गोफालाबारे पहिलो पटक अध्ययन–अनुसन्धान गर्ने वनस्पतिविज्ञ डेनमार्कका नाथानियल वालिच हुन् । उनले सन् १८२० मा यसको नमूना संकलन गरेका थिए । त्यसबखत गोफालाको समूह (जिनस) विश्वको निम्ति नयाँ थियो । वालिचले गोफालाको नामकरण आफ्ना चराविज्ञ मित्र केभ पिटर होल्बोल (१७९५–१८५६) को नाममा ‘होल्बेलिया ल्याटिफोलिया’ गरे । वनस्पति विज्ञानमा हजारौं वनस्पतिका नाममा ‘ल्याटिफोलिया’ शब्द जोडिएका छन् । ल्याटिन भाषामा चौडा पातलाई ‘ल्याटिफोलिया’ भनिन्छ । यो जानकारी वालिचको पुस्तक टेन्टामेन फ्लोरा नेपालेन्सिस इलुस्ट्रेट (१८२४–१८२६) मा छ ।
अस्पष्टता
द नेचुरल हिष्ट्री म्यूजियम लन्डन र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वनस्पति विभागको संयुक्त प्रकाशन एन्नोनेटेड चेकलिष्ट अफ फ्लावरिङ प्लान्टस अफ नेपाल (सन् २०००) अनुसार नेपालमा होल्बेलिया ल्याटिफोलियासहित यसका दुई भेराइटी ‘होल्बेलिया ल्याटिफोलिया भार एंगुस्टिफोलिया’ र ‘होल्बेलिया ल्याटिफोलिया भार ल्याटिफोलिया’ पाइन्छन् । ‘होल्बेलिया ल्याटिफोलिया’ नेपाल, भारतको सिक्किम, भूटान र चीनमा मात्र पाइन्छन् । वनस्पति विभागले प्रकाशन गरेको ‘क्याटलग अफ नेप्लिज फ्लावरिङ प्लान्टस्’ (२०११) अनुसार यो वनस्पति नेपालका धेरैजसो उच्च पहाडी र हिमाली जिल्लाहरूमा पाइन्छ ।
बेलायतमा गोफालालाई ‘ससेस फ्रूट’ वा ‘ससेस भाइन’ भनिन्छ । बेलायतका धेरैजसो बोटानिकल गार्डेनमा ‘होल्बेलिया ल्याटिफोलिया’ रोपेका छन् । वनस्पतिमा मोह राख्ने व्यक्तिहरूले घरघरमा समेत लगाएका छन् । यसको फूल निकै वासनादार हुने भएकोले यसको लहरालाई बेडरुम नजिक घरको भित्ता, छानो आदितिर डोर्याइन्छ ।
बेलायतमा यसको बीउ नेपालबाटै लगिएको थियो । जंगली वनस्पतिका बीउ संकलन गर्न सन् १९७१ मा नेपाल आएका रोय लान्कास्टरले तीन महीनासम्म पूर्वी नेपालमा बसेर गोफालासहित चाख लाग्दा र अनौठा प्रकृतिका ४०० प्रजातिका बीउ लगेको उनीद्वारा लिखित अ प्लान्ट्समेन इन नेपाल (सन् १९९५) पुस्तकमा छ ।
बेलायतमा ‘होल्बेलिया ल्याटिफोलिया’ को फलले पनि महŒव पाएको छ । धेरैजसो सुपर मार्केटहरूमा यसको फल पाइन्छ । नेपालमा भने प्रशस्त जंगली फलहरू पाइए पनि खान हुने वा नहुने भन्ने जानकारीको अभावमा गोफालाको बिरुवा जंगलभन्दा बाहिर कतै लगाइएको भेटिंदैन । त्यस्तै, यो वनस्पतिबारे नेपालबाट प्रकाशित पुस्तक तथा अनुसन्धानात्मक लेखमा कम र विदेशमा बढी जानकारी पाइन्छ । नर्सरी उद्यम गर्नेहरूले गोफालालाई सदाबहार वनस्पतिका रूपमा लिई एउटा राम्रो लहरे फूलको रूपमा पहाडी शहरहरूमा भिœयाउन सक्छन् । स्वादिष्ट फलको लागि पनि यसको व्यवसाय गर्न सकिन्छ ।
जेडि हूकरले १८७२ मा लेखेको ‘फ्लोरा अफ ब्रिटिश इन्डिया’ को पहिलो खण्डमा नेपालमा ‘होल्बेलिया ल्याटिफोलिया’ छ भनिएको छ । उनले नाथानियल वालिचको तथ्य साभार गर्दै नेपालमा ‘होल्बेलिया ल्याटिफोलिया’ छ भनेका छन् । तर, उनले नेपालमा पाइएको ‘होल्बेलिया ल्याटिफोलिया’ र ‘होल्बेलिया एंगुस्टिफोलिया’ एकै प्रजाति हुन् भनेका छन् । उनले एउटा भेट्नुमा ३ देखि ५ वटासम्म पात हुने ‘होल्बेलिया ल्याटिफोलिया’ लाई ‘होल्बेलिया ल्याटिफोलिया भार ल्याटिफोलिया’ र ७ देखि ९ वटा पात हुनेलाई ‘होल्बेलिया ल्याटिफोलिया भार एंगुस्टिफोलिया’ नामकरण गरिदिए । यसबाट वालिचले एउटा भेट्नुमा ७ देखि ९ वटासम्म पात हुने ‘होल्बेलिया’ लाई ‘होल्बेलिया एंगुस्टिफोलिया’ भनेका हुन् भन्ने बुझ्न्छि ।
