“सास्ती थियो है ?”
“अहिले सुविधा भयो तर, जोखिम पनि बढेको छ । सडक बनेपछि दुर्घटनामै सयौंको ज्यान गइसक्यो ।”
सुर्खेतबाट उत्तर लागेपछि दश वर्षअघि खुलेको राजमार्ग कर्णाली नदीको तीरैतीर अगाडि बढ्छ, दैलेख कालिकोटहुँदै जुम्लासम्म । सडकलाई नहेरेर पर–पर आँखा पुर्याउने हो भने नदीको तीर मनोरम छ, जुम्लासम्मै ।
कर्णाली नदीमाथिको ठाडो भीर खोलेर बनाउन खोजिएको यो राजमार्ग अहिलेलाई साँघुरो कच्ची सडक मात्रै हो । सडकमा गरिएको ओटासिल (एक तहको पातलो कालोपत्रे) दुई वर्ष पनि टिकेन, पहिरो रोक्ने व्यवस्था नहुँदा वर्षायाममा सडक बन्द रहन्छ । ९ ठाउँमा बन्नुपर्ने पुलको कुरै मात्र भइरहेको छ ।
र पनि, धेरै ठूलो काम भएको छ, कालिकोटबाट कैलाली पुग्न अब बुद्धिसागरहरूले तीन–चार दिन हिंड्नुपर्दैन । जोखिम भए पनि दिनहुँ मानिस र सामान बोकेका ट्रक, बस, ट्रयाक्टर र जीपहरू सुर्खेत–दैलेख–कालिकोट हुँदै मुगु र जुम्लासम्म ओहोरदोहोर गर्छन् । नेपाल र भारतमा उत्पादित लत्ताकपडा, सिमेन्ट, चाउचाउ र तेलदेखि तरकारीसम्म दुई दिनमै सुर्खेतबाट जुम्ला पुग्छन् । माथिका स्याउ, सिमी, ओखर तिनै गाडी चढेर सजिलै समथर झ्र्छन् । पहाडले किन्ने वस्तु धेरै र बेच्ने थोरै छ ।
सानीघाटबाट सिपखाना
गएको १६ माघमा कालिकोट सदरमुकाम मान्मबाट पश्चिम कर्णाली पारि पर्ने रासकोट नगरपालिकामा लस्करै ९ वटा जीप पुगे यही राजमार्ग आधा छिचोलेर । यसअघि एकैपटक यतिका जीप नपुगेकाले पनि रासकोटमा ठूलै रमिता भयो । जीप हाँक्नेदेखि त्यसमा चढेर त्यहाँ पुग्नेहरूले बाजागाजासहितको स्वागत पाए, विकास भएको भन्दै स्थानीयले जयगान गाए ।
आवश्यकता र विकास पनि हो सडक, तर यसलाई आम्दानीसँग जोड्न सक्नुपर्दोरहेछ । त्यसैले र्यापको जयगान भएको रहेछ । मानव विकास सूचकांकमा निकै पछाडि परेको जिल्ला कालिकोटमा स्थानीय उत्पादनले वर्षभरि खान पुग्दैन । यहाँका अधिकांश मानिस खेतीको सिजनपछि मजदूरी गर्न कालापहाड (भारत) जान्छन् । तीन वर्षसम्म सानीघाट–स्युना–सिपखाना १८ किमी सडक बनिरहँदा चाहिं रासकोट क्षेत्रका मानिसहरू कालापहाड (भारत) जानु परेन । डोजर, एक्सकाभेटर जस्ता यन्त्रको साटो कुटोकोदालोबाटै सडक खनिएकाले स्थानीयवासीले काम पाए ।
सडक निर्माणमा कम्तीमा ३३ प्रतिशत महिला अनिवार्य सहभागी गराइएको र समान ज्याला दिइएकाले महिलाहरूको हातमा पनि रकम आयो । पहिले त रुपैयाँ चिन्नै गाह्रो भएको रासकोट–६ कि मेमकुशा शाहीले बताइन् । “अहिले त पैसा पनि चिनियो, दुई चार रुपैयाँका लागि लोग्नेमान्छेको मुख ताक्नु पनि परेन” उनले भनिन्, “हातमा पैसा पर्न थालेपछि गाउँमा महिलामाथि हिंसा पनि घटेजस्तो छ ।”
सडकको कामले आम्दानी हुन थालेपछि थुप्रैले छोराछोरीलाई विद्यालयमा नियमित बनाए । रासकोट–२ बुद्धिसैनकी रंगीता शाहीले त छोरालाई पढ्न बुटवल पठाइन् । यो सडक अहिले कर्णाली क्षेत्रको नमूना बनेको छ । कुटोकोदालाले खनिएको सडकमा घुम्तीहरू फराकिला छन् । माटोको राम्रो व्यवस्थापन भएको छ । पहिरो खस्न नदिन पर्याप्त व्यवस्था मिलाइएको छ । सडक छेउका धारा, विद्यालयसमेत मर्मत गरिएका छन् ।
तर सडक निर्माण सकिएसँगै आम्दानीको बाटो बन्द भएको छ । डीएफआईडीको आर्थिक सहयोग र स्थानीय विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको संयोजनमा रहेको र्याप थ्रीको यो कार्यक्रम सम्पन्न भइसकेपछि अब फेरि भारत नै जानुपर्ने हो कि भन्ने चिन्ता छ, स्थानीयमा ।
यद्यपि, सडक खनेका सबैले ज्यालाको १० प्रतिशत अनिवार्य बचत गर्नुपर्ने प्रावधान अनुसार करीब रु.३ करोड जम्मा भएको छ । त्यसबाट सहकारीमार्फत आयआर्जनको काम गर्ने योजनामा छन्, स्थानीय । र्यापले तरकारी खेती, बीउ उत्पादन र बचतका उपाय पनि सिकाएको छ । तर त्यो पर्याप्त देखिंदैन ।
करीब रु.३३ करोडको लागतमा सम्पन्न सानीघाट–स्युना–सिपखाना सडकले यस क्षेत्रका १२ गाउँलाई हुम्लासम्म पुग्ने निर्माणाधीन कर्णाली कोरिडोरसँग जोडेको छ । कर्णाली कोरिडोरले कर्णाली राजमार्गमा जोडेको छ । तर कर्णाली नदीमा पुल नहुँदा फेरीबाट उता पुगेका गाडीहरू उतै रोकिन्छन् । पैदल यात्रुले राजमार्ग भेट्न झेलुङ्गे पुल तर्नुपर्छ ।
कालिकोटको माथिल्लो भेगमा स्याउ खेती भर्खर विस्तार हुँदैछ । केही ठाउँमा धमाधम ओखर रोपिंदैछ र विस्तारै पशुपालन पनि बढ्दैछ । ठाडो भिरालो चट्टानी जमीन भएको यो ठाउँमा असाध्यै गरीबी छ । कालिकोटका अरू ठाउँभन्दा हरिलो–भरिलो देखिने रासकोटका नवराज महताराले तरकारी राम्रोसँग खान पनि सडक बनेपछि नै सिकेको बताए । महतारा भन्छन्, “सडकले आम्दानी बढ्यो, विकास आयो, देख्यौं जान्यौं ।”
सडकले धेरै देखायो, सिकायो तर अब आम्दानी कसरी बढाउने भन्ने छट्पटी छ, उनीहरूमा ।