९ भदौ २०७० | 25 August 2013

अधिकारी हत्या छानबिनमा

Share:
  
मानसिक सन्तुलन बिग्रिएको भन्दै ३० जेठ २०७० मा ललितपुरको लगनखेलस्थित पाटन मानसिक अस्पताल पुर्याइएका अधिकारी दम्पती । उनीहरुमा मानसिक समस्या नरहेको ठहर गर्दै दुई महीनापछि फर्काइएको थियो ।

निमेषजंग राई
छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाही गर्न माग गर्दै काठमाडौंमा आमरण अनशन बसेका गोरखा फुजेलका नन्दप्रसाद (५५) र गंगामाया (५२) को आवाज सुन्न सरकार बाध्य भएको छ । अधिकारकर्मीहरूको दबाब र मानवअधिकार आयोगको लिखित निर्देशनपछि गृह प्रशासन ९ वर्षअघिको कृष्णप्रसाद (१८) हत्याको घटना छानबिन गर्न तयार भएको हो ।

सरकारले छानबिन गर्न निर्देशन दिएपछि जिल्ला प्रहरी कार्यालय चितवनले सो घटनाबारे जानकारी लिन थालेको छ । चितवनका प्रहरी उपरीक्षक प्रद्युम्न कार्की सरकारी वकीलको कार्यालयसँग मुद्दा ब्यूँताउन मिल्ने÷नमिल्नेबारे राय लिएर काम थाल्ने बताउँछन् ।

छोराको हत्यारा माथि कारबाही हुनुपर्ने, आफूहरूलाई सुरक्षित रूपमा गाउँमा पुनस्र्थापित गरिनुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग गर्दै २२ माघ २०६९ मा धर्ना दिंदा अधिकारी दम्पतीलाई तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको निर्देशनमा प्रहरी प्रभाग कमलपोखरीले पक्राउ गरी ५९ दिनसम्म नजरबन्दमा राखेर हत्कडी लगाउँदै गोरखा पु¥याएको थियो । हिमाल ले उनीहरूलाई गैरकानूनी हिरासतमा राखेको खुलासा गरेपछि ३० जेठमा सरकारले जबरजस्ती पाटन मानसिक अस्पतालमा भर्ना गराएको थियो ।

छोरालाई माओवादी कार्यकर्ताले घरायसी रीसईवीका कारण अपहरण गरेर हत्या गरेको र आफूहरूलाई गाउँबाट लखेटेको नन्दप्रसाद बताउँछन् । माओवादी कार्यकर्ताले कृष्णप्रसादलाई सुराकीको आरोप लगाउँदै २४ जेठ २०६१ मा चितवनमा हत्या गरेका थिए । तर, नन्दप्रसाद ३० वर्षअघिको अंशबण्डाको झ्गडाको रीसले माओवादी कार्यकर्ताहरू जानुका पौडेल, छविलाल पौडेल, कालीप्रसाद अधिकारी, बाबुराम अधिकारी, रामप्रसाद अधिकारी र शिवप्रसाद अधिकारीले छोराको हत्या गरेको बताउँछन् ।

छोराको हत्यापछि किटानी जाहेरी दिएका नन्दप्रसादलाई माओवादीले त्यही वेला जाहेरी फिर्ता नलिए अर्को छोरा समेत मारिदिने धम्की दिएका थिए । शान्ति प्रक्रिया शुरू भएपछि १० पुस २०६४ मा माओवादीले आफूहरूलाई घरबाट लखेटेपछि १२ वटा पशु दाम्लोमै मरेको नन्दप्रसादको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय, गोरखाका अनुसार अधिकारी दम्पतीका छोरा कृष्णप्रसाद हत्याको द्वन्द्वकालीन राजनीतिक घटना भन्दै २०६३ मा पुष्पकमल दाहाल सरकारले सो मुद्दा फिर्ता लिएको थियो । २९ साउनमा पनि दाहालले पत्रकार सम्मेलन गर्दै सो घटनाको छानबिन गर्दा शान्ति प्रक्रिया भाँडिने चेतावनी दिएका छन् । द्वन्द्वकालका घटनामा सत्य निरुपण आयोगले बाहेक अरूले छानबिन गर्न नसक्ने उनको भनाइ थियो । राष्ट्रिय मानवअधिकार आयोगले भने आफ्नो सिफारिश माथि राजनीति नगर्न सबैलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता गौरी प्रधानले आयोगले गरेका ९० प्रतिशत सिफारिशहरू द्वन्द्वकालकै भएकाले यो सिफारिश कार्यान्वयन नगर्ने हो भने अरू पनि कार्यान्वयन नहुने बताए । अधिकारी दम्पतीको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।

