धनगढीस्थित सेती अञ्चल अस्पतालका चिकित्सकहरू बजारका निजी अस्पतालहरूमा भेटिन्छन् । निमित्त मेडिकल सुपरीटेन्डेन्ट सजन केसी शिखर मेडिकललगायतका अस्पतालहरूमा काम गर्छन् । प्रमुख कन्सल्टेन्ट सर्जन अशोक श्रीपाइली अपेक्षा क्लिनिकमा काम गर्छन् भने अर्का प्रमुख कन्सल्टेन्ट सर्जन विशनसिंह बोहरा रघु मेडिकल र एघारौ तहका डा. हेमराज पाण्डे युग मेडिकलमा ।
अञ्चल अस्पताल नवौं तहका डा. केसीको नेतृत्वमा छ । वरिष्ठहरूले नेतृत्व लिन नमान्दा आफूले सम्हाल्नुपरेको उनी बताउँछन् । अस्पताल प्रशासनका एक कर्मचारी विना झ्मेला सरकारी अस्पतालमा जागीर खान र निजी क्लिनिकमा काम गर्न वरिष्ठहरूले नेतृत्व लिन नचाहने बताउँछन् ।
सरकारी अस्पतालका चिकित्सकहरूलाई बाहिर काम गर्न निषेध गरिएको छैन, तर त्यसो भन्दैमा सरकारी सेवामा असर पर्ने गरी बाहिर काम गर्न नहुने सेती अञ्चल अस्पतालका पूर्व मेडिकल सुपरीटेन्डेन्ट डा. गणेश सिंह बताउँछन् । निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. केसीले ड्यूटीमा असर नपर्ने गरी बाहिर काम गरेको बताए । उनी भन्छन्, “अस्पतालको समयभन्दा बाहेक बाहिर काम गर्दा के भयो र ?”
के भएन र ?
‘अस्पतालको समयभन्दा बाहेक बाहिर काम गर्दा के भयो र ?’ भन्ने डाक्टरहरूकै कारण सेती अञ्चल अस्पतालको हविगत भएको हो । हविगत कस्तो छ भने, भन्सार रोडका केशव रोकाया (३७) बिरामी कुर्न दुई दिन अस्पताल बस्दा आफैं बिरामी भएर फर्केको बताउँछन् । उनी भन्छन्, “फोहोर यति छ कि बिरामी त बिरामी भइहाले सञ्चै गएको कुरुवा पनि बिरामी भएर फर्कनुपर्छ ।”
सुदूरपश्चिमका नौ वटै जिल्लाबाट बिरामी रिफर भएर आउने हुनाले अस्पतालमा चाप भने बढेको बढ्यै छ । मेडिकल रेकर्डर समेत रहेका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार, ओपीडीमा दैनिक सरदर २५०, इमर्जेन्सीमा २२५ र अप्रेसनका लागि ५ देखि १० जनासम्म बिरामी आउँछन् । मासिक दुई हजार बिरामीलाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्छ । “तर, त्यस अनुसार व्यवस्थापन हुनसकेको छैन” श्रेष्ठ भन्छन्, “दरबन्दी अनुसार डाक्टर नहुँदा व्यवस्थापनमा समस्या छ ।”
५० बेड क्षमताको अञ्चल अस्पतालमा अस्पताल विकास समितिले थप ७५ बेड सञ्चालन गरेको छ । बिरामीको चाप बढेपछि समितिले ३०० बनाउन सरकारसँग अनुमति मागेको छ । जुन अझै पाएको छैन ।
८ महीना भयो, फोहोर अस्पतालबाट बाहिर निस्कन नसकेको । फोहोरले अस्पताल क्षेत्र नै दुर्गन्धित बनाएको छ । दैनिक २०० भन्दा बढी बिरामीको ल्याब परीक्षण गर्नुपर्ने प्रयोगशाला आफैं फोहोरले पुरिन लागेको छ । शौचालयको सेफ्टीट्याङ्क फुटेर प्रयोगशाला छेउमै बगिरहेको छ । ल्याब टेक्निसियन अधिकृत दीपक जोशी नाक थुनेर काम गरिरहेको बताउँछन् । दुर्गन्धित कोठाको पनि अभाव छ ।
