९ भदौ २०७० | 25 August 2013

अनियमितता छानबिन होस्

Share:
  

हिमाल (२७ साउन) मा प्रकाशित माओवादीका १ हजार ४२१ लडाकूलाई जंगी अड्डाको ढोकासम्म पुर्याउन राज्यले रु.२० अर्ब खर्च गरेको समाचार पढेपछि लडाकू समायोजनमा राज्य कोषबाट गरिएको खर्चको ठूलो हिस्सा हिनामिना भएको जस्तो लाग्दछ । देश बनाउन कस्सिएका नेताहरू व्यक्तिगत स्वार्थमा सीमित देखिएपछि आर्थिक अनियमितताका विषय सामान्य बन्दै जाँदोरहेछ । लडाकू समायोजनमा भएको हिनामिना मात्र होइन, राज्यको अन्य क्षेत्रमा भएको अनियमितता सम्बन्धी छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन ढिलाइ गर्नुहुँदैन ।

छविलाल राई, इमेलबाट


विपत्तिबारे वेलैमा सोचौं

हिमाल (२७ साउन) मा प्रकाशित हिमाली क्षेत्रमा हुन थालेको वर्षा अनि पहाडमा बढ्दो अतिवृष्टिले नदी किनारका सयौं शहर बजार जोखिममा परेको समाचार पढेपछि हामी कहाँ छौं भन्ने प्रष्ट हुन्छ । प्राकृतिक विपत्तिलाई रोक्न नसके पनि मानवीय हेलचेक्र्याइँका कारण उत्पन्न हुने जोखिम कम गर्न सके ठूलो विपत्तिबाट बच्न सकिन्छ भन्ने सन्देश यो समाचारले दिएको छ । बाढी÷पहिरोका कारण जोखिममा रहेका दार्चुला जस्ता सयौं शहर जोगाउनका लागि सबै जना सजग हुनु आवश्यक छ ।

मिलन बम, इमेलबाट

आफ्नो सुविधाका लागि घर बनाउने नाममा कतै हामीले चिहान त बनाइरहेका छैनौं ? जानेर वा नजानेर भएका यस्ता क्रियाकलाप आफ्नै लागि खतराको संकेत हुन् भन्ने कुरा समयमै बुझनु जरूरी छ । अन्यथा आफूले खनेको खाल्डोमा आफैं पर्ने निश्चित छ ।

गोपाल पौडेल, ललितपुर


घर न घाट नहोस्

हिमाल (२७ साउनमा) प्रकाशित बेलायतमा रहेका अधिकांश भूतपूर्व ब्रिटिश–गोर्खा सैनिकले भोग्नु परेको असहाय जीवन सम्बन्धी समाचार पढ्दा सारै चित्त दुख्यो । कुनै वेला वीर गोर्खाली भनेर चिनिने नेपाली अहिले कसरी तिरस्कृत भएर बसेका छन् भन्ने कुरा ‘बेलायतमा बिल्लीबाठ’ समाचार पढेपछि प्रष्ट हुन्छ । शरीरमा तातो रगत भएसम्म प्रयोग गराइएका गोपाल गुरुङ र उनी जस्ता हजारौं वृद्धा तातो रगतले काम गर्न छोडेपछि घर न घाटको भएका छन् । कुनै वेला बेलायतको भूमिमा रगत र पसिना बगाएका गोर्खालीको यो अवस्थाबाट हामीले के शिक्षा पायौं त ? एकछिन मनन् गरेर सोचौं । यदि आउँदा दिनमा पनि अर्काको महल प्यारो र आफ्नो झ्ुपडीलाई तिरस्कार गर्ने प्रवृत्ति हावी भएमा एउटा कुरा निश्चित छ, हामी भूतपूर्व ब्रिटिश गोर्खा सैनिककै अवस्थामा पुग्नेछौं ।

रसना ढकाल, बालकोट–५, भक्तपुर

उमेर र बल छँदा बेलायतमा बहादुरी देखाएका नेपाली बुढेसकालमा असहाय बन्दै गएका छन् । विदेशी रहनसहन र भाषा नजान्दा उनीहरूले भोगेको पीडा कम गर्न नसके पनि स्वदेशमा काम गर्न छाडेर विदेशमा जाने हरेक नेपालीले स्वदेशको महŒव बुझनुपर्दछ ।

शर्मिला राई, इमेलबाट


मिलेर बसौं

हिमाल (२७ साउन) मा प्रकाशित बर्माको धार्मिक दंगाका केही पीडित भागेर काठमाडौं आएको समाचार पढेपछि यसबाट नेपालीले धेरै कुरा सिक्नुपर्दछ जस्तो लाग्छ । द्वन्द्व वा दंगाको पीडा दुःखदायी हुन्छ भन्ने कुरा हामीले पनि भोगिसकेका छौं । तर पनि वेलाबखतमा नचाहिने बखेडा निकालेर धार्मिक र जातीय हल्ला फैलाउन खोज्नेलाई भागेर काठमाडौं आएका बर्मेलीको पीडा गतिलो पाठ हुन सक्दछ । त्यसैले आपसमा मिलेर बस्ने बानीको विकास गर्नुपर्दछ ।

