२ भदौ २०७० | 18 August 2013

हरधौवाको रौनक

Share:
  

दाङका थारू समुदाय बर्खे खेती सकिनै लाग्दा हरधौवा (हलो धोएर थन्क्याउने) पर्वको तयारीमा छन्। बर्खे खेती सकेर मनाइने हरधौवा पर्वले थारू समुदायमा अरू थुप्रै चाड लिएर आएको हुन्छ। त्यसैले हरधौवा उत्सवको ढोका खोल्ने पर्व पनि हो।

गजेन्द्र बोहरा
मुख्य बाली धान लगाउँदाको थकान मेट्न मनाइने हरधौवामा बंगुरका परिकार बनाएर आमन्त्रित आफन्त अनि छरछिमेकसँग भोज गरिन्छ। अतिथि सत्कारमा नामूद थारूहरू हरधौवामा सकेसम्म धेरैलाई निम्त्याउँछन्। थारू समुदायमा यो पर्व व्यस्त किसानीलाई केही दिन थाती राखेर कुलकुटुम्बको हालखबर बुझ्ने अवसर पनि हो। खानपानपछि नाचगान हुन्छ नै।
हरधौवा आउनै लाग्दा पनि कसैको खेती सकिएको छैन भने गाउँभरिका अरू परिवार जुटेर काम सकिदिन्छन्। यसबाट एकताको भावना र सामुदायिक भाइचारा बढ्ने थारू संस्कृतिका जानकार सञ्चारकर्मी कृष्णराज सर्वहारी बताउँछन्। सर्वहारीका अनुसार, सबैले रोपाइँ सकेको वा नसकेको हेरेर गाउँका मतहवा (अगुवा) ले सामूहिक भेला गराएर हरधौवा मनाउने दिन तय गर्छन्। हरधौवाको लागि मंगलबार, बुधबार वा शनिबार रोजिन्छ।

गजेन्द्र बोहरा, दाङ


माया नै माया

गीतकार योगेन्द्रमणि दाहाल र संगीतकार राजु सिंहको माया नै माया आधुनिक गीति अल्बम सार्वजनिक भएको छ। सात गीत संग्रहित अल्बममा मिलन अमात्य, श्रेया सोताङ, प्राश्ना शाक्य, निशा देसार, माण्डवी त्रिपाठी र आकांक्षा बस्यालको स्वर छ। म पग्लिसकें, बसन्त छाएको, मन्द मन्द, आज मेरो फूल झै, कसैले फूल बोलका सबै गीत मायाप्रेमका विषयमा उनिएका छन्।

सोलुको संगम

सोलुखुम्बुका एक दर्जन गायकगायिका, गीतकार, संगीतकारका सिर्जना समेटिएको गीति अल्बम संगम श्रोतामाझ आएको छ। शिखर संगम नेपालको प्रस्तुति रहेको यो अल्बममा टुपेन मगर, सुनिता राई, जसिहाङ राई, पूर्ण राई, पविधन खालिङ, भुवनसिंह राई, मिलन राई र मुना राईको स्वर रहेको छ। गीतमा प्रशान एलुङ राई, विष्णु राई, महेश रानामगर तथा पूर्ण, पविधन, भुवन सिंहका शब्द छन्। सोलु हाम्रो प्राण हो, जाउँ है नेचा, सोलुखुम्बु सल्लेरी, नेचा गाउँको, सोलु राम्रो छ, हाम्रो नेचा गाउँको लगायत १५ गीतमध्ये अधिकांशले सोलुको सुन्दरता बखान गरेका छन्।

दृश्यमा तीजका गीत

हिन्दू नारीहरुको चाड हरितालिका तीजको अवसर पारेर तिर्सना म्यूजिकले ॐ शिव शंकर भोला नामक तीजका गीतहरुको श्रव्यदृश्य संग्रह दर्शकमाझ ल्याएको छ। ॐ शिव शंकर, शिवजीसँग शरणमा पर्छु, आज त भेट्न आउँदिन है काले जस्ता ६ वटा तीजका गीत समेटिएको यो अल्बममा रमिला न्यौपाने, खुमन अधिकारी, शान्ति सुनुवार, अमृता लुगेली, मञ्जु गौतम, शर्मिला गुरुङका स्वरमा शंकर बिसी, सुष्मा कार्की, सौजन्य सुब्बा, रेजिना उप्रेती लगायत कलाकारले अभिनय गरेका छन्।

comments powered by Disqus

रमझम