३० पुस - ६ माघ २०७४ | 14-20 January 2018

लोभलाग्दो लगानी

Share:
  
- मस्त केसी
भूकम्पपछिको पुनःनिर्माण र संक्रमणकालको अन्त्यसँगै राजनीतिक स्थिरताको आशामा सिमेन्ट, छडलगायत निर्माण सामग्रीका उद्योगमा लगानी बढ्दो छ।

रासस
नवलपरासीको सर्दीमा निर्माणाधीन होङ्सी शिवम् सिमेन्ट कारखाना ।
आर्थिक वर्ष २०७३/७४ को ७.२ प्रतिशत आर्थिक वृद्धिदर पछिल्लो दुई दशककै सबैभन्दा उच्च थियो । लगानीको वातावरण र ऊर्जा आपूर्तिको अवस्था नबिग्रिने हो भने चालू आवमा पनि आर्थिक वृद्धिदर ७ प्रतिशतभन्दा बढी हुने सरकारको प्रक्षेपण छ ।

भूकम्प र नाकाबन्दी खेपेको एक वर्षपछि नै मुलुकले आत्मसात् गरेको यो सुखद आर्थिक वृद्धिदरले लगानीकर्तामा उत्साह छाएको छ । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा राजनीतिक स्थिरताको आशाले ठूला लगानीकर्ता आकर्षित भएको बताउँछन् । “भर्खरै सम्पन्न तीन तहको निर्वाचन र दलहरूले अघि सारेको आर्थिक समृद्धिको नाराले पनि लगानीकर्ता हौसिएका छन्”, उनी भन्छन् ।

परम्परागत निर्माण शैली बदलिएकोले ग्रामीण क्षेत्रमा समेत सिमेन्ट र छडको माग बढेको छ । भूकम्पपछि त बलियो घरका लागि सिमेन्ट र छड अनिवार्य जस्तै भएको छ । त्यसैले पनि थुप्रै उत्पादनमूलक उद्योग सुस्ताएको बेला व्यवसायीहरू सिमेन्ट र छड उद्योगमा लगानी विस्तार गरिरहेका छन् ।

शिवम् सिमेन्टका उपाध्यक्ष साजन देवकोटा भूकम्पपछिको पुनःनिर्माण र मुलुकको विकास नीतिले लगानी विस्तारमा भूमिका खेलेको बताउँछन् । देवकोटा भन्छन्, “राजनीतिक स्थिरतासँगै तीव्र विकासको विकल्प छैन, त्यसैले स्वदेशीसँगै विदेशी लगानीकर्ता समेत भित्रिइरहेका छन् ।”

व्यवसायीहरू निर्माण सामग्री उद्योग विस्तारमा २०७२ को विनाशकारी भूकम्पलाई कारक मान्छन् । काठमाडौं स्टिल्स्का प्रमुख कार्यकारी अधिकृत केशवराज पोखरेल भूकम्पपछिको पुनःनिर्माण बढेसँगै छडको बजार पनि ह्वात्तै बढेको बताउँछन् ।

भन्छन्, “बढ्दो मागले नयाँ लगानीकर्ता र पुराना उद्योगीलाई समेत लगानी विस्तारमा ऊर्जा मिलेको छ ।” मुलुकमा हाल वार्षिक करीब ८० लाख टन सिमेन्ट र १३ लाख टन छड खपत भइरहेको छ । यो वर्ष १६ लाख टन छड खपत हुने अनुमान गरिएको पोखरेल बताउँछन् । सिमेन्ट र छडको खपतमा वार्षिक २० प्रतिशत वृद्धि भइरहेको छ । तर, पछिल्लो एक वर्षमा यो वृद्धिदर दुई गुणाले बढेको व्यवसायीको भनाइ छ ।

सिमेन्ट उत्पादक संघका थापा घर निर्माणमा आएको तीव्रताले माग धान्नै नसक्ने अवस्था भएको बताउँछन् । “भूकम्प प्रभावित जिल्लाहरूमा माग अनुरूप आपूर्ति हुनसकेको छैन” उनी भन्छन्, “यसै पनि हिउँदको समयमा सिमेन्टको माग शतप्रतिशतले बढ्छ ।”

