९ भदौ २०७० | 25 August 2013

चासो चर्पी र चूलोको

Share:
  
- कुन्द दीक्षित
चर्पी र चूलोलाई आधुनिक बनाउने हो भने धेरै नेपालीलाई अकाल मर्नबाट जोगाउन सकिन्छ ।

तस्वीरहरूः कुन्द दीक्षित
गौरीदेवी भाट (३५)
जीवनमा गर्नैपर्ने दुई वटा कामः खाने र दिसा बस्ने । दुई वटै क्रियाकलाप अनिवार्य भए पनि दुवैका बारेमा हामी धेरै नसोचेर सहज रूपमा लिन्छौं । पत्रपत्रिकामा कृषि र खाद्यान्नको बारेमा सूचना आयो भने पाना पल्टाउँछौं भने टीभीमा चर्पीको चर्चा आउँदा नाक खुम्च्याएर च्यानल बदल्छौं ।

हरेक नेपालीको घरपरिवारमा हरेक दिन प्रयोग हुने चूलो र चर्पी जीवन–मरणको विषय भए पनि थोरैले मात्र त्यसबारे ध्यान दिन्छन् । नेपालको ८० प्रतिशत घर–आँगनका चूलामा दाउरा, छेस्का, गुइँठा बालिन्छ । हिमाल, पहाड र तराईमा खाना पकाउने चूलोबाट निस्कने धूवाँका कारण निमोनिया र फोक्सो सम्बन्धी रोग लागेर हरेक वर्ष १० हजार बालबालिकाको मृत्यु हुन्छ । हिउँदमा गुम्सेर घरभित्रै बस्नुपर्ने हुँदा धूवाँबाट अरू वेलाभन्दा बढी निमोनिया हुन्छ । चूलोनिर अधिकांश महिला नै बस्ने भएकाले धूवाँले छाती र आँखामा ल्याउने रोग पनि महिलालाई नै बढी लाग्छ । यति धेरै नेपालीहरूलाई प्रत्यक्ष असर पार्ने, महिला, बालिकालाई हानि गर्ने चूलोको बारेमा भने मिडियामा कमै चर्चा भएको पाइन्छ । जबकि, आठ प्रतिशत मात्र नेपालीले प्रयोग गर्ने मट्टीतेल र ग्याँसका बारेमा पत्रिकामा पानाका पाना छापिन्छ ।

बाबुराम भट्टराई सरकारले अबको चार वर्षभित्र नेपालका सबै घरमा धूवाँ नआउने र दाउरा कम लाग्ने सुधारिएको चूलो प्रयोगमा ल्याउने निर्णय गरेको थियो । नेपालको ३५ लाख ग्रामीण घरहरूमध्ये १० लाखमा नयाँ प्रविधिको चूलो प्रयोगमा आइसकेको छ ।

डडेल्धुराको डोमाडाका सबै ११५ घरधुरीमा ‘रकेट’ प्रविधिको नयाँ चूलो गत एक वर्षमा जडान गरिएका छन् । रु.४०० मात्र पर्ने यो चूलोले दिने फाइदाहरू अनगिन्ती छन्ः दाउरा आधा लाग्छ, खाना पकाउने समय आधा घट्छ, धूवाँ नआउने भएकाले महिला र बालबालिकाको स्वास्थ्यमा सुधार आएको छ, महिलाहरूको दाउरा खोज्ने, बोक्ने र भाँडा अनि लुगा धुने चटारो कम हुन्छ । यो चूलो नहुँदासम्म ४० वर्षीया यशोदा ताम्राकार दैनिक ६ घण्टा लगाएर जंगलमा दाउरा खोज्थिन् र ५० किलोसम्म दाउराको भारी बोकेर ल्याउँथिन् । यशोदा जस्ता सुदूरपश्चिमका धेरै महिलाको धपेडी एउटा मामूली चूलोले हल गरेको छ । “यो रकेट चूलोले त हाम्रो जिन्दगी नै फरक पारेको छ”, डोमाडाकी गौरी देवी भाट भन्छिन्, “पैसा, समय, काम सबै कम पार्दै हाम्रो आयु पनि बढाएको छ ।” रकेटको प्रविधि साधारण, सस्तो र जडान गर्न सजिलो छ । गाउँघरकै फलामे पसलमा फलामको ट्यूव बनाएर त्यसमा माटोले लिपेपछि झ्ट्ट हेर्दा परम्परागत जस्तै देखिने यो चूलो बन्छ । चूलोको मुखमा दाउरा र हावा छिर्ने ठाउँ अलग हुने भएकाले पर्याप्त हावा छिर्दा आगोको राप बढी आउँछ भने धूवाँ निस्किंदैन । राप बढी भएको आगोले धूवाँलाई खाइदिने हुनाले अरू सुधारिएको चूलोलाई जस्तो यसलाई चिम्नी पनि चाहिंदैन । यस कारण पनि रकेट चूलो अरूभन्दा सस्तो पर्छ ।

