२ भदौ २०७० | 18 August 2013

जनता जगाउने सर्जक

Share:
  
- अनुशील
क्याम्पसको कार्यक्रमका लागि लेखेको गीतले नसोचेको प्रसिद्धि दिलाएकोमा श्याम तमोट खुशी छन्।

गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ

यो देशको मुहार, फेर्नलाई उठ...

भोजपुर, दावाका श्याम तमोट (५९) ले २०३१ मा लेखेर संगीत भरेको यो गीतको लोकप्रियता अहिले पनि उस्तै छ। भोजपुर क्याम्पसको कार्यक्रमका लागि तयार पारेको यो गीत जनगायक रामेशको हातमा पुगेपछि लोकप्रिय भएको थियो। जसलाई १९ साउनमा नेपथ्य समूहका अमृत गुरुङले बेलायतको विश्व प्रसिद्ध वेम्बली एरेनामा समेत गुञ्जाए।

यो गीतले २०३६ को जनमत संग्रह, २०४६ को पञ्चायत विरोधी जनआन्दोलन र २०६२/६३ को दोस्रो जनआन्दोलनलाई कोरामिन हालेको थियो। २०५२ मा नेकपा माओवादीले शुरु गरेको सशस्त्र द्वन्द्वमा पनि उसले गाउँ गाउँमा यही गीत गुञ्जायो। तर, प्रायः भोजपुरतिरै बस्ने र बेला बेला राजधानी आउने तमोट भने गीत जसरी कहिल्यै चर्चामा रहेनन्।

नसोचेको सफलता

२०४६ को जनआन्दोलनको कथामा बनेको 'बलिदान' फिल्ममा समावेश यो गीत १६ भाषामा रेकर्ड भएको छ। साउन तेस्रो साता काठमाडौं इन्द्रचोकमा भेटिएका तमोट भन्छन्, “गीत लेख्दा यत्रो प्रसिद्धि पाउने कल्पना गरेको थिइनँ।” स्कूले विद्यार्थी छँदै राल्फाका रामेश–मञ्जुलको भोजपुरमा सुनेका गीतबाट प्रभावित बनेका थिए। २०२९ मा धरानमा क्याम्पस पढ्न झरेपछि गोविन्द विकल, बम देवान जस्ता कविको संगतले उनमा त्यस्ता गीतप्रतिको रुचि अरु बढायो। साथी रमेश श्रेष्ठसँग मिलेर धरानमा त्यस्ता गीत गाउन थालेका उनी पढाइ सकेर भोजपुर फर्कंदासम्म गितार बजाएर गाउन सिपालु भइसकेका थिए।

त्यस्तै बेला भोजपुर क्याम्पसको विद्यार्थी युनियनको कार्यक्रममा गाउने गीत लेख्न उनलाई आग्रह आयो। र उनले यो गीत लेखे। त्यहाँ गाएको गीत सुनेका एकजना युवाले रामेशलाई त्यो गीत दिए। त्यस्तै गीत गाउँदै हिंड्ने रामेशलाई यो गीतले नछुने कुरै थिएन। उनले गाउन थालेपछि यो गीतले चर्चा पाएको मान्ने तमोट भन्छन्, “रामेश दाइको हातमा नपुगेको भए यो गीतले यति प्रसिद्धि पाउँदैनथ्यो।”
२०३६ को जनमत संग्रह र त्यसपछिका स्ववियू निर्वाचनमा गाउन थालिएपछि विद्यार्थीले यो गीत गाउँ–गाउँ पुर्‍याए। २०४६ मा आन्दोलन सफल भएपछि यो गीतले अरु फैलिने मौका पायो।

भावी योजना

२३ वर्ष शिक्षण पेशामा रहेर २०५७ मा सेवा निवृत्त भएका तमोट शहरको मोहमा कहिल्यै परेनन्। अहिले पनि उनी भोजपुरमै सामाजिक काममा क्रियाशील छन्। सयौं गीत लेखेका उनका दुई दर्जन गीत रेकर्ड भएका छन्; जसमा संघर्ष हो जीवन, जीवन संघर्ष हो..., हिंड मेरा भाइ हो झम्पल बोकेर..., मन भित्र के छ ठूली किन बोल्दिनौ... गीत चर्चित छन्। संघर्ष हो जीवन गोविन्द विकलसँग मिलेर लेखेका थिए भने मनभित्र के छ ठूली... न्ह्यू बज्राचार्यको संगीतमा गुलाम अलीले गाएका छन्।

नेपालको राजनीतिक परिवर्तनमा ठूलो भूमिका रहेको गीत संगीतको महत्व कायम राख्न पछिल्लो समय रामेश र रायनको अगुवाईमा निर्मित 'सार्थक जन संगीत प्रतिष्ठान' मा उनी आवद्ध भएका छन्। जसमा पूरै समय लाग्न उनी अब केही समयमै काठमाडौं आउँदैछन्। तमोट भन्छन्, “अबको बाँकी जीवन त्यही प्रतिष्ठानमा लगाउने योजनामा छु।”

राष्ट्रिय प्रतिभा पुरस्कार २०६९ बाट पुरस्कृत र 'गाउँ गाउँबाट...' त्रिभुवन विश्वविद्यालयको बीएडमा पढाइ हुन थालेकोमा खुशी देखिएका तमोट भन्छन्, “केही पाउने लोभ कहिल्यै नराखेको भए पनि मेरो गीतले प्रसिद्धि पाएको र राष्ट्रले पनि सम्मान दिएकोमा धेरै खुशी छु।”

अनुशील

comments powered by Disqus

रमझम