अहिले नेपालको पहाडी खण्डका सबै जिल्लामा अरू जातजाति जस्तै कार्की थरकाहरू पनि छरिएर बसेका देखिन्छन् । यो आलेखमा म कार्कीको पाएसम्मको कैरन छोटकरीमा प्रस्तुत गर्न लागेको छु ।
नेपालका प्रायः ब्राह्मणहरूका थर अधिकारी, आचार्य, पण्डित जस्ता केही अपवाद बाहेक अरूका जुन जग्गा बिर्ता, छाप, खर्क पाएर बस्यो त्यही जमीनका नाउँबाट थर बनेका देखिन्छन् । जस्तो, पोखरी जिल्लामा बस्ने पोख्रेल, पौडीमा बस्ने पौडेल, डोटीमा बस्ने डोटेल नेपाकान्लामा बस्ने नेपाल, बरैदरामा बस्ने बराल, अर्जीमा बस्ने अर्जेल, भुर्तीमा बस्ने भुर्तेल, तिमल्सैनमा बस्ने तिमल्सेना वा तिमसेना आदि ।
भारततिरबाट नेपाल पसेकाहरूमा उतैका थर यथावत् छन् । जस्तो, पन्त, मिश्र, पाण्डे आदि । काश्मीर–केदार–कान्यकुब्ज हुँदै नेपाल पसेका ब्राह्मण, छेत्रीहरूका थर यहाँ आई बसेका गाउँठाउँबाटै रहेका देखिएका छन् । खस–क्षेत्रीहरूमा चाहिं बाहुनबाट बनेका÷खसेका खत्री, छेत्री बाहेक प्रायः पुरानै थर यथावत् रहँदै आएका छन् । त्यस्तैमा पर्छन्, कार्की छेत्री । कार्की थरको उद्भवमा एउटा प्रमाण प्राचीन पाणिनि व्याकरणको एक सन्धिको सूत्रले बनाएको भेटिन्छ । जस्तो, शंक + अन्धु = शकन्धु, कर्क + अन्धु = कर्कन्धु । साधारण सन्धिमा अ अ जोड्दा आ हुन्छ । यहाँ त्यो नियम नलागेर अपवाद स्वरुप आ नभएर अ नै हुँदा शकन्धु, कर्कन्धु नै प्रयोग विधि शुद्ध बनाइयो ।
शक जातिबारे सर्वविदितै छ, व्याख्या गरिरहनु पर्दैन । शक सर्वव्यापक भएकै छन् । कुश कस वा कश शक खस पुराना जातिसमूह जस्तै कर्क जाति पनि अर्को एक देखिन्छ । कुशबाट कुशस्थली, कुशेश्वर र कशबाट कश्मीर, काशी भए जस्तै खसबाट खसान, खस क्षत्री–बाहुन भएर फैलिएका छन् । कशबाट काशी जस्तै कर्कबाट कार्की भएको बुझ्न्छि । कार्की क्षत्री, बाहुन काश्मीर, केदार, कान्यकुब्ज, कुमाउ हँुदै नेपालभरि छरिएका छन् । अघि कवि शक्तिवल्लभ अर्जेलले लेखेको जयरत्नाकर नाटकमा कुमाउका केही लडाकाहरूका थर उल्लेख
गरेका छन्, जसमा पहिले कार्की उल्लेख भएको छ–
कार्की फुत्र्याल् तडाकी चउधरि महरा बोहरा बोकटीनां
गंगौली संस्थितानां कठयितमहतां मध्यदेशस्थितानाम् ।
सं. १४३३ को ताम्रपत्रमा पृथ्वी मल्लका छोरा अभय मल्लले जयब्रह्म जोशीलाई अछाम–बाजुरामा बिर्ता दिएको ताम्रपत्रमा अधिकारी र कार्कीलाई सम्बोधन गरेका छन् । अधिकारी भनेका निजामतीतर्फका प्रमुख र कार्की जङ्गीतर्फका प्रमुख हुन् भन्ने अर्थ योगी नरहरिनाथले लगाएका छन् । यसभन्दा पहिलेको पृथ्वी मल्लले देवराज जोशीलाई बिर्ता दिएको ताम्रपत्रमा कसैलाई सम्बोधन गरिएको छैन । साक्षी बस्नेमा अमात्य–मन्त्रीहरू भनेर दुई रावल, दुई भँडारी र अरू दुईजना सेजुवाल जोशी गरी ६ जना छन् ।
अभय मल्लले जयब्रह्म जोशीलाई बिर्ता दिंदा पहिल्यै सम्बोधन गरिएका अधिकारी कार्की माथिल्लै दर्जाका सामन्त (रजौटा) सरहकै थिए भन्ने देखिन्छ । साक्षी बस्नेमा जैत्र वर्मा सहित तीन जना रावल छन् । निरीक्षक अजु खड्गा (खड्गधारी हजुरिया) छन् ।