डम्बरकृष्ण श्रेष्ठ


हात्तीलाई क्षयरोग

प्रकाश लम्साल
अमलेखगञ्जको पर्सा वन्यजन्तु आरक्षका हात्तीमा क्षयरोग देखिएको ‘एलिफेन्ट केयर इन्टरनेशनल’ का चिकित्सकले पत्ता लगाएका छन् । त्यहाँको हात्ती मेनकाकलीलाई गत वर्ष उपचार गर्न चितवनको कसरा पु¥याएको भए पनि राम्ररी उपचार नगरी ल्याएपछि अरू हात्तीमा क्षयरोग सरेको पर्सा आरक्षका पशु चिकित्सक सुरज सुवेदीले बताए । पर्याप्त दाना र स्याहारसुसार नपाएकाले आरक्षका ११ मध्ये ६ वटा हात्तीलाई क्षयरोग सरिसकेको त्यहाँका अधिकारी बताउँछन् । अहिले त्यहाँका नारायणगज, कामिनीकली, मेनकाकली, इन्द्राकली, राजकली, राप्तिकली सहित दुई वटा बच्चामा पनि क्षयरोग देखिएको छ ।

पौष्टिक आहारको अभाव र उपचार नगरिएकाले रोग फैलिएको हात्तीसारका सर्जुक बसारले बताए । एउटै हात्तीको उपचारमा रु.३ लाखदेखि रु.१५ लाखसम्म खर्च लाग्ने राष्ट्रिय प्रकृति संरक्षण कोष अमलेखगञ्जका अनुसन्धान सहायक अनिल प्रसाईं बताउँछन् । मानिस र हात्तीमा क्षयरोगको एउटै जीवाणु हुने भएकाले रोग सर्ने डरले त्यहाँ पर्यटक आउन पनि कम भएको छ ।
हात्ती संंरक्षणमा लाखौं रुपैयाँ छुट्याइए पनि रोगी र निरोगी हात्तीका लागि पानी पिउने छुट्टै ठाउँ बनाउन आरक्षले कञ्जुस्याईं गरेकाले रोग अरू हात्तीमा पनि सर्ने सम्भावना छ । राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र घरपालुवा गरी नेपालमा करीब २१५ हात्ती भएको चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. कमल गैरे बताउँछन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, एलिफेन्ट केयर इन्टरनेशनल र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग अन्तर्गत नेपाल एलिफेन्ट ट्यूवरक्लोसिस कन्ट्रोल एण्ड म्यानेजमेन्ट एक्सन प्लानले सन् २००७ देखि हात्तीको क्षयरोग परीक्षण गर्दै आएको छ ।

प्रकाश लम्साल, बारा


मरिचमानसिंह श्रेष्ठ १९ कात्तिक १९९७ – ३१ साउन २०७०

प्रजातन्त्रप्रति अत्यन्तै अनुदार पूर्व प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठ भ्रष्टाचारको मामिलामा वेदाग रहे ।
भ्रष्टाचारको दाग नलागेका पञ्चायतकालीन प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठ जीवनभरि राजतन्त्र समर्थक रहे । प्रजातन्त्र नरुचाउने उनको राष्ट्रियताप्रति भने लगाव थियो । फोक्सोमा लागेको क्यान्सरको उपचार गर्न भारतको दिल्लीस्थित मेदान्त अस्पताल पु¥याइएका उनले जीवनको अन्तिम घडी मुलुकमै विताउन जोड गर्नुले राष्ट्रप्रतिको उनको माया प्रकट हुन्छ ।

२०४६ को जनआन्दोलनका वेला प्रधानमन्त्री रहेकाले बहुदलीय पक्षधरबीच उनी सधैं आलोचना र विरोधका पात्र बने । यद्यपि, राजाको प्रत्यक्ष शासन रहेको त्यो वेला उनको चाहनाभन्दा दरबारको आदेश निर्णायक रहन्थ्यो । त्यसैले एकदलीय पञ्चायती व्यवस्था जोगाउन र जनआन्दोलन दबाउन उनको चाहनाभन्दा दरबारको आदेशको भूमिका बढी थियो । यो वेग्लै हो कि, जनतामा बनेको आफ्नो त्यो छवि बदल्न बहुदलीय व्यवस्था स्थापना र राजतन्त्रको समाप्तिपछि पनि उनले कुनै प्रयास गरेनन् ।