तस्वीरहरुः गोपेन राई
८८ वटा सिमेन्ट उद्योगमध्ये कम्तीमा ६० उद्योग सञ्चालनमा छन् । देशभर २२ वटा उद्योगले छड उत्पादन गरिरहेका छन्, नयाँ ६ उद्योग सञ्चालनको तयारीमा छन् ।

घरानियाँ लगानी

बढ्दो माग र दीर्घकालीन सम्भावनाकै कारण पुरानादेखि नयाँ व्यापारिक घरानाले समेत सिमेन्ट र छड उद्योगमा लगानी गर्न थालेका छन् । विदेशी लगानीकर्ता तथा बहुराष्ट्रिय कम्पनीहरू समेत अन्य उद्योगको तुलनामा सिमेन्ट उद्योगमै चासो राख्न थालेका छन् ।

चीनको होङ्सी सिमेन्ट उद्योगले शिवम् सिमेन्टसँग मिलेर आउँदो फागुनदेखि क्लिंकर उत्पादनको तयारी गरिरहेको छ । नवलपरासीमा रहेको उद्योगमा शिवम्को रु.१३ अर्ब र होङ्सीको रु.२५ अर्ब लगानी छ । उद्योगले प्रतिदिन १२ हजार टन क्लिंकर र सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको छ ।

भारतको रिलायन्स समूह, नाइजेरियाको डंगोटे ग्रुप र चीनको हुवाजिन कम्पनीले क्रमशः रु.४० अर्ब, रु.५५ अर्ब र रु.५० अर्ब लगानीका सिमेन्ट उद्योग खोल्ने अनुमति लिइसकेका छन् । हुवाजिन चीनको सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हो । यो कम्पनी क्लिंकरसहितको उद्योग खोल्ने तयारीमा छ ।

वित्तीय क्षेत्रमा पहिचान बनाएका समूह पनि सिमेन्ट उद्योगमा लगानी गर्र्ने जमर्कोमा छन् । पछिल्लो उदाहरण हो– आईएमई समूह । आईएमईले दाङमा उद्योग स्थापनाको अनुमति पाएको छ । चौधरी ग्रुप, मुरारका अर्गनाइजेसन, विशाल, त्रिवेणी तथा शंकर गु्रपलगायतले सिमेन्ट उद्योगलाई प्राथमिकता दिएका छन् ।

पुराना सिमेन्ट उद्योगहरूको क्षमता विस्तार पनि जारी छ । रूपन्देहीस्थित अर्घाखाँची सिमेन्टले रु.४ अर्ब थप लगानी गर्दैछ । चौधरी ग्रुपले पनि रु.६ अर्ब लगानी थप्दैछ । त्यसबाहेक घोराही, जगदम्बा, सर्वोत्तम, अम्बेलगायतका उद्योगले पनि क्षमता विस्तार गरिरहेका छन् । गोयनका ग्रुपका महाप्रबन्धक उमेश बराल यसबाट सिमेन्ट उद्योग लगानीको राम्रो क्षेत्र रहेको पुष्टि भएको बताउँछन् ।

आत्मनिर्भर उन्मुख

लक्ष्मी स्टिल्स्का महाप्रबन्धक कुन्दन जोशीका अनुसार, लगानी र क्षमता वृद्धिको तयारीले मुलुक छडमा आत्मनिर्भर बन्ने बाटोमा छ । “तर, कच्चा पदार्थमा आत्मनिर्भर हुनको लागि भने केही वर्ष लाग्न सक्छ”, जोशी भन्छन् । नेपालमा वार्षिक रु.७५ अर्बभन्दा बढीको छडको कारोबार भइरहेको छ । काठमाडौं स्टिल्स्का पोखरेल पनि कच्चा पदार्थमा भारत र अन्य मुलुकसँग निर्भर भए पनि मुलुकमा प्रयोग हुने शतप्रतिशत छड नेपाली उत्पादनले नै धानेको बताउँछन् । सरकारी सहयोग, नीतिगत स्पष्टता र लगानीमैत्री वातावरण भए नेपाली उद्योग चाँडै आत्मनिर्भर हुने उनको बुझइ छ ।

