नेपाली विद्यार्थी हालसम्मकै सर्वाधिक

Share:
  
- राजेश कोइराला
उच्च–शिक्षाका लागि अमेरिका जाने विद्यार्थीको सूचीमा नेपाली विश्वकै १३औं स्थानमा छन्।

सुशील तुलाधर
आयोवा राज्यस्थित हिकोरी हिल्स पार्कको एक जमघटमा युनिभर्सिटी अफ नर्दनआयोवाका नेपाली विद्यार्थी ।
अमेरिकाको इन्ष्टिच्यूट अफ इन्टरनेशनल एजुकेसन (आईआईई) द्वारा प्रकाशित ‘ओपन डुअर्स’ प्रतिवेदनले शैक्षिक सत्र २०१६/०१७ मा ११ हजार ६०७ नेपाली विद्यार्थी अमेरिकी कलेज तथा विश्वविद्यालयमा भर्ना भएको जनाएको छ । यो संख्या अघिल्लो शैक्षिक वर्षको भन्दा २०.१ प्रतिशतले बढी मात्र होइन, अहिलेसम्मकै सर्वाधिक हो । यसअघि सन् २००८/००९ मा ११ हजार ५८१ नेपाली अमेरिका आएका थिए ।

१३ नोभेम्बर, २०१७ मा सार्वजनिक प्रतिवेदनका अनुसार, अमेरिका भित्रिने विद्यार्थीको स्रोत राष्ट्रमा नेपाल विश्वको १३औं स्थानमा उक्लिएको छ । आईआईईले अमेरिकी शिक्षा मन्त्रालय (सेक्रेटरी अफ एजुकेशन) को सहयोगमा वर्षेनि यो प्रतिवेदन प्रकाशित गर्दै आएको छ । त्यसो त शैक्षिक सत्र सन् २०१६/०१७ अमेरिकामै सबैभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना भएको वर्ष हुन पुगेको छ । यस वर्ष यहाँ १० लाख ७८ हजार ८२२ नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी पढिरहेका छन् । अघिल्लो शैक्षिक सत्र सन् २०१५/०१६ मा कुल १० लाख ४३ हजार ८३९ जना विद्यार्थी भर्ना भएका थिए ।

अमेरिकामा विदेशी विद्यार्थीको आगमन सन् १९९० को दशकदेखि नाटकीय रूपमा बढ्न थालेको हो । शैक्षिक सत्र २००८÷००९ मा ११ हजार ५८१ पुगेको विद्यार्थी संख्या २०१३/०१४ मा घटेको थियो । तर, त्यसपछि फेरि बढ्यो ।

अमेरिकी कलेजमा धेरै नेपाली पूर्वस्नातक (अन्डरग्य्राजुएट) र स्नातक (ग्य्राजुएट) तहमा अध्ययनरत छन् । तथ्याङ्कमा हेर्ने हो भने अन्डरग्य्राजुएटमा ५३.९, ग्य्राजुएटमा ३४.४, अन्य १.६ र वैकल्पिक व्यावसायिक तालिम (अप्सनल प्राक्टिकल ट्रेनिङ्स) मा १०.१ प्रतिशत छन् । पछिल्लो वृद्धिमा अन्डरग्य्राजुएट तहका विद्यार्थीले बढी योगदान दिएका छन् ।

प्रतिवेदनका अनुसार, अमेरिकी कलेज तथा विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले गत वर्ष मात्र अमेरिकी अर्थतन्त्रमा ३६ करोड ९० लाख डलर बराबरको योगदान गरेको देखिन्छ ।

पहिलो चीन

अमेरिकामा शैक्षिक सत्र २०१६/०१७ मा सबभन्दा धेरै विद्यार्थी क्रमशः चीन, भारत र दक्षिण कोरियाबाट आएका छन् । त्यसपछिको साउदी अरेबिया, क्यानडा, भियतनाम, ताइवान, जापान, मेक्सिको, ब्राजिल, इरान, नाइजेरियापछि नेपाल छ ।