चीनमा ‘होल्बेलिया’
‘फ्लोरा अफ चाइना’ को खण्ड ६ (पृष्ठ ४४३) अनुसार चीनमा ‘होल्बेलिया’ का १५ प्रजाति पाइन्छन् । तीमध्ये ‘होल्बेलिया ल्याटिफोलिया’ र ‘होल्बेलिया एंगुस्टिफोलिया’ दुवैको एउटा भेट्नुमा ३ देखि ९ वटासम्म पात हुन्छ । ‘होल्बेलिया ल्याटिफोलिया’ को पात पेपरी (कागजजस्तो पातलो) वा लेदरी (छाला जस्तो) र ‘होल्बेलिया एंगुस्टिफोलिया’ को थोरै लेदरीजस्तो हुन्छ भनिएको छ । यो विवरणबाट दुई प्रजातिको भिन्नता छुट्याउन सकिन्न ।
अर्को भिन्नता अघिल्लोको पातको मुनिको भाग फिका हरियो र पछिल्लोको पातको मुनि सेतो पीठोको धूलोले ढाके जस्तो हुन्छ । अघिल्लो पातको माथिल्लो भाग गाडा हरियो र चम्किलो हुने लेखिएको छ । जबकि, पछिल्लोको पातको माथिल्लोपट्टिको भाग हरियो र चम्किलो मात्रै हुने जनाइएको छ । अघिल्लोको पातमा ५ देखि ८ जोडा र पछिल्लोमा ६ देखि १० जोडा नसा रहने भनिएको छ । अघिल्लोको फल पाक्दा केही रातो र हल्का नीलो (पर्पल) र पछिल्लो पाक्दा हल्का नीलो हुन्छ । नाच्र्याङ लेक गाउँ नजिकको वनमा तीन किसिमको ‘होल्बेलिया’ पाइन्छ । तिनीहरूलाई स्थानीय बासिन्दाले चरिगोफाला, गोफाला र भैसीगोफाला भन्छन् । भैसीगोफालाको फल गोफालाको भन्दा दोब्बर ठूलो र चरिगोफालाको फल गोफाला भन्दा आधा सानो हुन्छ ।
नेपाल सम्बन्धी लेखिएका पुस्तकहरूमा ‘होल्बेलिया’ बारे विस्तृत विवरण पाइँदैन । जर्ज मिहे, कोलिन पेन्ड्री र राम चौधरी सम्पादित नेपाल ः एन् इन्टरडक्सन टु दि नेचुरल हिस्ट्री, इकोलोजी एण्ड ह्युमन इन्भारोमेन्ट इन दि हिमालयाज् (सन् २०१७) पुस्तकमा पनि नेपालमा ‘होल्बेलिया ल्याटिफोलिया’ पाइन्छ भन्ने जानकारी मात्रै छ । यो अवस्थामा चरिगोफाला, गोफाला र भैसीगोफालाका एकै प्रजाति र तिनका दुई भिन्न भेराइटी मात्रै हुन् भन्न कठिन छ ।
विडम्बना
हामी विदेशी मूलका एभोकाडो, किवी जस्ता वनस्पति रोप्छौं, महँगो दाममा किनेर खान्छौं । तर, विदेशीले हाम्रै वनबाट स्वादिष्ट फल लगेर व्यापार गरिरहेका छन्, यसबारे पत्तोसम्म पाउँदैनौं ।
अवस्था यस्तोसम्म छ कि हामी नेपालमै पाइने वनस्पतिबारे पनि विदेशीले लेखिदेला भन्ने आशामा छौं । लन्डनस्थित नेचुरल हिष्ट्री म्यूजियमले लेखिदिने आश्वासन पनि दिएकै हो । तर, त्यसको केही समयपछि नै त्यो जिम्मेवारी नेचुरल हिष्ट्री म्यूजियमले रोयल बोटानिकल गार्डेन इडिनबर्गलाई दियो । इडिनबर्गले जिम्मा सकारेको दुई दशक हुन लाग्दा पनि प्रकाशनको अत्तोपत्तो छैन ।
यता हाम्रो नीतिनिर्माण तह सोच्छ– नेपाली वनस्पति सम्बन्धी सबै जानकारी दिने दस्तावेज बेलायतको कुनै संस्थाले बनाइदिन्छ, चाहे दशकौं किन नलागोस् । उनीहरूमा आफ्ना विज्ञहरूमा होइन, विदेशीमा भरोसा र विश्वास गर्ने दरिद्र सोचाइ छ । त्यसैले हो, हाम्रा वनस्पति सम्बन्धी जानकारी डेढ–दुई सय वर्षअघि विदेशीले लेखिदिएकै भरमा चलिरहेको छ । हामी हाम्रा वनस्पति धेरै चिन्दैनौं, तर विदेशीहरूले यतैका बीउ–बिरुवा लगेर व्यवसाय गरिरहेका छन् ।