'चकलेट'का सबै कथा उत्कृष्ट छन् भन्ने होइन, तर उतिसारो कमजोर पनि छैनन्। साले बलबीरे, निदाएँ जगदम्बा, हिटलर, भिडन्त, रेड वाइन, सुकुमेल, हे नर्मदे लगायतका कथा पढेपछि पाठक विस्मित हुन्छन्। किनकि, पाठकले यी कथाका पात्रहरूमा आफैं वा आफ्ना चिनजानका मान्छेहरू पाउँछन्। नेपाली कथाको संसारमा पाण्डेलाई कुशल कथाकारका रूपमा स्थापित गर्न यी कथा पर्याप्त छन्। पाण्डेका कथाले विश्वविख्यात कथाकार सआदत हसन मन्टोका भनाइलाई चरितार्थ गरेका छन्। मन्टोले भनेका छन्– 'म त्यो संस्कृति र सभ्यतालाई किन नङ्ग्याउँ, जो आफैं नाङ्गो छ। म त्यसलाई लुगा लगाइदिने प्रयत्न पनि गर्दिनँ।'
पाण्डेले राजनीतिक पाखण्ड, केन्द्रमुखी शासनसत्ता र शहरको संवेदनहीनतामाथि कडा प्रहार गरेका छन्। केही कथामा आञ्चलिकताको स्वाद छ। कथाका विषय खोज्न उतिसारो माथापच्चिसी नगर्ने पाण्डेले मामूली जस्ता लाग्ने विषयलाई कलात्मक लेप दिएर रोचक र गम्भीर बनाएका छन्। अखबारी शैलीका छोटा वाक्य संरचनाले कथालाई आकर्षक बनाएको छ। पाण्डे चलचित्र लेखक पनि भएकाले कथाहरू दृश्यमय छन्। केही कथालाई भने ज्यादा 'फिल्मीपन'ले कम विश्वसनीय बनाएको छ। चकलेट, रावण र पोशाक कथा शीर्षकलाई पुष्टि गर्ने प्रयत्नको शिकार बनेका छन्। अधिकांश कथा प्रतीकात्मक र व्यङ्ग्यात्मक शैलीमा लेखिएका हुनाले विषयज्ञान नभएका पाठकलाई बुझ्न कठिनाइ हुन सक्छ। हरेक कथा निराशा र अनिश्चयमा टुङ्गिएका छन्। राजनीतिक बेइमानीको शिकार बनेका निम्नमध्यम र मध्यमवर्गीय विवश पात्रहरू जान्नेबुझ्ने भनिएकाहरूबाट पीडित छन्।
राजेन्द्र पराजुली