९ भदौ २०७० | 25 August 2013

‘गुणस्तरमा ध्यान दिन्छौं’

Share:
  
२८ साउनमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को अध्यक्षमा निर्वाचित मोहन चापागाईं भन्छन्, “सामुदायिक रेडियोका लागि दक्षिणएशियाकै नमूना देश भएर पनि सरकारले यसलाई पहिचान दिएको छैन ।”

ऋषिराम कट्टेल
अकोराब कस्तो संस्था हो ?

यो देशभरिका २५० सामुदायिक रेडियोको हकहितका लागि स्थापित संस्था हो । यसको सञ्जाल ७४ जिल्लामा छ । धेरै सामुदायिक रेडियो स्थापना हुनुपर्छ भन्ने अकोराबको अभियान सफल पनि भएको छ ।

सामुदायिक रेडियोले समाजमा कस्तो योगदान दिएको छ भन्ने लाग्छ ?

सामुदायिक रेडियोले गाउँका समस्या उठाएको छ । महिला हिंसा, ग्रामीण स्वास्थ्य, सिंचाइ, खेतीपाती, सुशासन, वातावरण र आयआर्जनमा यसको जोड छ । स्थानीय तहसम्मै पुगेर सार्वजनिक सुनुवाइ गर्ने हाम्रो अभियानले जवाफदेहिता र पारदर्शिता बढाएको छ ।

**सामुदायिक रेडियोले प्रसारण गर्ने सामग्री व्यावसायिक रेडियोको भन्दा फरक छैन भनिन्छ नि ? **

सामुदायिक रेडियोको सामाजिक जिम्मेवारी बढी हुन्छ । जस्तो, अकोराबको सदस्य हुने रेडियोले कम्तीमा ६० प्रतिशत स्थानीय कार्यक्रम उत्पादन गर्नै पर्दछ । केही सामुदायिक रेडियोमा समस्या हुन सक्छ । त्यसलाई सुधार्न अकोराबले पहल गर्नेछ ।

सामुदायिक रेडियो सञ्चालकहरू कुनै न कुनै दल सम्बद्ध छन् । खासगरी चुनावका वेला यस्ता रेडियोहरु आफू निकट दलको पक्षमा लाग्दैनन् भन्ने आधार के छ ?

लोकतान्त्रिक देशमा सञ्चालकहरूले व्यक्तिगत रुपमा दलीय आस्था राख्नु स्वाभाविक हो । तर रेडियोबाट प्रसारण हुने सामग्रीमा दलगत प्रभाव देखिनुहुँदैन । सामुदायिक रेडियोकर्मीहरूको आफ्नै सञ्चालन आचारसंहिता छ । चुनावको वेला निर्वाचन आयोगले जारी गरेको आचारसंहिता सबैले पालना गर्नै पर्दछ ।

आफ्नो कार्यकालमा के गर्ने योजना बनाउनुभएको छ ?

सामुदायिक रेडियोका लागि दक्षिणएशियाकै नमूना देश भएर पनि सरकारले यसलाई पहिचान दिएको छैन । पहिचान स्थापित गर्दै गुणस्तरमा ध्यान दिनेछौं । प्रसारित सामग्रीको आधारमा रेडियोको वर्गीकरण गर्ने योजना बनाएका छौं ।

comments powered by Disqus

रमझम