२८ माघ - ५ फागुन २०७४ | 11- 17 Febraury 2018

अधिकारीलाई बिर्तै बिर्ता

Share:
  
- ज्ञानमणि नेपाल
पहिलेको भोजपुरभित्र अधिकारी ब्राह्मणलाई सेन राजाहरूले धेरै बिर्ता दिएका रहेछन्।

पहिले साप्सु खोलापूर्व, अरुण पश्चिम, कौशिका उत्तर र साल्पापोखरी दक्षिणको भूभाग भोजपुर कहलाउँथ्यो । पछि ७५ जिल्ला विभाजन हुँदा भोजपुर पश्चिमको अलिकति भाग र पूर्वी ओखलढुंगाको केही भाग जोडेर बीचमा छुट्टै खोटाङ जिल्ला बनाइयो । खोटाङ समेतको पहिलेको भोजपुर जिल्लाभित्र अधिकारी ब्राह्मणलाई सेन राजाले दिएका बिर्ताका ६ वटा लगत र केही सक्कलै मोहरका नक्कल त मैले नै पाएको छु ।

पहिलेदेखि राजकाजमा लागेका र पश्चिम उदयपुरका कार्की ब्राह्मण पनि कश्यप गोत्री अधिकारी लेख्न लागेका हुँदा अधिकारीहरूका बिर्ता भोजपुरमा मात्र छैनन् । पश्चिमतिर दाप्चा धादिङको थाङ्सिन, कवालेक, खिड्सिन आदि ठाउँमा पनि उनीहरूका पुराना बिर्ता छन् भनी अधिकारी बन्धुहरू भन्छन् ।

कश्यप गोत्री अधिकारीका शाखा गोत्र प्रवर पनि अनेक छन् । अरू ब्राह्मणहरूको शाखा गोत्र प्रवर पनि धेरै देखिन्छन् । भट्टोजी दीक्षितको गोत्र प्रवरावली पल्टाएर हेर्दा विश्वामित्र गोत्री हाम्रै नेपाल बन्धुको पनि शाखा गोत्र प्रवर खुट्याई सक्ना छैनन् । भट्टबाट आएका अधिकारीको चाहिं मूल थरबाट स्थानभेदले खिर्सिने, कवाली, थानसिंगे आदि उपथर जोडिएका हुन्छन् ।

पुरानो पण्डित थरबाट दैलेखको नेपाकान्ला बिर्ता पाएपछि नेपाल कहलिएका पाल्पा पश्चिम झ्ल्टिुङ्ग पूर्व सिपामण्डन बिर्ता हुँदै भोजपुर सिक्तेलमा कुश बिर्ता पाएर बस्ता पनि नेपाल थरमा उपथर जोडिएको छैन । अर्को कुरा अधिकारी र कोइरालामा शुरूदेखि नै उपाध्याय, जैसी, बाहुन, खत्रीको भेद फैलिएको देखिन्छ । अन्तको कुरा म भन्न सक्तिनँ, तर भोजपुर कुश बिर्ता गुठी चर्चेर बसेका नेपाल बन्धुहरू करीब २०० वर्षमा सात–आठ गाउँ ढाक्ता पनि एकाध बाहेक जैसी, खत्री देखिएका छैनन् । शुरूमै बिर्ता पाएका जैसी अधिकारीको स्याहामोहर पछि दिनेछु ।

शुभ सेनले मकवानपुर राज्य नटुक्रिंदै बलभद्र अधिकारीलाई दिंग्ला धारापानी बिर्ता दिएका रहेछन् । पछि उनका छोरा महीपति सेनले राज्य छुट्याएर विजयपुरको गद्दीमा आसीन भएपछि कमला पूर्वको माझ्किरात, पल्लो किरातको शासन चलाउन लागे । उनले अरुण नदी नजिक दिंग्लाकोट मुकाममा रहेको वेला बाबु शुभ सेनले बलभद्रलाई दिएको दिंग्ला धारापानी बिर्तामा पाखा, खेत, खर्क समेत थप गरी अर्को बिर्ता संकल्प गरिदिए ।