मध्यकालमा मध्यपश्चिम नेपालको सानो राज्य उदयपुरमा उपाध्याय कार्की ब्राह्मण राजा (सामन्त) थिए । अहिले कहीं पनि कार्की ब्राह्मणको नामोनिशान देखिंदैन । यस्तै जातिको थरको अनुसन्धान गर्दै हिंडेका घोराही, दाङका विद्वान् स्व. टेकनाथ गौतमलाई मैले ‘उदयपुरका उपाध्याय कार्की ब्राह्मणहरू अहिले कहीं देखिंदैनन्, कहाँ हराए’ भनी सोध्दा उनले भनेका थिए, “सबैतिरका मुडुला कार्की, लामा कार्की र सुतार कार्कीहरू छेत्री भएका देखेर उदयपुरका उपाध्याय कार्की ब्राह्मणहरू पनि कोही अधिकारी, कोही गौतम भए । म पनि तिनैमध्येको गौतम हुँ ।”
कार्कीहरू सेन राजाका मन्त्री–भारदार रहेका थिए । गिरी, गोसाईले पाएको खार्पा बिर्तामा प्रमानगी गर्ने दलखम्व बानियाँ र हंसराज कार्की छन् । सो बिर्ताका केही खेत पहिले रामसिंह कार्कीका थिए । कार्कीबाट झ्किेर गिरी, गोसाईलाई दिइएको जमीन पछि पोख्रेलको भएको वर्णन गतांकमा गरियो । आमचोक (खोटाङ) को एक बिर्तामा कोशी उत्तर कार्कीछाप घडेरी परेको छ । खोटाङका नरोत्तम अधिकारीलाई बिर्ता दिंदा शुभजित थापाको छाप, खर्क र रातमाटे डिही परेको छ ।
दिङ्ला (भोजपुर) को शिवप्रसाद जोशीलाई बिर्ता दिंदा दलै थापाको केही खाइनपाइन परेको छ । सेन राजाका दरबारमा चौतरिया, मन्त्री, काजी आदि भारदार कार्की, बानियाँ, राई, थापा थरथोक थिए । तिनका खान्कीमा परेका जग्गा झ्किेर ब्राह्मणको बिर्तामा पारियो भने सट्टामा अरू जग्गा दिइन्थ्यो । त्यसैले, कार्की छाप, कार्की डाँडा, कार्की नेटा भन्ने ठाउँका नाम पूर्व–पश्चिम नेपालभर पाइन्छन् ।
मैले चन्द्रमणि पोख्रेलबाट पाएको चौरासीकुश (लगत) मा भोजपुर सोर्याङको मयांखु बिर्ताको एक प्रतिलिपि छ । त्यस अनुसार, सो बिर्ता महीपति सेनले महेश उपाध्याय कार्की ब्राह्मणलाई दिएका थिए । पछि सो बिर्ता रामानन्द जोशी रेग्मीले किने । त्यस बिर्ताको घडेरी र १२० मुरी माटाको व्यासी खेतको समेत सीमाना किल्ला ठोकेर रामानन्दका सन्तान लक्ष्मीनारायण रेग्मीलाई थामिदिएको थियो । त्यसको नेपाली प्रतिलिपि तल प्रस्तुत छ ।
त्यत्रो ठूलो बिर्ताजग्गा बेचेर कार्की बाहुनहरू कता गए, के भए अनुसन्धेय छ । छेत्री कार्की चाहिं सबै जिल्लातिर छरिएर रहेका छन् । कार्कीको बस्ती भोजपुरको पोखरे, पैयाँपानी, लोक्सिरामतिर छ । यी परासर गोत्री लामा कार्की हुन् । खिकामाछा (भोजपुर) वितलपमा र पालुवामा मौद्गल्यगोत्री मुडुला कार्कीको बस्ती छ । फालिकोटमा धृतकौशिक गोत्री सुतार कार्कीको बस्ती छ । यी सबै कार्की क्षत्री नै हुन् । ओखलढुंगा, धनकुटातिरका कार्कीहरू पनि क्षत्री नै देखिन्छन् ।
महीपति सेनले महेश कार्की ब्राह्मणलाई दिएको बिर्ता
आगे सोरंमध्ये महेश पाध्या कार्की ब्राम्हणलाई महीपति सेनले कुशविर्ता दिएको रामानन्द जोसि रेग्मीले किन्याको मयांखु कुश विर्ताको किल्ला घर्याडि सिमाना गाउपरिको खोल्सादेखि पूर्व मुलबाटो भञ्ज्याङ्ग देखि पश्चिम करासा बारीका पहरादेखि उत्तर मूल पधेरादेखि पूर्व कुलबाँध देवीथानदेखि पश्चिम डिही माथिको गुर्दुम सालका फेददेखि दखिन फलाम्या सुवाराको उपल्लो बारीदेखि उत्तर एति आठ किल्ला भित्रको गाउँ घर्याडि ब्याँसिखेत १२० मुरि लक्ष्मीनारां रेग्मी तम्रो किनुवा माटो रहेछ थामि बक्स्यौ ।