३-९ मंसिर २०७४ | 19-25 November 2017

हरियाली घर

Share:
  
ललितपुर महानगरपालिका–१४ तिखेदेवलस्थित मञ्जुलकुमार याक्थुम्बाको घर ।

गोपेन राई
समाजमा मध्यमवर्ग बढेसँगै हिजोका गाउँ नगर बनेका छन्, शहरमा बसाइँसराइ पनि बढेको छ । यो क्रममा खुला ठाउँ र हरियाली मासिंदो छ । गिट्टी, बालुवा, रड, सिमेन्टका कंक्रिट भवनले जमीन ढाकेका छन् ।

जनघनत्व बढेसँगै जसरी पनि घर ठड्याउनु मानिसको बाध्यता बनेको छ । थोरै जग्गामा पनि घर बनाउनुपर्ने भएकाले कम्पाउण्डको क्षेत्रफल साँघुरिंदो छ । यसले गाउँमा जस्तो घर वरपर बगैंचा, खुला ठाउँ तथा हरियाली भेट्न मुश्किल छ । फोर सिजन गार्डेन डिजाइन एण्ड मेन्टिनेन्सका सञ्चालक राजेन्द्र बिष्ट पछिल्लो समय खुला ठाउँ कम हुनेले पनि गमला तथा पुनः प्रयोग गर्न मिल्ने बोरा, बास्केटहरूमा फूल तथा बोटबिरुवा लगाउन थालेको बताउँछन् । “खुला ठाउँ थोरै भए पनि ल्याण्डस्केपसँग मिल्ने बोटबिरुवा लगाउनुपर्छ”, उनी भन्छन् ।

घरमा सधैं हरियो भइरहने, फूल फुल्ने, फूल नफुल्ने, वर्षको एक पटक मात्र फूल फुल्ने, पात झर्नेलगायतका बिरुवा लगाउन सकिन्छ । घाम पर्ने, नपर्ने, ओसिलो ठाउँ अनुसार पनि बिरुवा रोज्न मिल्छ ।

बोटबिरुवाले ओगट्ने क्षेत्र र उँचाइमा पनि ध्यान दिनुपर्छ । जस्तो कि, मझौला अग्लाइमा फ्लावरिङ पिच (आरु), सधैं हरियाली बनाउन धूपी प्रजातिका बिरुवा लगाउन सकिन्छ । यसबाहेक धेरै वर्ष बाँच्ने, अग्लो हुने, साना फूल फुल्ने तथा घाँसे प्रजातिका बिरुवा पनि लगाउन सकिन्छ ।

अनेक फाइदा

घर वरिपरिका बोटबिरुवाले गर्मीयाममा घरलाई छायाँ दिएर शीतल बनाउँछ । ऊर्जाको खपत समेत घटाउँछ । त्योभन्दा बढी घर वरिपरिका बोटबिरुवाले प्रदूषण ‘फिल्टर’ गर्छ । बोटबिरुवाले कार्बनडाईअक्साइड सोस्छन् र अक्सिजन दिन्छन् । “केही अध्ययनहरूमा त २५ प्रतिशतसम्म प्रदूषण रुख, बिरुवाले घटाएको पाइएको छ”, वातावरणविद् भूषण तुलाधर भन्छन् ।

विज्ञहरू, घरको दक्षिणी भागमा पात झर्ने खालका बिरुवा लगाउनु उपयुक्त हुने बताउँछन् । यसले गर्मीमा घरमा छायाँ पर्नुका साथै न्यानो समेत प्रदान गर्दछ । घर वरिपरि हरियाली बनाउँदा स्वास्थ्यमा पनि फाइदा पुग्छ । हरियाली अवलोकनले आँखालाई शीतलता दिन्छ । उच्च रक्तचाप र तनाव घटाउँछ । वातावरण तथा वन विशेषज्ञ प्रा. अमूल्य तुलाधर वातावरणीय दृष्टिकोणले मात्र नभई ज्ञानका हिसाबले पनि घरमा बोटबिरुवा रोप्नु आवश्यक हुने बताउँछन् । “रुखबिरुवा भएका ठाउँमा चराचुरुङ्गी पनि बास बस्न आउँछन्, यसले बालबालिकालाई प्रकृति र पर्यावरणबारे बुझाउन सहज हुन्छ”, उनी भन्छन् ।

सविता श्रेष्ठ

comments powered by Disqus

रमझम