दीपक ज्ञवाली
रुपन्देही, मैनाहियास्थित अर्घाखाँची सिमेन्ट उद्योग ।
मुलुकमा हाल खपत भइरहेको करीब ८० लाख टन सिमेन्टको ८५ प्रतिशत स्वदेशी उद्योगहरूबाटै आपूर्ति भइरहेको छ । सिमेन्ट उद्योग संघका अध्यक्ष थापा यसले सिमेन्टमा पनि मुलुक आफ्नै खुट्टामा उभिने अवस्थातर्फ लम्कँदै गरेको बताउँछन् । वार्षिक करीब रु.८५ अर्बभन्दा बढीको कारोबार हुने सिमेन्टमा आर्थिक वर्ष २०७३/७४ मा रु.१ अर्ब १४ करोड ८३ लाख बराबरको सिमेन्ट मात्र आयात गरिएको थियो । तर, छडमा जस्तै सिमेन्टमा पनि कच्चा पदार्थ भने भारतबाटै आयात हुन्छ ।

बजारमा काठमाडौं, हामा, लक्ष्मी, अम्बे, जगदम्बा, हिमाल, पञ्चकन्या, अशोक, गोयनका, नारायणी, नेपाल स्टिल, हुलास, भगवती, बागेश्वरी, कमला स्टिल्स्लगायतका छड लोकप्रिय छन् ।

सिमेन्ट हब

सिमेन्ट उद्योगहरू तराईका रूपन्देही र दाङमा बढी केन्द्रित देखिएका छन् । उद्योग विभागका अनुसार रूपन्देहीको भैरहवामा मात्र १२ वटा सिमेन्ट उद्योग छन् । तीमध्ये अर्घाखाँची, जगदम्बा, सिद्धार्थ, रिलायन्स, गोयनका, ब्रिज, सुप्रिम, अम्बुजा, अग्नि, विशाललगायतका सिमेन्ट उत्पादन भइरहेका छन् । ती उद्योगबाट दैनिक एक लाख बोराभन्दा बढी सिमेन्ट उत्पादन भइरहेको छ, जसले बजारको करीब ४० प्रतिशत हिस्सा ओगटेको छ । यसबाहेक नवलपरासी, उदयपुर, धनुषा, मोरङ, पर्सामा पनि सिमेन्ट उद्योगहरू खुलिरहेका छन् । दाङमा तीन वटा सिमेन्ट उद्योग सञ्चालनमा छन् भने थप दुई उद्योगले उत्पादन थाल्ने तयारी गरिरहेका छन् ।

रूपन्देही र दाङ आसपास सिमेन्टका लागि आवश्यक प्रमुख कच्चा पदार्थ ‘चुनढुंगा’ खानी भएकाले पनि उद्योगहरू केन्द्रित भएको गोयनका सिमेन्टका बराल बताउँछन् । खानीको नजिक हुँदा ढुवानी र उत्पादन खर्च कम हुने बरालको भनाइ छ ।


‘कच्चापदार्थ आयातमा सरकारले सहयोग गर्नुपर्छ’

भूकम्पपछिको पुनःनिर्माण गतिविधि र ठूला पूर्वाधारसहितका परियोजना कार्यान्वयनका क्रममा रहेकाले निर्माण उद्योगहरुका लागि पर्याप्त अवसर सिर्जना भएको छ । अवसर छोप्न स्वदेशी तथा विदेशी लगानीकर्ताहरु सिमेन्ट, छडलगायतका उद्योगमा लगानी बढाइरहेका पनि छन् । राजनीतिक स्थिरता, उद्योग प्रोत्साहनको नीति र सरकारी संरक्षण पाए यी उद्योगहरुले आन्तरिक अर्थतन्त्रमा मात्र होइन मुलुकलाई आत्मनिर्भर बनाउन समेत भूमिका खेल्नेमा शंका छैन । तर, प्रचुर सम्भावनाका बीच समस्या पनि कम छैनन् । भारतबाट कच्चा पदार्थ आयात, चुनढुंगा उत्खनन्का झमेला, ट्रेड यूनियनको आन्दोलन, असहज र महँगो ढुवानीजस्ता थुप्रै कारण उद्योगी पिरलोमा छन् । र, यसको सोझो असर उपभोक्तामा परिरहेको छ ।

