२ भदौ २०७० | 18 August 2013

केराले बढायो आम्दानी

Share:
  
- बच्चु विक, धनगढी
धान र अरू अन्न बालीभन्दा धेरै गुणा आम्दानी दिने केराखेतीमा कैलाली र कञ्चनपुरका किसान आकर्षित भएका छन्।

तस्वीरहरुः बच्चु विक
केरा स्याहार्दै दामोदर पन्त।
कञ्चनपुर भीमदत्त नगरपालिका–१० तिल्केनीकी मनुदेवी साउद (६१) ले तीन वर्षअघि तीन बिघा खेत र बारीमा केरा रोपेदेखि नै पहिले जस्तो हिलोमा पस्नु परेको छैन। उनका भतिजा पुरनसिंह (४२) ले पनि त्यही वेलादेखि आफ्नो दुई र भाडामा लिएको ६ बिघा खेतमा केरा लगाएका छन्। विलियम हाइब्रिड जातको केराले राम्रो आम्दानी दिन थालेपछि उत्साहित बनेका पुरनसिंह भन्छन्, “यो वर्ष थप पाँच बिघा भाडामा लिएर केरा लगाउँदैछु।” २० हर्सपावरको ह्यारोले खेत जोतेर केरा रोप्ने र ७ हर्सपावरको ह्यारोले गोड्ने भएकाले केराखेतीमा उनीहरूलाई मजदूर पनि आवश्यक पर्दैन।

पकेट क्षेत्रको पहल

धान र अरू अन्न बालीभन्दा दशौं गुणा आम्दानी दिन थालेपछि तिल्केनी गाउँका प्रायः सबैले केरा रोपेका छन्। खेती गर्न र बजारमा पुर्‍याउन सजिलो होस् भनेर बनाएको हरियाली कृषक बहुमुखी सहकारी संस्थामा १२३ परिवार आवद्ध छन्। गाउँको करीब ४० बिघामा केराखेती भइरहेको बताउँदै सहकारीका अध्यक्ष आनसिंह साउद भन्छन्, “केराबाट मनग्ये आम्दानी हुन थालेपछि धान–गहुँ लगाउनै छोडिसक्यौं।”

किसानहरूको केराखेतीमा उत्साह देखेपछि कैलाली–कञ्चनपुरलाई 'केराको पकेट' क्षेत्र बनाउन कृषि विकास कार्यालय, इलम हेल्भेटास, उद्योग वाणिज्य संघ र स्थानीय वित्तीय संस्थाहरूले पहल थालेका छन्। जिल्ला कृषि कार्यालय कञ्चनपुरले कैलाली–कञ्चनपुरमा आ.व. २०६९/७० मा ११०७ बिघामा गरिएको केराखेतीबाट ३३ हजार ११५ टन केरा उत्पादन हुने अनुमान गरेको छ। गत आर्थिक वर्षमा ७६१ बिघामा गरिएको केराखेतीले २२ हजार ८१५ टन उत्पादन दिएको थियो। गत वर्ष रु.४१ करोड ३९ लाख ५३ हजारको केरा बिक्री गरेका यहाँका किसानले यो वर्ष रु.६० करोड २१ लाख ६३ हजार भन्दा बढीको केरा बेच्ने उसको अनुमान छ। कैलाली–कञ्चनपुरमा ५०० परिवारले व्यावसायिक केराखेती गरेको उसको तथ्याङ्क छ।

कैलाली–कञ्चनपुर विस्तारै केरामा आत्मनिर्भर बन्न थालेको कैलाली जिल्ला कृषि विकास कार्यालयका वागबानी विकास अधिकृत ताराप्रसाद भण्डारी बताउँछन्। कैलालीका किसान देशु चौधरी त्यहाँको केरा पूर्वका नेपालगञ्ज र वुटबलसम्म पुग्ने गरेको बताउँछन्।

व्यावसायिक बन्न थालेको यहाँको केराखेतीले वित्तीय संस्थाहरूलाई पनि आकर्षित गर्न थालेको छ। गाउँको कृषि समूहबाट रु.५ हजार ऋण लिएर केराखेती थालेका कञ्चनपुर रामपुरविलासीपुर–७ का करमसिंह राना (३४) ठूल्ठूला सहकारी संस्था र ब्याङ्कले ऋण दिन थालेकाले केराखेती विस्तार गर्न पहिले जस्तो गाह्रो नरहेको बताउँछन्।

इलम हेल्भेटास नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग सहमति गरेर मेघा ब्याङ्कले कैलाली–कञ्चनपुरका केरा किसानलाई धितो नलिई ऋण दिन थालेको छ। यो वर्ष यहाँका १३ जना किसानले सो ब्याङ्कबाट विना धितो रु.४ लाख ९० हजार ऋण लिए। हेल्भेटासका उद्यम विकास अधिकृत टेकबहादुर सिंह किसानलाई विना धितो ऋण दिलाउन अरू ब्याङ्क र सहकारी संस्थाहरूसँग पनि छलफल भइरहेको बताउँछन्।

केराका परिकार।

आधुनिकबाट फाइदा

स्थानीय 'मुसे' जातको केराखेती गर्दै आएका त्यहाँका किसानहरू बसराई ड्वार्फ, रोबस्टा र विलियम हाइब्रिड जस्ता उन्नत जात लगाउन थालेका छन्। मुसे एउटा घरीमा ५० देखि १००, हरिछाल १६० सम्म, मालभोग १०० देखि १२० कोसासम्म फल्थ्यो भने बसराई ड्वार्फ १०० देखि १२५, रोबस्टा ४०० देखि ५०० र विलियम हाइब्रिड १८० देखि २५० कोसासम्म फल्छ। रोबस्टामा धेरै कोसा फले पनि साना हुने भएकाले ठूला र पोटिला कोसा हुने विलियम हाइब्रिड किसानको रोजाइमा परेको कृषि कार्यालय कञ्चनपुरका वागबानी विकास अधिकृत विश्राम चन्द बताउँछन्।

विलियम हाइब्रिडको टक्करमा भारतीय किसानले जी–९ लगाउन थालेपछि कञ्चनपुरका किसानले अर्को आधुनिक जातको जी–९ लगाउन थालेका छन्। यो जातको केरा रोपेका कञ्चनपुरको रामपुरविलासीपुरका करमसिंह रानाका अनुसार, यसको एउटा घरीमा २५० देखि ३०० कोसा फल्छ।

बच्चु विक, धनगढी

comments powered by Disqus

रमझम