पहिले शुभ सेनले दिएको धारापानी गाउँ, घडेरी र उनका जेठा छोरा महीपतिले दिएको समेत दुवै बिर्ताको चौरासी कुशको उतार गताङ्कको हिमाल मा प्रकाशित गरेको छु । यो अंकमा महीपति सेनको सकल स्याहामोहरको नक्कल दिएको छु । मेरो संग्रहमा रहेको यस स्याहामोहरमा राजाको मुकाम अरुण तटको दिंग्ला कोट र मिति वि.सं. १७५६ वैशाख वदि १० सोमबार उल्लेख छ । यसको ठीक २० वर्षअघि १७३६ सालमा शुभ सेनले विश्वेश्वर अधिकारीलाई दिंग्ला कोट मध्येकै खेत, खर्क, घडेरी समेत दिएर आफ्नो बिर्ता जानी भोग गर भनिएको छ । यस स्याहामोहरमा फरक के छ भने प्रवानगी बस्ने विध्याचन राई र दलमुखी सहोजित छन्, थर दिइएको छैन । दलमुखी भनेको सेनाप्रमुख होलान् । मोहरको भाका संक्षिप्त छ ।

अब पहिले मकवानी राजा शुभ सेनले विश्वेश्वर अधिकारीलाई दिएको दिंग्लाकोट बिर्ताको स्याहामोहरको उतार प्रस्तुत गर्छु । महीपति सेनको मोहरको विवरण पहिल्यै दिइसकेको छु । महीपति सेनबाट चारकिल्ला खुलाएर धारापानी कुश बिर्ता पाउने विश्वेश्वर अधिकारी बलभद्र भन्दा अघिका रहेछन् भन्ने सम्म बुझ्यिो । यिनको र अरू नरोत्तम अधिकारी, प्रह्लाद अधिकारी, नारायण अधिकारीहरूको वंशवृक्ष अधिकारी बन्धुहरूकै वंशावलीमा एकरूपता नदेखिएकोले यसै हो भन्न सकिएन ।

महिपति सेनले बिर्ता दिंदाको मुकाम दिंग्लाकोट छ । उनका बाबु शुभ सेनले मकवानपुर राज्यबाटै बिर्ता दिएको हुँदा जनकपुरका रामको नाम सम्झ्ेका छन् । बिर्ता दिंदाको मुकाम चाहिं सिसौदपुर छ । यो कहाँ पर्छ, थाहा छैन तर सिसुवनी भनिएको हो भने चाहिं लहाननेर छ । त्यस्तै, सिसौट भनेको हो भने पहिलेको रौतहट र, हाल सर्लाहीको हुनुपर्छ ।


शुभ सेनले विश्वेश्वर अधिकारीलाई दिएको दिंग्ला बिर्ताको स्याहामोहर

वि.सं. १७३६

शुभ सेन लेखिएको छाप

श्री राम १

स्वस्ति श्री रूपनारायणेत्यादि विविधविरूदावलीविराजमान–मानेन्नतमहाराजाधिराज हिन्दुपति राजराजेश्वर श्रीश्री शुभसेन देवानाम् सदा समरविजयिनाम्

विश्वेश्वर अधिकारीके कुशविर्ति दिहल दिंग्ला कोट मध्ये दुसैभोरि ? खेत १ एक दिहल अपन विर्ति वदि अमल करथु घर्‍याडि दिहल शुधा ( ?) औ खरक

इति सम्वत् १७३६ साल माह दोसर्व ? वदि तौ ५ रोज मोकाम सिसौदपुर प्रवानगी विध्याचन राये सहोजित दलमुखि

महीपति सेनले बलभद्र अधिकारीलाई दिएको स्याहामोहर

छाप

श्रीलक्ष्मीनारायण १ श्रीवराहजीव १

स्वस्ति श्रीरूपनारायणेत्यादि विविध विरूदावलिविराजमान मानोन्नत महाराजाधिराज हिन्दुपति राजराजेश्वर महाराजकुमार श्रीश्रीमहीपतिसेन नरेन्द्रदेवानाम् सदा समरविजयिनाम्

बलभद्र अधिकारीके कुसविर्ता दिहल दिंग्लाकोट मध्ये धारापानी घर्‍याडि १ आपन कुशविर्ति जानी वसथु वसावथु खाथु अवल करथु सजल सकट सपथ सत्रिन चतुसिमानकै विछिन्नकै दिहल हुकुम रूजु रव राम इति संवत् १७५६ साल माह वैसाख सुदि १० रोज वार स्वम (सोम) मोकाम दिंग्लाकोट शुभम् अरून तट

comments powered by Disqus

रमझम