३० पुस - ६ माघ २०७४ | 14-20 January 2018

टीसीपी मञ्च

Share:
  
शैक्षिक संस्थाका सम्पूर्ण गतिविधि ‘डिजिटाइज्ड’ गर्न टीसीपी सफ्टवेयर र एपले सघाइरहेको छ।

त्यसो त शैक्षिक संस्थाहरूले सूचनाप्रविधिलाई पछ्याउन थालेको दशक नाघिसकेको छ । तर, तीमध्ये धेरैजसो सफ्टवेयर डेक्सटप उपयुक्त एप्लिकेसनमा आधारित छन् । त्यसमा पनि विद्यालय र कलेजका सीमित कर्मचारीलाई मात्र त्यसको प्रयोग र जानकारी हुन्छ । एउटै सफ्टवेयरले शैक्षिक संस्था, अभिभावक, विद्यार्थीलाई समेटेको कमै पाइन्छ ।

शैक्षिक संस्थालाई डिजिटाइज्ड बनाउनुपर्ने आवश्यकता देखेर ‘द कनेक्ट प्लस (टीसीपी)’ संस्थाले टीसीपी नामक सफ्टवेयर र एप सञ्चालनमा ल्याएको छ । यो सफ्टवेयर र एपमा स्टुडेन्ट प्रोफाइल, हाजिरी, होम वर्क, असाइनमेन्ट, डायरी साइन, रुटिन, स्कूल क्यालेन्डर, अकाउन्टिङ सिस्टम, बिलिङ सिस्टम, लाईब्रेरी म्यानेजमेन्ट, भेहिकल म्यानेजमेन्ट, इ–लर्निङ, इन्भेन्ट एण्ड एक्टिभिटिज, एसएमएस सिस्टम, शिक्षा सम्बन्धी जानकारी तथा समाचारलगायतका ४० वटा फिचर्स रहेका छन् । एपमा विद्यार्थी, शिक्षक, कर्मचारी सबैको अकाउन्ट बनाइन्छ । सबैले आ–आफ्नो यूजर नेम र पासवर्ड प्रयोग गरेर आफू सम्बन्धी जानकारी लिन सक्छन् ।

“बच्चाबारे जानकारी लिन आउने अभिभावकसँग एपबाटै डिटेल हेरेर कुरा गर्न सजिलो हुन्छ, कक्षाका इन्चार्जलाई बोलाइराख्नुपर्दैन” द कनेक्ट प्लसका अध्यक्ष डा. स्वागत श्रेष्ठ भन्छन्, “एपले विद्यालयसँग सम्बन्धित सबैलाई एकैठाउँमा जोडेको छ ।”

सञ्चारमा सहज

ललितपुर सानेपाको रेडियन्ट रिडर्स स्कूलले एक वर्षदेखि टीसीपी सफ्टवेयर प्रयोग गरिरहेको छ । पहिले अभिभावकलाई विद्यालयका सूचना पत्र लेखेर विद्यार्थीसँगै पठाउनुपर्ने तर कतिले अभिभावकलाई जानकारी नै नदिने समस्या थियो । “तर, अहिले आफ्ना बालबालिकाको दैनिक क्रियाकलाप मोबाइलबाटै थाहा पाउने भएकाले यो समस्या छैन” स्कूलका प्रिन्सिपल डीके ढुङ्गाना भन्छन्, “विद्यार्थीको उपस्थिति, प्रस्तुति, अकाउन्टिङलगायतका सबै रिपोर्ट एपमार्फत तुरुन्तै हेर्न मिल्छ ।”

काठमाडौं, बसुन्धरास्थित साउथ वेस्टर्न कलेजले पनि डेढ वर्षदेखि टीसीपी चलाइरहेको छ । सफ्टवेयर प्रयोगपछि विद्यार्थी, अभिभावक र कलेजबीचको सम्बन्ध सुमधुर र अन्तर संवादात्मक बनेको कलेजका सूचनाप्रविधि अधिकृत निर्मल गौतम बताउँछन् । एपमा विषयगत शिक्षक तथा प्रिन्सिपलसँग पनि मेसेजमार्फत कुराकानी गर्न सकिने बताउँदै गौतम भन्छन्, “विद्यार्थीले नबुझेका कुरा पनि शिक्षक तथा समूहमा छलफलको सुविधा छ ।”

टीसीपीले सफ्टवेयर सञ्चालनसँगै दैनिक अपडेट गर्न कर्मचारी पनि उपलब्ध गराउँछ । विद्यार्थीको संख्या अनुसार, अहिले दुईदेखि ६ जनासम्म कर्मचारी खटाइएको छ । टीसीपीका अध्यक्ष श्रेष्ठका अनुसार, यो सफ्टवेयर अहिले देशभरका करीब १०० शैक्षिक संस्थाले प्रयोग गरिरहेका छन् । सफ्टवेयरको प्रयोग गरेबापत हरेक विद्यार्थीबाट विद्यालयले प्रति महीना रु.१०० उठाउँछ ।

१५ वर्षमा तयार गरिएको सफ्टवेयरलाई श्रेष्ठले आफू स्वयं संस्थापक रहेको काठमाडौं भ्याली कलेज र स्कूलमा प्रयोग गरेपछि सार्वजनिक रुपमा जेठ २०७३ देखि ‘लञ्च’ गरेका हुन् । सफ्टवेयर र एपलाई समयसापेक्ष बनाउन टीसीपीको कार्यालयमा अहिले १०० कर्मचारी र २२ जना प्रोग्रामर छन् । सफ्टवेयरमा पछिल्लो समय डायरी, साइन र एकाउन्टिङ फिचर्स थपिएको छ । सफ्टवेयर प्रयोग गर्नुअघि विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावकलाई त्यसको विधिबारे सिकाइन्छ ।

सविता श्रेष्ठ

comments powered by Disqus

रमझम