२४ मंसिर - १ पुस २०७४ | 10-16 December 2017

दुर्लभ अवसर

Share:
  
- सविता श्रेष्ठ
३७ देशका ७६ उत्कृष्ट चलचित्र हेर्ने दुर्लभ अवसर हो– किम्फ।

सात चलचित्रको विशेष प्रस्तुतिसहित राजधानीमा २८ मंसीरदेखि पाँचदिने १५औं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) काठमाडौंमा हुँदैछ । विशेष चलचित्रहरूमा, बोनिङटनः माउन्टेनियर, टोनी हागन्स नेपाल, डढेलोभित्रको सतिसाल (सतिसाल इन् इन्फेर्नो), इभन ह्वेन आई फल, मिडनाइट सन् (द जर्नी होम), हेमा हेमा (सिङ मि अ सङ ह्वाइल आई वेट) र द आईल्याण्ड एण्ड द ह्वेल्स छन् ।

३७ देशका ७६ चलचित्रका साथ हुने किम्फको १५औं संस्करणमा अन्तर्राष्ट्रिय प्रतियोगितातर्फ १४, नेपाल पानोरामामा १५ र अप्रतियोगी ४८ वटा फिल्म छन् । फेस्टिभलको उद्घाटन पूर्वी जिल्ला भोजपुरमा छायांकन गरिएको द लास्ट हनी हन्टर वृत्तचित्रको एशिया प्रिमियरबाट गरिनेछ ।

“यस वर्ष किम्फका लागि ७६ देशबाट ३०० भन्दा बढी फिल्मका प्रस्ताव आएका थिए, आयोजक र मुलुककै लागि यो गर्वको विषय हो”, किम्फका अध्यक्ष वसन्त थापा भन्छन् ।

किम्फमा यसपटक नयाँ कार्यक्रमका रुपमा ‘लाइभ स्टोरी पिचिङ’ थपिएको छ, जसमा छानिएका नेपाली फिल्म निर्माताहरूले विदेशी चलचित्रकर्मीहरूसँग आफ्नो फिल्मको अवधारणाबारे छलफल गर्नेछन् । छलफलमा उत्कृष्ट अवधारणामा फिल्म बनाउन किम्फ आफैंले निर्माताको खोजी गर्न सहयोग गर्नेछ । यसैगरी यही संस्करणदेखि ‘डक ल्याब’ पनि सञ्चालन गर्नेछ । ल्याबमा छनोट फिल्महरूलाई सम्पादन र आवश्यक सल्लाह दिइनेछ । फेस्टिभलमा स्वीस भूगर्भविद् टोनी हागनको सम्झनामा उनले खिचेका नेपालका पुराना तस्वीरहरूको विशेष प्रदर्शनीसमेत गरिनेछ ।

द लास्ट हनी हन्टर ।

प्राथमिकतामा दर्शक

१७ वर्षअघि पहिलोपटक किम्फ शुरु हुँदा यसखाले चलचित्रका दर्शक र चलचित्रकर्मी दुवैको कमी थियो । तर, यताका वर्षहरूमा यी दुवैको संख्या उल्लेख्य बढेको छ । किम्फका अध्यक्ष थापा यसमा किम्फ र अन्य चलचित्र महोत्सवहरूको महत्वपूर्ण योगदान रहेको बताउँछन् । “अहिले दर्शक मात्र होइन, चलचित्रकर्मीहरूसमेत किम्फ कुरेर बस्छन्, यसले पनि महोत्सवको महत्व उजागर गर्छ”, उनी भन्छन् । नेपाली चलचित्रकर्मीलाई प्रोत्साहित गर्दै राम्रा चलचित्र उत्पादनमा बल पुर्‍याउने उद्देश्यले नै ‘नेपाली पानोरामा’ सेक्सन शुरु गरिएको उनको भनाइ छ ।

जलगेडी (अ क्युरियस गर्ल) ।

ग्याल्मु दिदीको घर ।

विश्वमाझ चर्चा कमाउँदै गए पनि किम्फका मूल समस्या भने ज्यूँकात्यूँ छन् । फेस्टिभल सञ्चालनमा आर्थिक स्रोत र स्थानले आयोजकलाई जहिल्यै पिरोल्ने गर्छ । जसले, महोत्सवमा आउने विदेशी निर्देशक, निर्मातालाई उचित आतिथ्य प्रदान गर्न नसकिएको थापाको अनुभव छ । “तर, दर्शककै उत्साहपूर्ण उपस्थितिकै कारण हरेक वर्ष कार्यक्रम गर्ने हौसला दिइरहेको छ”, थापा भन्छन् ।

‘नेपाली पानोरामा’ मा प्रतिस्पर्धी चलचित्र

बक्स अफिस

च्यान्टी

ड्रिम कोरिया

एजुकेट आवर डटर्स

ग्याल्मु दिदीको घर

आइ क्यान

जलगेडी (अ क्युरियस गर्ल)

झा लो (इयर अफ द बर्ड)

खोज (क्वेस्ट)

कोख (अ वुम्ब)

लक्ष्मनिया

लोम्बा (द लीडरसिप)

रोलिङ अगेन्स्ट द फ्लोः बोटवुमन अफ पोखरा

स्ट्रगल इन के–पप

टि गल्र्स

comments powered by Disqus

रमझम