९ भदौ २०७० | 25 August 2013

मंसीरमा चुनाव ? ‘विश्वास छैन’

Share:
  

४ मंसीरका लागि तोकिएको संविधानसभा निर्वाचन गराउन प्रमुख दल र सरकारले विपक्षीहरूसँग वार्ता गरिरहेका छन् । ३१ साउनको वार्तापछि उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चा निर्वाचनमा भाग लिन सहमत भएको छ भने मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सहितको मोर्चासँग सहमतिका लागि प्रयास जारी छ । सरकार र प्रमुख दलहरू तोकिएको अवधिमा निर्वाचन गराउन दृढ देखिए पनि सर्वसाधारण भने चुनाव हुनेमा विश्वस्त छैनन् । हिमाल ले गत साता देशका प्रमुख १२ शहरमा गरेको सर्वेक्षणमा सहभागी ३७४ मध्ये ३९ प्रतिशतले ४ मंसीरमा निर्वाचन हुन नसक्ने बताएका छन् । ३४.२ प्रतिशतले तोकिएकै दिन चुनाव हुने बताए भने थाहा छैन भन्ने २५.९ प्रतिशत भेटिए ।

चुनाव हुँदैन भनेर जवाफ दिनेमध्ये सबैभन्दा धेरै सुदूरपश्चिमाञ्चलका ५२ र पश्चिमाञ्चलका ५० प्रतिशत छन् । तोकिएकै मितिमा चुनाव हुन्छ भनी आशावादी हुनेमा सबैभन्दा धेरै मध्यपश्चिमाञ्चलका ५० प्रतिशत छन् । निर्धारित मितिमा चुनाव हुँदैन भन्ने जवाफ दिनेमा सबैभन्दा धेरै १८–२४ उमेर समूहका ४३.९ प्रतिशत छन् । त्यस्तै, २५–३९ उमेर समूहका ४२ प्रतिशत उत्तरदाता चुनाव हुनेमा आशंका गर्छन् । स्नातक ४५.२ र स्नातकोत्तर तहका ५० प्रतिशतले निर्धारित मितिमा चुनाव हुनेमा आशंका व्यक्त गरे ।

चुनाव हुँदैन भन्ने उत्तरदातालाई सोधिएको ‘कसका कारण चुनाव हुँदैन भन्ने लाग्छ ?’ भन्ने प्रश्नको जवाफमा बहुसंख्यक ४५.२ प्रतिशतले सबै दललाई दोषी मानेका छन् भने २५.३ प्रतिशतले नेकपा–माओवादी र १२.३ प्रतिशतले एमाओवादीलाई । ६.२ प्रतिशतले सरकारका कारण चुनाव नहुने बताए भने ०.७ प्रतिशतले मधेशवादी दलका कारण चुनाव नहुने उत्तर दिए । भारत र चीनका कारण चुनाव हुँदैन भन्ने क्रमशः २.१ र १.४ प्रतिशत तथा अन्य देशका कारण चुनाव हुँदैन भन्ने २.१ प्रतिशत छन् । २.७ प्रतिशतले थाहा नभएको उत्तर दिए, २.१ प्रतिशतले भन्न चाहेनन् । तोकिएको अवधिमा चुनाव हुँदैन भन्नेमा सबैभन्दा धेरै मुस्लिम ६६.७, मधेशी ६४.३ तथा पहाडी ४५.७ प्रतिशत छन् ।

‘चुनाव भएमा कुन दललाई मत दिनुहुन्छ ?’ भन्ने प्रश्नमा ३८ प्रतिशतले कुनै पनि दललाई भोट दिने प्रष्टता देखाएनन् । १९.३ प्रतिशतले भन्न चाहन्न र १८.७ प्रतिशतले थाहा नभएको जवाफ दिए । यद्यपि कांग्रेसलाई मत दिने २३, एमालेलाई १४.२, एमाओवादीलाई १२.६, राप्रपा नेपाललाई ५.३ र मधेशवादी दललाई ५.१ प्रतिशतले भोट दिने बताए । अहिलेकै प्रक्रियाको निर्वाचनको विरोधमा रहेको वैद्य माओवादीलाई मत दिन्छु भन्ने १.३ प्रतिशत मात्र भेटिए ।

एमाओवादीलाई भोट दिन्छु भन्नेमा सबैभन्दा धेरै पश्चिमाञ्चलका १६, कांग्रेसलाई दिन्छु भन्नेमा सबैभन्दा धेरै मध्यपश्चिमाञ्चलका ३२ र एमालेलाई दिन्छु भन्नेमा सबैभन्दा धेरै पश्चिमाञ्चलका २० प्रतिशत छन् । एमाओवादीलाई मत दिन्छु भन्नेलाई किन ? भनी सोधिएको प्रश्नमा ४६.८ प्रतिशतले संविधान बनाउँछ भनेर बताए । २७.७ प्रतिशतले सिद्धान्त मन परेर तथा २१.३ प्रतिशतले अरूभन्दा राम्रो भएर भन्ने जवाफ दिए । कांग्रेसलाई मत दिन्छु भन्नेमध्ये ४४.२ प्रतिशतले सिद्धान्त मन परेर, १७.४ प्रतिशतले संविधान बनाउँछ भनेर तथा ३२.६ प्रतिशतले अरूभन्दा राम्रो भएकाले भन्ने बताए । एमालेलाई मत दिन्छु भन्नेमध्ये ३९.६ प्रतिशतले अरूभन्दा राम्रो भएकाले, ३०.२ प्रतिशतले सिद्धान्त मन परेर तथा २६.४ प्रतिशतले संविधान बनाउँछ भनेर मत दिने बताए ।

यस पटकको चुनावमा कुनै एक दलको बहुमत आउला कि नआउला ? भनेर सोधिएको प्रश्नमा बहुसंख्यक ५७.८ प्रतिशतले कसैको पनि बहुमत नआउने विचार राखे । २५.७ प्रतिशतले थाहा नभएको तथा १६ प्रतिशतले कुनै एउटा दलको बहुमत आउँछ भन्ने जवाफ दिए । कुनै एक दलको बहुमत आउँछ भन्नेलाई सोधिएको कुन दलको बहुमत आउला जस्तो लाग्छ ? भन्ने प्रश्नमा कांग्रेस भन्ने ३५, एमाओवादी भन्ने ३०, एमाले भन्ने १३.३, मधेशवादी भन्ने ५ र राप्रपा नेपाल भन्ने ३ प्रतिशत छन् । १० प्रतिशतले थाहा नभएको तथा ३.३ प्रतिशतले भन्न नचाहेको जवाफ दिए ।

comments powered by Disqus

रमझम