२ भदौ २०७० | 18 August 2013

ब्रान्डिङ विज्ञापन मात्र होइन

Share:
  
- रञ्जित आचार्य

२ भदौमा घोषणा हुने बिजनेश एक्सिलेन्स अवार्डमा 'वेष्ट ब्रान्ड अफ द इयर पिपुल्स च्वाइस' तर्फ मनोनयनमा परेका स्वदेशी तथा बहुराष्ट्रिय ब्रान्ड।
नेपालमा ब्रान्डिङप्रतिको चासो पछिल्लो समय केही बढे पनि सन्तोषजनक छैन। राष्ट्रिय जनगणना २०६८ अनुसार ३५ वर्षमुनिको जनसंख्या ६९ प्रतिशत रहेकाले नेपाली उपभोक्ता भनेकै युवा हुन्। यसको अर्थ उनीहरूको सोच र निर्णय प्रक्रिया पृथक् हुन्छ। सक्षमता वृद्धिसँगै उनीहरूको प्रभाव फराकिलो हुन्छ। घरासयी किनमेलदेखि खानपानसम्ममा उनीहरूकै रुचिले प्रभाव पारेको हुन्छ। नेपाली समाजमा युवापुस्ताले सबैभन्दा प्रभाव पार्न सक्छन् भन्ने तथ्य हाम्रा स्थानीय ब्रान्डले राम्ररी बुझेको देखिंदैन।

तर, एक दशकअघिको तुलनामा अहिले निकै परिवर्तन आइसकेको छ। पहिला विज्ञापन, ब्रान्डिङ गर्नेबारे कसैले सोचेकै थिएन। विज्ञापन गर्नु भनेको मिडियालाई चन्दा दिनु सरह बुझिन्थ्यो। तर अहिले प्रायः सबै उत्पादकले विज्ञापन नगर्ने हो भने बजार लिन सकिंदैन भन्ने राम्ररी बुझ्ेका छन्। त्यसैले विज्ञापनले एक हदसम्म फड्को मारेको छ। तर, केही कम्पनीलाई छाड्ने हो भने ब्रान्डिङमा उत्साहजनक उपलब्धि छैन।

ब्रान्डिङ भनेको बिक्री बढाउन तत्कालका लागि स्किम 'सेल' गर्नु मात्र होइन। उपभोक्ताको मनमस्तिष्कमा उत्पादनले बास पाएपछि मात्र ब्रान्ड बन्छ। अर्थात् उपभोक्ताले उत्पादनलाई साथी सरह व्यवहार गर्नु हो। उदाहरणका लागि पछिल्लो दुई दशकमा नेपाली बजारमा धेरै नामधारी चाउचाउ आए। प्रायः सबैको ध्यान तत्कालको बिक्री बढाउन मात्र केन्द्रित भयो। जसले गर्दा स्किम सकिएपछि बजारबाट उत्पादन नै बाहिरिने अवस्था आयो। यो तँछाडमछाडमा एउटा ब्रान्ड वाइवाइ मात्र देखिएको छ जसले उपभोक्ताको मन जित्न सफल भएको छ। वाइवाइ र चाउचाउ उपभोक्ताको नाता कुनै स्किमले प्रभाव पार्न नसक्ने गरी गाँसिएको देखिन्छ। ब्रान्डिङ भनेको यही नै हो।

कोकाकोला कै कुरा गरौं न। हुन त रु.२० मा पाइने एक बोतल चिसो पेय मात्र हो कोकाकोला तर 'गुडविल' यति माथि छ कि केही अप्ठ्यारो पर्दा साथ दिने उपभोक्ता हुनेछन् भन्नेमा सो कम्पनी ढुक्क छ। हुन पनि भावनात्मक रूपले जोडिएका उपभोक्ताले अप्ठ्यारो पर्दा आफ्नो ब्रान्डलाई साथ दिएकै हुन्छन्। कुनै साथी सडकमा भेट्दा हाई–हेल्लो गरेको भरले अभिन्न बन्न सक्दैन। जब ज्वरो आएर सुतेको वेला पानी पट्टी गर्न पुगिन्छ त्यतिवेला साथी र साथको महत्व थाहा हुन्छ। कुनै उत्पादन ब्रान्ड बन्ने तरिका पनि यही हो। त्यो उत्पादनले उपभोक्तालाई ज्वरो आएका वेला पानी पट्टी गर्न सक्नुपर्छ। तब उसलाई अप्ठ्यारो पर्दा उपभोक्ता अघि सर्छन्।

हो, नेपाली उत्पादनहरू ब्रान्डिङको यही कसीमा चुकेका छन्। जस्तो कुनै पनि सिमेन्ट उत्पादकले डकर्मीको बीमा गर्नेबारे सोच्न सकेका छैनन्। 'काम गर्दा लडिहाल्यौ भने तिम्रो लागि हामी छौं' भनेर कुनै सिमेन्टले भनिदिने हो भने डकर्मी त्यो सिमेन्ट छोडेर अन्त जान चाहँदैन। हरेक उत्पादनमा यो सिद्धान्त लागू हुन्छ। रङ–विरङका लोगो अंकित टीसर्ट बाँडेर ब्रान्डिङ हुन सक्दैन। अहिलेसम्म कुन चाहिं सिमेन्ट उत्पादकले आर्किटेक्ट वा सिभिल इन्जिनियरिङ पढाउने संस्थामा छात्रवृत्ति दिएको छ? यदि त्यस्ता संस्थाका तीन जना विद्यार्थीलाई मात्र छात्रवृत्ति दिने हो भने त्यहाँबाट उत्पादन हुने मात्र होइन अधिकांश इन्जिनियरिङका विद्यार्थीको त्यो सिमेन्टप्रतिको दृष्टिकोण सकारात्मक बन्छ। तत्काल मात्र होइन त्यहाँ पढेर पास आउट हुने विद्यार्थी बजारमा पुगेपछि त्यो सिमेन्टको प्रभाव झ्नै बढ्छ। यस्तो दूरगामी सोचका साथ काम गर्न सके मात्र ब्रान्डिङ सम्भव हुन्छ।

त्यसैले ब्रान्डिङ विज्ञापन मात्र होइन। विज्ञापन बाहेकका अरू धेरै उपाय छन् जसबाट उपभोक्ताको मनमा छिर्न सक्छ उत्पादन। संस्थागत सामाजिक उत्तरदायित्व पनि ब्रान्डिङको प्रभावकारी उपाय हो। तर, अर्काले बनाइदिएको चौतारोमा रङ पोतेर भन्दा चौतारो नभएको ठाउँमा नयाँ बनाएमा ब्रान्डिङ प्रभावशाली हुन्छ।

नेपालको सन्दर्भमा कुरा गर्दा युवा उपभोक्ताको बाहुल्य रहेकाले उनीहरूको मन जितेर ब्रान्डिङ गर्नु आवश्यक हुन्छ। ल्यापटप र स्मार्ट फोनमा पोख्त यो पुस्ता फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमा धेरै सक्रिय छ। ब्रान्डिङ गर्नेले प्रविधिका यस्ता साधन र माध्यमको प्रभाव बुझन सक्नुपर्दछ।

आचार्य प्रिज्मा एड्भरटाइजिङका प्रमुख कार्यकारी अधिकृत हुन्।

comments powered by Disqus

रमझम