आत्मश्लाघा

Share:
  

आफूलाई ‘फिक्सन डिजाइनर’ भन्न रुचाउने साहित्यकार कुमार नगरकोटीले नयाँ पुस्तक दोचा लाई संस्मरण भनेका छन् । डायरी लेखनको शैलीमा प्रस्तुत यो पुस्तकमा २३ असार २०७३ देखि १८ साउन २०७४ बीचका लेखकका जीवनका घटना र त्यससँगका सम्झना समेटिएको छ । फरक प्रस्तुति र भाषा शैलीका कारण समकालीन नेपाली साहित्यमा ‘ब्रान्ड’ बनाइसकेका नगरकोटी आफ्ना अघिल्ला कृतिहरूमा झैं यहाँ पनि आध्यात्मिकीकरण र मनोवैज्ञानिकीकरणमार्फत रहस्य सिर्जना गर्ने प्रयत्न गर्छन् ।

डोल्पा विमानस्थलमा सरुवा भएका प्रहरी बाबुसँग त्यहाँ पुगेका बाल नगरकोटी हत्या अभियोगमा पक्राउ परेका एक रैथानेले लगाएको जुत्ता (दोचा) लाई औधी मन पराउँछन्, त्यसैको खोजी गर्छन् । आमासँग निरन्तरको आग्रहपछि उनले अन्ततः मितिनी आमाबाट एक जोर दोचा उपहार पाउँछन् । विडम्बना; बुवा सरुवा भई काठमाडौं आउने क्रममा भैरहवाको होटलमा दोचा छुट्छ । हिमाली भेगका बासिन्दाले लगाउने दोचाको स्मृति बोकेर उनी भारतको जयपुरमा हुने सुफी साहित्यिक महोत्सवसम्म पुग्छन् । यस्तो लाग्छ, उनी ‘मेन्टल एडभेञ्चर’ गरिरहेका छन् ।

पुस्तक दोचा

लेखक कुमार नगरकोटी

प्रकाशक बुक–हिल पब्लिकेशन

पृष्ठ २६५+१९,

मूल्य रु.५००

नगरकोटीका अधिकांश रचना उनले भेटेका मानिस, पढेका पुस्तक र पात्र, हेरेका चलचित्रहरू, समकालीन र दिवंगत लेखक, चित्रकार, संगीतकार र विभिन्न घटना प्रसङ्गहरूको गठजोड हो । यसरी हेर्दा उनी असामान्य आत्मश्लाघी लाग्छन् र लेखनीमार्फत त्यही आत्मश्लाघाको यात्रा गर्दछन् । चेतन प्रवाह शैली, अतियथार्थवादी बोध र बौद्धिक तर्कवितर्क, उनको यात्राका विशेषता हुन् । अमेरिकी अभिनेता ज्याक निकोल्सन र एलिफ शफाकको उपन्यास द फोर्टी रुल्स अफ लभ की पात्र लेडी किम्या नाम दिइएका परेवा जोडीमार्फत उनी प्रेम र दाम्पत्य जीवनको दर्शन भन्छन् । संस्मरणको शुरुदेखि अन्त्यसम्म आइरहने परेवा जोडी नायक, नायिका झैं लाग्छन् ।

नगरकोटीको लेखन सिलसिलेवार छैन । उनी विधा भञ्जन, प्रसङ्गको फेरबदल र सन्दर्भको लस्कर लगाउँछन् । तर जस्तोसुकै विषयवस्तु भए पनि प्रवाहलाई निरन्तरता दिने खूबी भएका नगरकोटीको लेखनमा दिक र काल मेटिन्छ । विश्व साहित्यमा स्नायुविज्ञान नयाँ विषय बनेको छ । यस्तो बेला नगरकोटीको लेखनीको मनोविज्ञान पनि अध्ययनको विषय हो । स्मृतिहरूलाई लिपिबद्ध गर्ने उनको शैलीमा मस्तिष्कका रसायनहरूको भूमिकाले पनि कृतिको निहितार्थ प्रष्ट पार्छ । स्नायुहरूका लागि लेखन पठनपश्चातको बोध, रस र तरङ्ग हो । मस्तिष्कको संज्ञानमा पुगेपछि लेखनले अर्थ प्रदान गर्छ । अर्थले सांस्कृतिक, सामाजिक र सौन्दर्यात्मक भावभूमि खडा गर्दछ । यसो भनिरहँदा नगरकोटी ‘पोष्ट इन्फर्मेशन रिभोलुसन’ पुस्ताका लेखक जस्ता लाग्छन्, जो रैथाने र तिनका विषयबारे असाध्य कम चर्चा गर्छन् ।

नगरकोटीको ‘फिक्सन डिजाइन’ मा निश्चित दर्शन छैन । चलचित्रको पटकथा जस्तो संवाद, दृश्य सिर्जना र क्रमभंंगताले पनि नगरकोटीको कथा भन्ने कलालाई विशेष तुल्याउँछ । समकालीन लेखक, कलाकार, सेलिब्रेटीहरूको बारम्बार आउने प्रसङ्ग र अंग्रेजीको प्रयोगले लेखनलाई अस्वाभाविक बनाउँछ । तर, सूचनाको क्रान्तिको वर्तमान युगमा लेखन मात्र होइन भाषाको स्वरुप र अभिव्यक्तिमा पनि परिवर्तन आएको छ । विविध प्रसङ्ग, पुस्तक, उद्धरण, अन्तर्वार्ता, कथा वाचन र मुद्रणको प्रयोगले ‘दोचा’ मा इटालीका प्रसिद्ध लेखक उम्बर्टो इकोको सम्झना पनि दिलाउँछ ।

हरेक समाज, पात्र र विषयको अर्थ राजनीतिक, समाजशास्त्रीय र सांस्कृतिक महत्व हुन्छ । गुरुप्रसाद मैनालीको सामाजिक यथार्थवादको आलोचक नगरकोटीले लेखनमा गरेका प्रयोगले पाठकलाई आश्चर्यमा पार्न सक्छ । तर, पश्चिमा साहित्यबारे समझ भएर पनि आफ्नै गाउँशहरका परिवेश लेखेरै स्थापित विश्वेश्वरप्रसाद कोइराला र ईन्द्रबहादुर राईजस्ता लेखक स्थापित आख्यानका पाठकलाई नगरकोटीको प्रयोगले आश्चर्यमा पार्न सक्छ । तर, यसतर्फ लेखकको ध्यान पुगेको छैन । उनी आत्मकेन्द्रित कथावाचक जस्ता लाग्छन् । तर, प्रयोग स्वयंमा सफलता भने होइन । सम्प्रेषणीय हुन सकेन भने प्रयोग दुस्साहसमा सीमित हुन्छ । पश्चिमीकरणको भोकमा लेखकले मौलिक नेपाली परिवेश गुमाउनुहुँदैन ।

नगरकोटी स्वयं लेखनलाई ‘कसाही कला’ सँग दाँज्छन् । ‘बुचरले बोसो, छाला, हड्डीहरूलाई मासुबाट ब्रशअसाईड गरेझैं हामी लेखकहरू पनि अनावश्यक शब्द, वाक्य र अनुच्छेदहरूलाई आफ्नो टेक्स्टबाट हटाउँछौं÷मिल्काउँछौं’, पुस्तकमा उनी भन्छन् । समग्रमा दोचा नगरकोटीकै पूर्ववर्ती लेखनकै शृंखला हो; जसमा गुण, दोष दुवै पाइन्छ ।

रमेश केसी

comments powered by Disqus

रमझम