मैले ६ घण्टा लगाएर दैनिक ५० केजी दाउरा ल्याउँथें । अहिले त्यसको लागि हप्ताको एक पटक मात्र दिए पुग्छ । यशोदा ताम्राकार (४०)
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका डा. गोविन्द पोखरेलका अनुसार यो वर्ष ३३ जिल्लामा २ लाख ५० हजार धूवाँरहित चूलो जडान हुँदैछन् । “यही गतिमा विस्तार हुँदै जाने हो भने २०१७ को लक्ष्य पूरा हुन्छ”, पोखरेलले हिमाल सँग भने । चूलो जडान अभियानमा सहयोग गर्न नेदरल्याण्डका एसएनभी, आईयूसीएन र डब्ल्यूडब्ल्यूएफ लागिपरेका छन् । एसएनभीका सरोज राईका अनुसार सरकारले यो अभियानलाई प्राथमिकतामा राख्ने हो भने, दशौं हजारको ज्यान जोगिन्छ र नेपालको ग्रामीण विकासमा अकल्पनीय प्रगति हुनेछ । राई भन्छन्, “सरकारले ग्याँसको लागि अर्बौंको अनुदान दिएको छ, तर यो सस्तो र साधारण प्रविधिले त्योभन्दा धेरै बढीको जीवनमा परिवर्तन ल्याउन सक्छ ।”

चूलो ओझेलमा परेकैले चर्पी पनि ओझेलमा परेको हो । यो प्रविधि र अभियानले ग्रामीण नेपालका खासगरी गरीब महिला र बालबालिकालाई लक्ष्य गरेकोले पनि ओझेलमा परेको हुन सक्छ । तर, काठमाडौंका शासकले धेरै ध्यान नदिए पनि जिल्ला र गाविसमा भने चूलो र चर्पीको लहर चलेको छ । सन् २०१७ मा पूरा गर्ने सरकारको अर्को लक्ष्य हो, नेपालका ७५ वटै जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्नु । धूवाँ नआउने चूलोले बालबालिकालाई निमोनियाबाट जोगाए जसरी नै खुला दिसापिसाब नगर्ने र हात धुने बानी बसाल्दा झडापखाला, टाइफाइड र हैजा जस्ता महामारी फैलन रोकिन्छ । नेपालमा हरेक दिन झडापखालाले पाँच वर्षमुनिका पाँच जना बालबालिकाको ज्यान लिन्छ । नेपालको जनसंख्याको ७० प्रतिशतमा टेलिफोन/मोबाइलको पहुँच पुगेको छ तर, चर्पीको पहुँच ६० प्रतिशतमा मात्र छ । २० वर्षअघि १० प्रतिशत नेपालीले मात्र ट्वाइलेट प्रयोग गर्ने गरेको तथ्यले भने अहिले प्रगति भएको नै देखाउँछ ।

काठमाडौं जिल्ला खुला दिसामुक्त घोषणा नहुँदै अछाम जिल्ला सुदूरपश्चिमको पहिलो खुला दिसामुक्त जिल्ला भर्खरै बनेको छ । चर्पी बनाउँदा कति फाइदा हुन्छ भन्ने अछामको मंगलसेनबाट ४० किलोमिटर टाढाको भागेश्वर गाविसलाई हेरे पुग्छ । “पाँच वर्षअघिसम्म पनि जताततै दिसा डुङ्डुङ्ती गन्हाएर यो बाटो हिंड्नै नहुने हुन्थ्यो”, रतन बोहरा भन्छन् । सामुदायिक वनको बीचबाट अघि बढ्ने त्यही बाटो अहिले सफा र रमणीय बनेको छ । तीन वर्षअघिसम्म भागेश्वरको स्वास्थ्य चौकीमा आउने बिरामीको आधारमा झडापखाला त्यहाँको नम्बर १ रोग थियो, अहिले यो नम्बर १२ मा झरेको छ । भागेश्वरमा ९० प्रतिशत स्कूल भर्ना, १०० प्रतिशत खोप कार्यक्रम छ, कुपोषण, बालविवाह, घरेलु हिंसा र छाउपडी निर्मूल पारिएको छ । भागेश्वरका उपलब्धिहरू राष्ट्रियस्तरमा परिणत गर्ने हो भने नेपाल अल्पविकसित मुलुकबाट तुरुन्तै मध्य विकसितमा पुग्नेथियो । भागेश्वरको यो प्रगति त्यहाँका महिला समूहको जागरुकताले भएको हो । युनिसेफकी मञ्जु वाग्ले भन्छिन्, “भागेश्वरले यत्रो प्रगति हासिल गर्नुको मूल कारण यहाँका महिलाहरूले पुरुषहरूलाई विकासमा आफूसँगै संलग्न गराएर प्रचलित पितृसत्तात्मक सोच बदल्न सक्नु हो ।”

सावित्री बटाला, जानकी बोहरा र लक्ष्मी शर्मा भागेश्वरको विकास अभियानमा जुटेका छन् । तर सावित्रीलाई भागेश्वरमा मात्रै परिवर्तन ल्याएर चित्त बुझेको छैन । “भागेश्वर मात्र खुला दिसामुक्त अथवा छाउपडी मुक्त भएर पुग्दैन । मेरो माइती गाउँ, पूरै सुदूरपश्चिममा प्रगति हुनुपर्यो ।”

अछाम जिल्ला खुला दिसामुक्त भएपछि कालीकोटले पनि सोही घोषणा ग¥यो, र अबको चार वर्षमा सबै जिल्लामा यो लागू हुने लक्ष्य छ । भागेश्वरले जस्तै भाग्यमा विश्वास नगरेर आफ्नो विकास आफैं गरे देशले नै ठूलो फड्को मार्ने निश्चित छ । तर त्यसको लागि चूलो र चर्पीको बारेमा खुला बहस भने हुनुपर्छ ।

comments powered by Disqus

रमझम