मध्यपश्चिम, सल्यानको गरीब परिवारमा जन्मिएका उनलाई आमाले रक्सी पसल चलाएर कमाएको पैसाले पढाएको बताउँछन्, उनको विषयमा थाहा पाउनेहरू । विद्यार्थी जीवनमा कम्युनिष्ट विचारधाराबाट प्रभावित उनी राजनीतिमा आउनुअघि शिक्षण पेशामा थिए ।

सल्यानको गरीब परिवारको व्यक्तिले दरबारको आशीर्वाद पाउनुमा त्यो वेलाका कुनै अञ्चलाधीशको भूमिका रहेको हुनसक्ने ठान्छन्, मरिचमानको प्रधानमन्त्रीत्वकालमा ८ महीना जेल परेका पत्रकार हरिहर विरही । विरही भन्छन्, “मरिचमानलाई हेरेर भन्न सकिन्छ, ती अञ्चलाधीशले पञ्चायती व्यवस्थाका लागि ठीक मानिस चयन गरेका रहेछन्, किनभने उनको पञ्चायतप्रति अगाध आस्था थियो ।”

तर, मरिचमान विलक्षण नेता थिएनन् । जिल्ला पञ्चायतको सभापति, कृषि सहायक मन्त्री, शिक्षा मन्त्री, राष्ट्रिय पञ्चायतको अध्यक्ष हुँदै उनी प्रधानमन्त्री बनेका थिए । तर, उनी सिर्जनात्मक भने थिए । पञ्चायतको हितमा सिर्जनात्मक रूपले काम गर्ने उनको स्वभाव थियो । प्रजातन्त्र भारत र पश्चिमबाट आयातीत विचार भएको मान्ने उनी प्रेसप्रति त्यस्तै अनुदार विचार राख्थे ।

पञ्चायतको समाप्तिपछि उनले राजनीतिक सक्रियता घटाए । बहुदलीय व्यवस्था आएपछि अधिकांश पूर्व पञ्चहरू राष्ट्रिय प्रजातन्त्र पार्टी खोलेर लागे भने केही कांग्रेस र कम्युनिष्ट बने । तर, उनी कुनै पार्टीमा लागेनन् । २०५६ को आमनिर्वाचनमा उनी काठमाडौं क्षेत्र नं. ४ बाट स्वतन्त्र उम्मेदवार बनेका थिए । त्यसपछि भने उनले काठमाडौं धापासी स्थित निवासमा कुखुरापालन गर्दै दिन बिताए ।


आत्माराम मुरारका (वि.सं. १९९८–२०७०)

वरिष्ठ उद्योगपति आत्माराम मुरारकाको ७२ वर्षको उमेरमा ३० साउनमा काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको छ । वि.सं. १९९८ मा सिरहाको लाहानमा जन्मिएका उनी श्वासप्रश्वास, मुटु र उच्च रक्तचापबाट पीडित थिए ।

२०३९ मा नेपालको पहिलो रंग (पेन्ट्स) उद्योग स्थापना गरेका उनको विभिन्न उत्पादनमूलक उद्योग तथा ब्याङ्किङ क्षेत्रमा लगानी छ । मुरारका अर्गनाइजेसन मार्फत सिमेन्ट, छड, स्टील, वनस्पति घ्यू, तेल, जीआई तार, जलविद्युत्, चिया लगायत उद्योगमा लगानी गरेका उनी एनएमबी ब्याङ्कको अध्यक्ष थिए । उत्पादनमूलक उद्योगका लागि अनुकूलता नभए पनि उनको यसैमा निरन्तर संलग्नता थियो ।

नेपाल उद्योग वाणिज्य महासंघमा दुई कार्यकाल सदस्य र एक कार्यकाल उपाध्यक्ष रहेका मुरारका पछिल्लो समय नेपाल उद्योग परिसंघसँग आवद्ध थिए । उनी नेपाल सिमेन्ट उद्योग उत्पादक संघ, वनस्पति घ्यू तेल उत्पादक संघ तथा नेपाल मारवाडी परिषद्को पनि अध्यक्ष भएका थिए । रोगले थलिनुभन्दा दुई साताअघिसम्म पनि व्यवसायमा सक्रिय मुरारका नियमित कार्यालय गएर हरहिसाब हेर्ने गर्थे । उनका श्रीमती, दुई छोरा र तीन छोरी छन् ।

comments powered by Disqus

रमझम