क्यालिफोर्निया, न्यूयोर्क, टेक्सस, मासाच्युसेट्स, इलिनोय, पेन्सलभेनिया, फ्लोरिडा, ओहायो, मिसिगन र इन्डियाना राज्यले धेरै विदेशी विद्यार्थी भर्ना गरेका छन् । तर शैक्षिक संस्थाको सूचीमा न्यूयोर्क युनिभर्सिटी पहिलो स्थानमा छ । त्यसपछि युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्निया, कोलम्बिया युनिभर्सिटी (न्यूयोर्क), नर्थइस्टन युनिभर्सिटी (बोस्टन), एरिजोना स्टेट युनिभर्सिटी (टेम्पे), युनिभर्सिटी अफ इलिनोय (अर्बाना–स्याम्पेन), युनिभर्सिटी अफ क्यालिफोर्निया (लस एन्जलस) आदि छन् । पछिल्ला वर्षहरूमा टेक्सस, न्यूयोर्क, लुजियाना, क्यालिफोर्निया, मिनेसोटा आदिलाई नेपाली विद्यार्थीको गन्तव्यका रूपमा लिइँदै आएको छ ।

हुनत नेपाली विद्यार्थी सानोतिनो संख्यामा सबै राज्यमा छन् । तर; छात्रवृत्ति, कामको सुविधा, सस्तो बसाइको आधारमा कलेज छनोट गरिन्छ । “टेक्ससका कलेज तथा विश्वविद्यालयहरूले विद्यार्थीलाई काम पाउने जस्ता विभिन्न समायोजनका बाटा देखाइदिन्छन् । दैनिक खर्च पनि सस्तो छ । त्यसैले पनि यो राज्यमा विद्यार्थी बढी छन्”, डेलावर स्टेट युनिभर्सिटीका सहायक प्राध्यापक चेतनाथ गौतम बताउँछन् । गौतम अध्यापनरत युनिभर्सिटीमा भने नेपाली विद्यार्थी छैनन् ।

“राज्यकै बासिन्दा विद्यार्थीले तिर्नुपर्ने शुल्कको आकर्षणले मिनेसोटा जस्ता राज्यमा विद्यार्थी बढी छन्”, हवाई राज्यस्थित युनिभर्सिटी अफ हवाईका भौतिक शास्त्रका सहायक प्राध्यापक बुद्धि राई भन्छन् । कलेज तथा विश्वविद्यालयहरूमा शुल्क तिर्नै पर्नेलाई अन्तर्राष्ट्रिय, अरू राज्यका विद्यार्थी र राज्यकै बासिन्दा विद्यार्थीलाई विभाजन गरिन्छ । राई अध्यापनरत युनिभर्सिटीका दश एकाइमध्ये मनाओमा थोरै मात्र नेपाली छन् । हवाई निकै महँगो राज्य मानिन्छ ।

अमेरिकी भने यूरोपतिर

बाँकी विश्वका विद्यार्थी अमेरिका जाने लहर त छँदैछ, तर; अमेरिकीहरू पनि अन्य देशमा पढ्न जान्छन् । प्रतिवेदनमा शैक्षिक सत्र २०१५/०१६ मा ३ लाख २५ हजार ३३९ अमेरिकी विद्यार्थी अन्य देशमा पुगेको उल्लेख छ ।

यूरोपेली देशहरूमा अध्ययन गर्न रुचाउने अमेरिकीहरूको मुख्य गन्तव्यमा भने बेलायत छ । त्यसपछि इटाली, स्पेन, फ्रान्स, जर्मनी, चीन, आयरल्याण्ड, अष्ट्रेलिया, कोस्टारिका, जापान आदि पर्छन् । वर्षेनि करीब १०० जना अमेरिकी विद्यार्थी नेपाल आउने गरेको जनाइएको छ ।

(कोइराला अमेरिकाबाट प्रकाशित हुने अक्षरिका न्युजलेटरका सम्पादक हुन् ।)

comments powered by Disqus

रमझम