२ भदौ २०७० | 18 August 2013

युद्ध जस्तै खेल

Share:
  
- डम्बरकृष्ण श्रेष्ठ
दुई वर्षअघि नेपाल भित्रिएको युद्ध अभ्यास जस्तो देखिने साहसिक खेल 'पेन्ट बल' को आकर्षण बढ्दो छ।

बिक्रम राई
काठमाडौं, भृकुटीमण्डपको पेन्ट बल मैदानमा एक खेलाडी।
खतरनाक देखिने हतियार बोकेका, कम्ब्याट ड्रेस लगाएका दुई समूहबीच गोली हानाहान चलिरहेको छ। गोलीबाट बच्न कोही बंकरमा लुकेका र कोही ट्रेञ्चमा छेकिएका देखिन्छन्। गोलीको आवाजले शहरबीचको मैदान युद्ध मैदान बने झैं लाग्छ।

यो दृष्टि हो, ललितपुर सानेपामा रहेको द टार्गेट एरिनाको पेन्ट बल मैदानको। तर, ८/८ जनाको दुई समूहबीचको यो भिडन्त लडाइँको नभएर साहसिक खेल 'पेन्ट बल' हो। ३२ वर्षअघि सन् १९८१ मा अमेरिकाबाट शुरु भएको यो खेलको आकर्षण विश्वव्यापी रुपमा बढ्दो छ। इन्डोर र आउट डोर दुवै ठाउँमा दुई समूह बनाएर खेलिने यो खेल नेपालमा दुई वर्षअघि भृकुटीमण्डपमा शुरु भएको थियो। भृकुटीमण्डप फन फेयरभित्र अढाइ रोपनी जग्गामा रहेको पेन्ट बल नेपालका म्यानेजर देवी क्षेत्री त्यहाँ दैनिक ३/३ र ८/८ जनाका १२ वटा समूहले खेल्ने गरेको बताउँछन्।

अहिले राजधानीमा पेन्ट बल खेलाउने पाँच कम्पनी छन्। भृकुटीमण्डप र सानेपाको टार्गेट एरिनासँगै ललितपुरकै सानेपामा ब्याटर फिल्ड, काठमाडौंको टौदहमा डेक्सटर पेन्ट बल र महाराजगञ्जको भाटभटेनीमा नेशनल पेन्ट बल खुलेका छन्। द टार्गेट एरिनाका प्रबन्ध निर्देशक रोमेन्द्र अमात्य युवा आकर्षण देखेर साथीसँगको साझेदारीमा व्यावसायिक रुपमा डेढ रोपनी र आधा रोपनीका दुई वटा मैदानमा यो खेल शुरु गराएको बताउँछन्।

त्यसैको सञ्चालकमध्येका आयुष श्रेष्ठले दुई वर्षअघि अमेरिकामा हुँदा यो खेलेर जानेकाले व्यवसाय बनाउन सजिलो भएको बताए। महँगो यो खेल खेल्न एक जना खेलाडीलाई रु.२० हजारदेखि रु.४० हजारसम्मका सरसामान र पहिरन आवश्यक पर्छ। हेल्मेट–गगल्स, मार्कर (गन), चेष्ट गार्ड, ओभरल जम्प सूट लगाएर खेलिने यो खेल १४ देखि ५० वर्ष उमेरसम्मका महिला पुरुषले खेल्छन्। रु.२५०–३०० तिरेपछि खेलाउने कम्पनीले एक पटकलाई ती सबै सरसामान, पहिरन र ३० वटा पेन्ट बल (गोली) दिन्छ।

कसरी खेलिन्छ?

ललितपुर, सानेपास्थित द टार्गेट एरिनामा खेलाडी।
दुई वटा समूहमा खेलिने यो खेलका हरेक खेलाडी कम्ब्याट र हातहतियारले सुसज्जित बन्छन्। खेल मैदानमा बंकर, ट्रेञ्च र गोली छल्ने ठाउँ बनाइएका हुन्छन्। कम्तीमा ३/३ र बढीमा ८/८ जनाले एक पटकमा यो खेल खेल्न सक्छन्।

खेलमा एक जना मार्शल (रेफ्री) हुन्छ, जसले खेलको नियम बताउनेदेखि गोली लागेका व्यक्तिलाई बाहिर निकाल्ने र नम्बरका आधारमा विजेता घोषणा गर्छ। अहिले नेपालमा यसका तीन प्रकारका खेल चल्तीमा छन्। जसमा डेथ म्याच, रि स्पान र फ्ल्याग गेम पर्छन्। डेथ म्याचमा समूह 'क' र समूह 'ख' का खेलाडी बीचमा गोली हानाहान हुने, गोलीले लागेको व्यक्ति खेलबाट बाहिरिने र जुन समूहका खेलाडी बाँकी रहन्छन् उसले जित्छ।

रि स्पानमा चाहिं गोली लगाएको आधारमा समूहलाई नम्बर दिइन्छ। निर्धारित समयमा जसले बढी नम्बर ल्याउँछ त्यही समूहले यो खेलमा जित्छ भने फ्ल्याग गेममा निश्चित ठाउँमा राखिएको झण्डालाई गोली लाग्न नदिई झिक्न सक्ने समूह विजयी बन्छ।

ललितपुर, सानेपास्थित ब्याटरफिल्ड पेन्ट बलमा नेपालका राष्ट्रिय फूटबल टीमका खेलाडी ।
खेलमा प्रयोग हुने गोली औषधीको क्याप्सुलमा प्रयोग हुने सामानबाट बनेको रबरको गोली जस्तो ०.६८ क्यालिबरको हुन्छ। गोलीमा भित्र रंग भरिएको हुनाले खेलका क्रममा जसलाई गोली लाग्छ मार्कर ले पेन्ट गरे जस्तै देखिन्छ।
एक वर्षअघि साथीहरुसँग मिलेर ललितपुरमा ब्याटर फिल्ड नामक गेम हाउस सञ्चालन गरेका रोशन चाम्लिङ राई यो खेलले रमाइलो गराउँदै सामूहिकताको भावना जगाउने बताउँछन्। सामूहिक भावना विकास गर्न नेपाल प्रहरीका अधिकृत र जवानहरुले पनि यो खेल खेल्न थालेका छन्।

खेलबारे सुनेको र खेलका तस्वीर देखेर तीन महीनाअघि पहिलो पटक सानेपाको द टार्गेट एरिना पुगेकी ललितपुर भैंसेपाटीकी अलिशा श्रेष्ठ (२८) रमाइलो लागेपछि चार पटक पुगिसकेकी छिन्। अमेरिकामा रहँदा धेरै पटक यो खेल खेलेका ललितपुरकै अभिषेक क्षेत्री नेपालमा पनि यो खेल भित्रिएकोमा खुशी लागेको बताउँछन्।

comments powered by Disqus

रमझम