सिमेन्ट र छडको बढ्दो बजार, गुणस्तर, अवसर र चुनौतीबारे उद्योगी÷व्यवसायीसँग गत साता मात्र हिमाल ले ‘राउण्ड टेबल’ छलफल गरेको थियो । छलफलमा व्यक्त विचारको सारः

सिमेन्ट र छडको मूल्य किन बढिरहेको छ ?

शिव प्याकुरेल

महाप्रबन्धक, नेपाल अम्बुजा सिमेन्ट

सबै उद्योगहरुले भारतबाटै कच्चा पदार्थ आयात गर्नुपर्ने बाध्यता छ । भारतमा कच्चा पदार्थमा भारी मूल्य वृद्धि भएकाले मूल्य बढाउनु परेको हो । डिजलको मूल्य वृद्धिसँगै ढुवानी खर्च पनि बढेको छ ।

दीपक घिमिरे

महाप्रबन्धक, अरनिको सिमेन्ट

चुनावपछि सिमेन्ट, छडलगायत निर्माण सामग्रीको बजार निकै बढेको छ । माग बढेसँगै आपूर्तिमा पनि केही समस्या देखियो । उपभोक्ता अत्तालिएर भण्डारण गर्नतिर लागे । यसले सामानको कृत्रिम अभाव सिर्जना गर्‍यो । योसँगै अन्तर्राष्ट्रिय बजार भाउ बढेकोले पनि मूल्य वृद्धि भएको हो ।

कुन्दन जोशी

महाप्रबन्धक, लक्ष्मी स्टिल्स् प्रा.लि

नेपालको छड तथा सिमेन्ट उद्योग शतप्रतिशत भारतीय बजारमा निर्भर छ । त्यसैले भारतमा केही समस्या आउनासाथ यहाँ मूल्य बढाउनुपर्ने बाध्यता छ । कच्चा पदार्थ आयातमा निकै समस्या छ । भारतमा समेत कच्चा पदार्थ र ढुवानी खर्च बढेको छ ।

केशवराज पोखरेल

प्रमुख कार्यकारी अधिकृत, काठमाडौं स्टिल्स्

भारत सरकारले त्यहाँका उद्योगीहरुलाई खानी उत्खनन्मा अवरोध पुर्‍याइरहेको छ । त्यसैले नेपाली व्यवसायीले चाहेर पनि ‘अग्रिम बुकिङ’ गर्न पाएका छैनन् । त्यसैले मूल्य वृद्धि भएको हो । ढुवानी भाडा वृद्धिले पनि असर गरेको छ ।

राजुकुमार थापा

नायव महाप्रबन्धक, हामा आइरन एण्ड स्टिल्स्

भन्सारमा अनेक समस्या छ । नेपाली उद्योगहरुले समयमै कच्चा पदार्थ आयात गर्न पाएका छैनन् । कामदार अभाव र चर्को ज्यालाले पनि मूल्य वृद्धिमा भूमिका खेलेका छन् ।

ध्रुव थापा

अध्यक्ष, नेपाल सिमेन्ट उत्पादक संघ

अघिल्ला वर्षहरु हेर्ने हो भने, अहिलेकै समयमा मूल्य वृद्धि भइरहेको देखिन्छ । उद्योगहरु अहिले पनि दैनिक ५/६ घण्टा लोडसेडिङ खेपिरहेका छन् । डिजलको मूल्य भर्खरै वृद्धि भएको छ । मूल्य वृद्धि बाध्यता बनेको छ ।

सिमेन्ट तथा छड उद्योगहरुले भोगिरहेका समस्या चाहिं के–के हुन् ?

