आधुनिक कलामा कलाकारहरुको रुचि बढ्न थालेपछि अरु परम्परागत कला जस्तै पौभा पनि बेवास्तामा पर्न थालेको थियो। तर, १२ वर्षको उमेरदेखि कुची समाएका काठमाडौं इटुम्वहालमा जन्मिएका यी चित्रकारले त्यसैलाई आफ्नो करिअर बनाउँदै यो उँचाइसम्म आइपुगे। ११ वर्ष लगाएर बनाएका मत्स्येन्द्रनाथका १०८ स्वरुपलाई जापानमा प्रदर्शन गर्न पाउनुले उनले पाएको उँचाइ देखाउँछ। जसलाई उनी यो कलामा गम्भीरतापूर्वक लाग्नुको कारण मान्छन्। भन्छन्, “त्यहाँ विदेशीमा मेरो मात्र पेन्टिङ हुनेछ, ५२ वटा पेन्टिङ अहिले नै त्यहाँ पुगिसकेका छन्।”
अमेरिकाको हार्वर्ड युनिभर्सिटी, फिनल्याण्डको हेलसिन्की र जापानको ओसाकामा पौभा कलाको सात वटा एकल प्रदर्शनी गरिसकेका उनी दर्जनौं संयुक्त प्रदर्शनीमा सहभागी भइसकेका छन्। स्वाध्ययनबाट कलाकार बनेका उनी अहिले परम्परागत कलाबारे काठमाडौं विश्वविद्यालयका विद्यार्थीलाई पढाउँछन् भने सिमि्रक एटेलिअर नामक स्टुडियो तथा पेन्टिङ स्कूलमा संलग्न रहँदै त्यहाँ आउने नयाँ पुस्तालाई पनि यो कला सिकाउँछन्।
विश्वविद्यालय र क्याम्पसमा परम्परागत कलाको पढाइ नहुँदासम्म यस्ता कलाको संरक्षण र विकास नहुने उनको धारणा छ। परम्परागत कलाले मुलुक, इतिहास र समाजको परिचय दिने भएकाले युवा पुस्तालाई योबाट विकर्षण हुन दिन नहुने उनको मान्यता छ।
शब्द/तस्वीरः ऋषिराम कट्टेल