रोगको निदानका लागि ल्याब रिपोर्ट सही आउनुपर्छ, तर अस्तव्यस्त प्रयोगशालामा गुणस्तरीय उपकरण पनि छैन । ल्याब परीक्षण विधि पुर्याउने प्रक्रिया जस्तो मात्र हुन पुगेको छ । ल्याबमा उपकरण, केमिकल सबैको अभाव छ । जे छ, त्यहीबाट काम चलाउनुपर्ने बाध्यता रहेको जोशी बताउँछन् । उनी भन्छन्, “सामान्य पञ्जा समेत नहुँदा नाङ्गो हातले काम गर्नुपरेको छ ।”
अस्पतालको भौतिक पूर्वाधार कति कमजोर छ भने, बिरामीको चाप बढेको बेला भुईंमा उपचार गरिने नर्सिङ वार्डकी ईन्चार्ज सुनिता खत्री बताउँछिन् । ठूलो पानी पर्दा छत चुहिएर त्यही भुई पनि जलाम्य हुन्छ । ढल बगेर अस्पतालभित्रै पस्छ । मेडिकल सुपरीटेन्डेन्ट स्थायी नहुनुलाई अस्पताल यो हदसम्म अस्तव्यस्त हुनुको मुख्य कारण मानिएको छ । २०७२ पुसदेखि अहिलेसम्म चारजना मेडिकल सुपरीटेन्डेन्ट फेरिएका छन् । २०७२ पुस ६ देखि २०७३ वैशाखसम्म डा. विशनसिंह बोहरा, २०७३ वैशाखदेखि मंसीरसम्म डा. सूर्यबहादुर गुरुङ, २०७३ मंसीरदेखि २०७४ साउनसम्म डा. अशोक श्रीपाइली र त्यसयता डा. सजन केसीले अस्पतालको जिम्मेवारी सम्हाले । प्रशासन फाँटका सुब्बा ललितबहादुर पन्त नयाँ सुपरीटेन्डेन्टलाई अस्पतालको वातावरण बुझन ५–६ महीना लाग्ने र बुझ्ेपछि सरुवा भएर जाने गरेको बताउँछन् ।
कर्मचारीको मनोमानी
गएको १५ कात्तिकमा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको टोलीले सदरमुकाम धनगढीका चारदर्जन सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा सबभन्दा बढी कर्मचारी सेती अञ्चल अस्पतालमा अनुपस्थित पाइए । दुई हप्तासम्मको हाजिरी हेर्दा अस्पतालका ८१ जना कर्मचारी प्रायः अनुपस्थित हुने गरेको पाएको प्रजिअ रिजालले बताए । “न हाजिर छ, न कार्यालय प्रमुखलाई त्यसबारे कुनै जानकारी छ” उनी भन्छन्, “यसले अञ्चल अस्पतालको समस्या गम्भीर भएको देखायो ।”
अस्पतालका निमित्त प्रमुख डा. केसीले पनि कर्मचारीको अनुपस्थिति समस्या नै हुने गरेको, यसले गर्दा सेवा प्रभावित भएको बताउँछन् । तर, आफैं निजी अस्पतालहरू धाउने भएकोले उनीबाट सुधारको अपेक्षा गरिएको छैन । अस्पतालको विभिन्न तह र विभागमा ३२ जना चिकित्सकको दरबन्दी रहेकोमा १७ वटा रिक्त छ । बाल रोग विशेषज्ञको दुईवटै दरबन्दी रिक्त छ ।
अञ्चल अस्पतालमा ११औं तहका डाक्टर मेडिकल सुपरीटेन्डेन्ट हुनुपर्ने प्रावधान छ । सेतीमा यस्ता तीन जना छन्, तर त्योभन्दा तीन तह मुनिका डा. केसीले निमित्तको रूपमा अस्पताल चलाइरहेका छन् । जुनियर सुपरीटेन्डेन्ट भएकाले पनि सिनियर डाक्टर र कर्मचारीहरूलाई मनोमानी गर्न सजिलो भएको छ ।