३० पुस - ६ माघ २०७४ | 14-20 January 2018

बालश्रमलाई टेवा मात्र

Share:
  
बाजुरामा लागू गरिएको ‘शिक्षाका लागि खाद्य कार्यक्रम’ ले पढाइ होइन, बालश्रमलाई टेवा दिएको छ।

बाजुराको बूढीनन्दा नगरपालिका–३ भुलेनाको कालिका निमावि, कक्षा ५ की विद्यार्थी रिता विक गत ९ मंसीरमा तीनघण्टा टाढा कोल्टी बजारबाट लिटो बनाउने २५ किलो पीठो र पाँच लिटर तेल बोकेर फर्कंदै थिइन् । विद्यालयले हरेक महीना लिटो बोक्ने पालो लगाएकोले कक्षा छाडेर कोल्टी जाने गरेको उनले बताइन् । अलि पछाडि भेटिएकी रिताकै कक्षाकी ललिता विक पनि कोल्टीबाट उनकै जत्रो भारी बोकेर भुलेना फर्कंदै थिइन् । पालो आएपछि लिटोको भारी बोक्न नगई नहुने उनले बताइन् ।

नेपाल सरकारले दूरदराजका विद्यालयहरूमा विद्यार्थी संख्या बढाउन विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा निःशुल्क पौष्टिक आहार कार्यक्रम चलाएको छ । जिल्लाका विभिन्न वितरण केन्द्रबाट विद्यालयसम्म पौष्टिक आहार बोक्न बालबालिका नै परिचालन गरिएको छ । ‘शिक्षाका लागि खाद्य कार्यक्रम’ भन्दै खोलिएका वितरण केन्द्रहरू कतिपय विद्यालयबाट एक दिनसम्म टाढा छन् । बाजुराका ७० विद्यालय र १४५ वटा बाल विकास केन्द्रमा पौष्टिक आहार कार्यक्रम लागू गरिएको छ ।

तस्वीरहरुः प्रकाश सिंह
कोल्टी बजारबाट पौष्टिक आहार लैजाँदै गरेकी बूढीनन्दा नगरपालिकाको कालिका निमाविका छात्रा ।

छात्रा भर्ना दर बढाउने, कक्षा छोड्ने दर घटाउने र कक्षामा नियमितताका लागि बालबालिकालाई पोषिलो खाजा खुवाएर सिकाइमा प्रगति गराउने उद्देश्यका साथ लागू गरिएको यो कार्यक्रमले उल्टै बालश्रमलाई प्रश्रय दिएको छ । जिल्ला शिक्षा कार्यालय, बाजुराका विद्यालय निरीक्षक धर्मराज जैसी अभिभावकले ल्याउनुपर्नेमा विद्यार्थी परिचालन गरेको पाइएको बताउँछन् । उनी भन्छन्, “यसबारे अब शिक्षकहरूसँग छलफल गर्छौं ।”

बूढीनन्दा नगरपालिका पाण्डुसेनस्थित कैलाश प्राथमिक विद्यालयमा विद्यार्थीले बोकेर ल्याएको पीठोको खाजा नपकाएको तीन साता भयो । विद्यालयमा खाजा पकाउने तेल र पीठो भए पनि दाउरा नहुँदा नपकाएको प्रधानाध्यापक गणेशबहादुर सिंह बताउँछन् । “विद्यार्थीलाई दाउरा ल्याउन अनिवार्य गरे पनि अभिभावकले पठाएनन्” उनी भन्छन्, “दाउरा भए पो खाजा पकाएर खुवाउनु !”

दाउरा लगेपछि मात्र पौष्टिक आहार खान दिने भएकाले बाजुरा, बूढीनन्दा नगरपालिकाको एक विद्यालयमा दाउरा बोकेर जाँदै विद्यार्थी ।

बूढीनन्दा नगरपालिकाका सिद्धेश्वरी प्रावि, हिमाली निमावि, खापर प्रावि र ऋषिदेव प्राविमा पनि विद्यार्थीले घरबाट दाउरा ल्याए मात्र लिटो पाक्ने गरेको बूढीनन्दा नगरपालिका–९ पाण्डुसेनका दाबा गुरुङले बताए । उनका अनुसार, खाद्य कार्यक्रम लागू भएका सबै विद्यालय र बाल विकास केन्द्रमा बालबालिकालाई नै दाउरा ल्याउन अह्राइएको छ । ‘शिक्षाका लागि खाद्य कार्यक्रम, बाजुरा’ का संयोजक विजयकुमार ठाकुरले विद्यार्थीले घरबाट दाउरा बोकेर ल्याउने नयाँ कुरा सुनेको बताए ।

प्रकाश सिंह, बाजुरा

comments powered by Disqus

रमझम