६-१२ फागुन २०७४ | 18-24 Febrauary 2018

घरमै व्यायाम

Share:
  

बिक्रम राई
सुदन देवान ।
कृषि कर्म र शारीरिक श्रम गर्नेका लागि व्यायाम अत्यावश्यक नहुन सक्छ । तर, कार्यालय धाउने मानिसका लागि व्यायाम नभई नहुने चीज हो । त्यसैको महत्व बुझेर शारीरिक व्यायामका लागि धेरै ठाउँमा जीम हल, हेल्थ क्लब, फिटनेस सेन्टर खुलेका छन् । तर, व्यस्त शहरी जीवनशैलीका कारण चाहेरै पनि धेरैजसो यस्ता ठाउँमा पुग्न सक्दैनन् । पुगिहाले पनि नियमित हुँदैन । त्यसो भए उपाय के त ?

“घरमै व्यायाम सामग्री राख्नुको विकल्प छैन”, काठमाडौं हाँडीगाउँका सुदन देवान (४६) भन्छन् । चाबहिलमा कपडा पसल सञ्चालन गर्ने देवान तीन वर्षदेखि घरमै ट्रेडमिलमा दौडिइरहेका छन् । उठ्नेवित्तिकै दौड्न स्वयंलाई प्रेरित गर्ने ध्येयले उनले सुत्ने कोठामै ट्रेडमिल राखेका छन् ।

उच्च रक्तचाप र मधुमेहको समस्या देखिएपछि स्वास्थ्यप्रति सचेत बनेका देवान अहिले कम्तीमा दिनको २० मिनेट दौडन्छन् । “पहिले जिन्दगी अस्तव्यस्त थियो, अहिले त ट्रेडमिल देख्ने बित्तिकै उठेर दौड्न मन लाग्छ”, उनी भन्छन् ।

“सामान्य शारीरिक अभ्यास गर्नेले दैनिक ३० मिनेटदेखि एक घण्टा व्यायाम गर्नुपर्छ”, एथलेटिक्स खेलाडी तथा व्यायाम प्रशिक्षक ज्ञाननारायण महर्जन (४०) भन्छन् । पछिल्लो समय तन्दुरुस्तीमा ध्यान दिनेको संख्या पनि बढेको महर्जन बताउँछन् ।

सामान्य अर्थमा शरीरका मांसपेशी तन्काउने, खुम्च्याउने कार्य नै व्यायाम हो । जीउ बनाउने, तन्दुरुस्त रहने तथा स्वस्थ रहन गरिने व्यायामका प्रकार पनि फरक फरक हुन्छन् । त्यसकारण व्यायाम गर्नुअघि उद्देश्यमा प्रष्ट हुनुपर्छ । र, उद्देश्य अनुसार कुन र कति व्यायाम ठीक हो भन्ने कुरा थाहा पाउनुपर्छ । यसका लागि विशेषज्ञको सल्लाह लिन सकिन्छ ।

घरमै सामान्य व्यायाम गर्नेका लागि बजारमा डमबेल, ट्रेडमिल, बेञ्च प्रेस, पुल डाउन मेशीन, हाइपर, साइकल, बाइक, स्ट्रेचिङ मेशीनलगायतका सामग्री उपलब्ध छन् । एउटै सामग्रीबाट पनि धेरै प्रकारका व्यायाम गर्न सकिन्छ । घरमै उपकरण राखेर अभ्यास गर्नेले चलाउने विधिबारे राम्ररी जान्नुपर्छ ।

व्यायाम जुनसुकै समयमा गर्न सकिन्छ । तर, विशेषतः बिहान व्यायाम गर्दा दिनभर ताजापनको अनुभूति हुने गर्छ । सुतेर उठ्दा शरीरका मांसपेशी खुम्चने भएकाले पनि बिहानै व्यायाम गर्नु वैज्ञानिक मानिन्छ । खानेकुरा खाइसक्नेबित्तिकै भने व्यायाम गर्नुहुन्न । जाडो समय र कडा खालका व्यायाम गर्नुअघि केही समय ‘वार्म अप’ गर्नुपर्छ । साँझ भने सुत्नु तीन घण्टा अगाडि नै व्यायाम गरिसक्नु उपयुक्त मानिन्छ । “शरीर स्वस्थ र फिट राख्न व्यायामसँगै खानपानमा पनि विशेष ध्यान दिनुपर्छ” महर्जन भन्छन्, “कार्बोहाइड्रेट, फ्याट र प्रोटिन भएका सन्तुलित खाना खानुपर्छ ।”

सविता श्रेष्ठ

comments powered by Disqus

रमझम