दीपक घिमिरेः ढुवानीको समस्या छ । नीतिगत अस्पष्टताहरु छन् । विद्युत् आपूर्ति सहज छैन । कामदारको अभाव छ । भारतबाट कच्चा पदार्थसँगै कामदार समेत ल्याउनुपर्ने बाध्यता छ । सरकारी सहयोग छँदै छैन ।

शिव प्याकुरेलः कच्चा पदार्थमा परनिर्भरताले ठूलो समस्या निम्त्याएको छ । कच्चा पदार्थ आयातमा ठूलो चुनौती छ । सरकारी सहयोग छैन ।

उमेश बराल

महाप्रबन्धक, गोयनका ग्रुप

कच्चा पदार्थमा भारतको एकलौटी बजारले समस्यामा पारेको छ । ब्यांकहरुको मनोमानी ब्याजले पनि मर्का थपेको छ । गुनासो सुन्ने निकाय छैन । व्यवस्थित नीति र अनुगमनको अभाव छ ।

केशवराज पोखरेलः आवश्यक कच्चा पदार्थ नहुँदा माग अनुसार उत्पादन गर्न सकिएको छैन । समयमै बजारमा पुर्‍याउन ढुवानीको समस्या छ । हल्लाकै भरमा उपभोक्ताहरुले अनावश्यक भण्डारण गरेर राख्दा पनि उद्योगीलाई समस्यामा पारेको छ ।

कुन्दन जोशीः ट्रेड यूनियनको अनावश्यक माग र दबाबले हैरान बनाउँछ । सरकार पनि संरक्षणभन्दा समस्याका रुपमा प्रकट हुन्छ ।

ध्रुव थापाः सिमेन्ट उद्योगलाई खानी उत्खनन्मै समस्या छ । सरकारी निकायले बहाना बनाएर समस्या निम्त्याइरहन्छन् । उपयुक्त नीतिको अभावमा उद्योगहरु पीडित छन् । उद्योगलाई अनिश्चिततामा चल्नुपर्ने बाध्यता छ ।

समस्याका कुरा गरियो । तर, नेपाली सिमेन्ट र छड चाहिं कत्तिको गुणस्तरीय छन् ? उपभोक्ताले असल, कमसल कसरी छुट्याउने ?

दीपक घिमिरेः महँगो हुँदा मात्रै गुणस्तरीय हुँदैन । मेरो विचारमा, नेपालमा सबै सिमेन्ट अब्बल छन् । आफ्नो क्षमता र आवश्यकताअनुसार निर्माण सामग्रीको प्रयोग गर्नुपर्दछ । पिल्लर, प्लास्टर वा ढलानमा फरक–फरक सिमेन्टको प्रयोग गर्नुपर्दछ । अहिले ढुङ्गा, माटोका घरको गारोमा पनि बीचबीचमा सिमेन्ट र छडको प्रयोग भइरहेको छ, जुन जरुरी नै छैन ।

केशवराज पोखरेलः आमनागरिकले गुणस्तरीय छुट्याउन निकै गाह्रो छ । त्यसैले प्राविधिकको सल्लाह लिनु उपयुक्त हुन्छ । सकभर अन्डरग्राउण्ड संरचनामा स्तरीय सामग्री प्रयोग गर्नुपर्छ । छड मोटो हुँदैमा बलियो हुन्छ भन्ने धारणा गलत छ । ढलानमा ओपीसी सिमेन्ट र डीपीसीमा प्राइम क्वालिटीको छड प्रयोग गर्नु उचित हुन्छ ।

उमेश बरालः कम्पनीको ख्याति र अन्य व्यक्तिहरुको सुझाव लिनु उपयुक्त हुन्छ । बङ्ग्याउँदा नचर्किने छड बलियो हुन्छ । सिमेन्टको गुणस्तर जाँच्न चारवटा जति ईंटामा सोलिङ गरेर चारदेखि सातदिनसम्म राखेर हेर्न सकिन्छ । बालुवा, पानीलगायतका सामग्रीहरुको सही संयोजन हुँदा सिमेन्ट र छड दुवै टिकाउ हुन्छन् । चिस्यानले छडको गुणस्तरमा असर पुर्‍याउँछ ।