रणबहादुर शर्मा, इमेलबाट


सिक्नुपर्ने कुरा

हिमाल (२७ साउन) मा प्रकाशित अन्नबालीको तुलनामा कैयौं गुणा बढी आम्दानी दिने केराखेतीमा कैलाली र कञ्चनपुरका किसान आकर्षित भएकोे समाचार प्रेरणादायी छ । उन्नत कृषि प्रणाली अवलम्बन गर्दै आएका नेपाली किसानको जीवनस्तरमा सुधार आउन नसकिरहेको समयमा केराखेतीले राम्रो आम्दानी गरिरहेका सुदूरपश्चिमका किसानको सिको गर्न सकेमा आर्थिक अवस्था सुध्रने निश्चित छ ।

सुनिता माली, इमेलबाट


कामको सम्मान गरौं

हिमाल (२० साउन) को अन्तिम पृष्ठमा प्रकाशित केश काट्ने रमा कठरियाको कथा पढेपछि नेपाली समाजमा महिला पुरुषको विभेद जबर्जस्त थोपरिएको जस्तो लागेको छ । पुरुषले मात्र गर्ने काम भनेर चिनिएको केश काट्ने पेशा अपनाएकी रमालाई समाजले सम्मान गर्नुपर्दछ । उनको कामबाट अरू महिलाले पनि प्रेरणा लिन सक्नुपर्छ ।

बुद्धि चामलिङ राई, खाँबु–२, उदयपुर हालः काठमाडौं


होश खुल्दैछ

हिमाल (२० साउन) मा प्रकाशित भूतको राज रहेको हल्ला चलेका राजधानीका घरमा मानिस बस्न थालेको ‘फेरिए भूतघर’ समाचार पढेपछि मान्छेमा चेतना बढ्न थालेको हो कि जस्तो लागेको छ । लाखौं रुपैयाँ खर्चेर बनाइएका सुविधासम्पन्न यस्ता घर वर्षौंदेखि उपयोगमा आउन नसकेको अवस्थामा काठमाडौंको नयाँसडक र कीर्तिपुर अनि ललितपुरको मंगलबजारका ‘भूतघर’ व्यावसायिक भवनमा परिणत हुनु खुशीको कुरा हो । विकासको पाइला अघि बढाउनु पर्नेमा हामी भने अन्धविश्वासको आडमा भूतको पछाडि दौडिएका छौं । यस्ता अन्धविश्वासले समाजलाई पछाडि मात्र धकेल्छ । ढिलै भए पनि अन्धविश्वासका विरुद्ध जागरुक हुनु राम्रो कुरा हो ।

कृष्ण नेपाल, कीर्तिपुर, काठमाडौं


आत्मनिर्भर बनौं

हिमाल (२० साउन) मा प्रकाशित दुर्गम क्षेत्रमा भोकमरी हटाउने नाममा सरकारले वर्षौंदेखि करोडौं रुपैयाँको चामल ढुवानी गरेको समाचार पढेपछि हामी कतिसम्म परनिर्भर बन्दै गएका छौं भन्ने थाहा हुन्छ । अनुदानको चामल दिने चलन सरकारले तोड्नै पर्छ । यसो गर्न सकिए जनता आत्मनिर्भर बन्नेछन् ।

सरल महत, नयाँबजार, काठमाडौं


मुक्तिप्रसादलाई मोटरसाइकल

ऋषिराम कट्टेल
विशेष ग्राहक योजना अन्तर्गतका ग्राहकमध्ये ‘लक्की ड्र’बाट बम्पर उपहार विजेता घोषित गर्दै हिमालमिडिया प्रालिका प्रबन्ध निर्देशक कुन्द दीक्षित ।

साप्ताहिक खबरपत्रिका हिमाल का वार्षिक ग्राहक मुक्तिप्रसाद घर्तीले रु.३ लाख ९५ हजार पर्ने मलेसियन बाइक उपहार जितेका छन् । काठमाडौं, सामाखुशीका घर्तीले हिमाल मिडिया प्रालिद्वारा सञ्चालित ‘विशेष ग्राहक योजना’ अन्तर्गत बम्पर उपहार पाएका हुन् । पछिल्लो नौ महीनायता हिमाल को ग्राहक बनेका पाठकहरूबीच ३२ साउनमा गरिएको लक्की ड्र मा रसीद नं. १५५८३८ का घर्तीलाई बम्पर उपहार परेको हो ।
नयाँबानेश्वरस्थित एस उमावि मासिक उपहारका लागि छनोट भएको छ । रसीद नं. २०७०४१ भएको सो विद्यालयले टिसोट कम्पनीको घडी पाएको छ भने रसीद नं. १५५९८९ को टेकुस्थित डंगोल प्रिन्टर्सले पाक्षिक उपहार अन्तर्गत नोकिया कम्पनीको मोबाइल सेट पाएको छ ।

comments powered by Disqus

रमझम