो दुलोबाट सुकुलगुण्डे कार्पेट्ब्यागर बाहिर आउँछन् र अर्थतन्त्र कब्जा गर्छन् । यसैकारण मानवअधिकारको क्षेत्र र आर्थिक समृद्धिबीच सीधा सम्बन्ध छ ।

तसर्थ गंगामाया अधिकारीको मानवअधिकारकर्मीहरूले मात्र नभई, हर क्षेत्रका नागरिकले ख्याल गर्नुपर्ने हो । आफ्नो छोराको हत्यामा न्याय खोज्ने दौरानमा उनले बाँकी हामी सबैलाई चाहिने विधि र थिति बसाउन लडिरहेको बुझ्नुपर्छ । यसै कारण वीर अस्पताल क्याबिन नं. ७ मा मानवअधिकारकर्मी मात्र नभई साहित्यकार, वकील, व्यवसायी, राजनीतिज्ञ, संस्कृतिकर्मी, शिक्षक, इन्जिनियर, आर्किटेक्ट, ट्रेड युनियनकर्मी सबै पुग्नुपर्ने हो । किनकि, एकापट्टि जनता (र, अर्थतन्त्र) को लागि लड्ने गंगामाया र अर्कोपट्टि छन् सुकुलगुण्डे कार्पेट्ब्यागर !

comments powered by Disqus

रमझम