राजुकुमार थापाः गुणस्तरका हिसाबले सबै सिमेन्ट र छड उस्तै छन् । संरचना बनाउँदा इन्जिनियरिङमा बढी ख्याल गर्नुपर्छ । बलियोसँग बाँधिएका छड बलियो संरचनाका आधार हुन् । संरचना बनाउँदा आइरन मिसिएको पानी प्रयोग गर्नुहुँदैन ।

कुन्दन जोशीः गुणस्तर जाँच्न सरकारसँग निश्चित प्रयोगशाला छैन । नेपाल गुणस्तर (एनएस) चिह्न पाउने वित्तिकै सबै सिमेन्ट वा छडले गुणस्तरका सबै मापदण्ड पूरा गरेका छन् भन्ने हुँदैन । उपभोक्ता स्वयं सचेत हुनु जरुरी छ । उपभोक्ता स्वयं प्रयोगशालामा गएर परीक्षण गर्नुपर्र्छ ।

शिव प्याकुरेलः सबै संरचनामा एकै खाले सिमेन्ट उपयुक्त हुँदैन । संरचना र त्यसको बनावट अनुसार सिमेन्ट प्रयोग गर्नुपर्दछ ।

मुलुकलाई सिमेन्ट र छडमा आत्मनिर्भर बनाउन के गर्नुपर्छ ?

दीपक घिमिरेः भारतप्रतिको निर्भरता घटाउन खानीलाई सरल र सहज तरिकाले प्रयोग गर्ने वातावरण निर्माण गर्नुपर्छ । विद्युत् आपूर्तिको कठिनाइ हटाउनुपर्छ । ब्यांक ऋणको व्यवस्थापन पनि जरुरी छ ।

शिव प्याकुरेलः सर्वप्रथम सरकारले उद्योग प्रोत्साहन नीति ल्याउनुपर्छ । उद्योगमा राजनीतीकरण र भ्रातृ संगठनको अवरोधमा प्रतिबन्ध लगाइनुपर्छ । बन्द वा हडताल गरेर उद्योग क्षेत्रलाई समस्यामा पार्नुहुँदैन । सरकारले सहजीकरण गर्न सके यो क्षेत्रको भविष्य सुरक्षित छ ।

उमेश बरालः सिमेन्ट तथा छडको निश्चित मूल्य तोकिनुपर्छ । सरकारले उद्योगको संरक्षण गर्ने नीति ल्याउनुपर्छ । अनुगमन र नियमनलाई व्यवस्थित गर्नुपर्छ ।

राजुकुमार थापाः उद्योग मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो भन्ने बुझेर सरकार सहयोगी हुनुपर्छ । कच्चा पदार्थ आयातको समस्या कूटनीतिक पहलमार्फत हल गर्नुपर्छ । यो क्षेत्रको भविष्य अत्यन्तै राम्रो छ ।

कुन्दन जोशीः स्थिर सरकार र नीतिको आवश्यकता छ । भारतको एकाधिकार बजार अन्त्य जरुरी छ । भन्सारदेखि ढुवानी र बजार व्यवस्थापन गर्नुपर्ने देखिन्छ । सरकारले लगानीको वातावरण निर्माण गर्नुपर्छ ।

केशवराज पोखरेलः उद्योगीले पनि कमजोर सरकारको फाइदा उठाउन बन्द गर्नुपर्छ । सरकारमा दायित्वबोधको आवश्यकता छ । धेरै ठाउँमा सरकारी असहयोग र झन्झटिलो प्रक्रियाका कारण अनावश्यक खर्च बढेको छ । उद्योगीहरु उपभोक्ताप्रति जिम्मेवार र जवाफदेही हुने हो भने यो क्षेत्र निकै व्यवस्थित रुपमा अगाडि बढ्छ ।

comments powered by Disqus

रमझम