९ भदौ २०७० | 25 August 2013

मदिराको लतले बर्बादी

Share:
  
- मीना शर्मा
साथीभाइको सङ्गतबाट पिउन थालेको मदिरा लत बनेपछि जीवन र परिवार भताभुङ्ग भएका धेरै छन् ।

अत्यधिक रक्सी सेवनले बेहोश भएका काठमाडौंका दलबहादुर कार्की (५१) (नाम परिवर्तन) लाई १३ साउनमा परिवारका सदस्यले शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याए । सात वर्षको उमेरदेखि मदिराको लतमा लागेका कार्कीको बिहानी मदिराबाटै शुरू हुन्थ्यो । पछिल्लो समय बोली समेत नबुझ्निे अवस्थामा पुगेका उनलाई उपचारमा संलग्न डाक्टरले रक्सी छाड्न सल्लाह दिएका छन् । २२ साउनमा अस्पतालमै रहेका उनले भने “रक्सी पिउँदा परिवारकै समस्या बनेको मलाई अहिले मात्र महसूस भएको छ ।”

सरकारी कार्यालयमा कम्प्युटर इन्जिनियर रहेका ललितपुरका खसु सिंह (४५) अहिले अल्कोहल पुनर्स्थापना केन्द्र, चोभारमा मदिरा छाड्ने कोशिश गरिरहेका छन् । मदिराको लतमा परेर एकोहोरिने, साना विषयमा पनि रिसाउने, चाहेको तरकारी नहुँदा खानै छाड्ने गर्न थालेका सम्पन्न परिवारका उनलाई मनोविशेषज्ञको औषधिले पनि निको नपारेपछि त्यहाँ पुगेका हुन् । विस्तारै निको हुन थालेपछि घर फर्किने समय पर्खिंदै गरेका उनी भन्छन्, “भदौ पहिलो साता घर फर्केपछि मदिरा पिउनुहुँदैन भन्ने सन्देश फैलाउने निर्णय गरेको छु ।”

घर बिगार्ने कारण

मदिराको लतमा पर्दा घरपरिवार र छिमेकीलाई तनाव हुने महसूस मदिराको लत छाड्ने निर्णय गरेका सिंह जस्ता धेरैले गरेका छन् । २५ वर्षदेखि नियमित मदिरा पिएका काठमाडौंको एक प्रतिष्ठित होटलका मालिक सुनिल सिंह शाह (नाम परिवर्तन) पनि अहिले मदिरा छाड्ने प्रयास गर्दै त्यस्तै सोच्दैछन् । होटलमा आउने पर्यटकको साथ लागेर पिउँदा पिउँदै अम्मली बनेका उनको बिहानी पनि मदिराबाट शुरू हुन थालेपछि यो स्थिति भएको हो ।

क्याम्पस पढ्ने साथीहरूबाट मदिरा पिउन सिकेका काठमाडौंका मोहन थापा (५७) ले तीन वर्षअघि पत्नीको मृत्यु भएपछि मदिरालाई नै जिउने सहारा बनाए । रक्सी पिएर भावुक बन्दा कैयौंलाई गरीब भन्दै पैसा समेत बाँड्न पुगेका उनलाई छोराको सहयोगमा चोभारको पुनर्स्थापना केन्द्र पुगेपछि पछुताउ भएको छ । रातिसम्म मदिरा पिउने र भोलिपल्ट बिहान ह्याङ हटाउने भन्दै फेरि पिउने बानी लागेका उनी पुनर्स्थापना केन्द्रमा तीन महीना बसेर भदौ पहिलो साता घर फर्कंदैछन् ।

साथीहरूको संगतबाट मदिरा पिउन थालेका हस्तकला व्यापारी ललितपुरका विकास अवाले (नाम परिवर्तन) (३५) परिवारका सदस्यले नपिउनु भन्दा रीस उठेर झ्न् धेरै पिएकोले लतमा फस्न पुगेको बताउँछन् । बुबाको मृत्युपछि घरको जिम्मेवारी बोक्नुपर्नेमा धेरै कमाइ हुँदा तथा कमाइ नहुँदा पनि पिउन थालेपछि बिरामी बनेका उनी अहिले त्यही पुनस्र्थापना केन्द्रमा छन् ।

रोग बनेको मदिरा

मदिरामा फँसेकालाई नयाँ जीवन दिने अभियानमा रहेको रिचमण्ड फेलोसिप नेपालका कार्यक्रम व्यवस्थापक विष्णु शर्मा मदिरा पिउने फेशनले युवा पुस्तालाई बढी बिगारेको बताउँछन् । मदिरामा लत लागेकालाई सुधार्ने अभियानमा १७ वर्षदेखि संलग्न सो संस्थाले चोभारमा संचालन गरेको पुनर्स्थापना केन्द्रले वर्षमा २०० जना महिला र पुरुषलाई सेवा दिने गरेको छ । त्यसका लागि वर्षमा रु.४० लाख खर्च गर्ने यो केन्द्रमा सुध्रिन आउने कैयौं बिरामी ठाउँ नपाएर फर्कने गरेका छन् ।

तस्वीरहरुः देबकी विष्ट
चोभारस्थित रिचमण्ड फेलोसिप नेपालको अल्कोहल पुनस्र्थापना केन्द्रमा मदिरा छाड्ने कोशिश गर्दै ।
म्यूजिक अल्कोहल, कन्सर्ट अल्कोहल जस्ता किशोर र युवाबीच लोकप्रिय कार्यक्रमले मदिरा पिउन सिकाएको रिचमण्डको अध्ययनले देखाउँछ । त्यसरी रमाइलोमा पिउनेहरू विस्तारै थाहै नभई लतमा फँसेर रोगी बन्ने शर्मा बताउँछन् । १३ वर्षदेखि सडक बालबालिकाको क्षेत्रमा काम गरेको संस्था भ्वाइस अफ चिल्डे«नका प्राविधिक सल्लाहकार राजु घिमिरे बेघरबार बालबालिकामध्ये ५० प्रतिशत अभिभावकले अत्यधिक मदिरा सेवन गरेका कारण त्यो स्थितिमा पुगेको बताउँछन् । मदिराको लत बसेका कैयौं बालबालिका त सुधार गृहमा राख्दा पनि पुनः सडकमै फर्किने गरेको उनको अनुभव छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका मनोचिकित्सक तथा सहप्राध्यापक डा. सरोजप्रसाद वझका अनुसार मदिराको लत लाग्दा मानसिक रोग लागिसक्ने भए पनि बिरामीलाई त्यसको उपचार गर्नुपर्छ भन्ने थाहा हुँदैन । शुरूमा केही रमाइलो र उत्तेजना दिने मदिराले विस्तारै मस्तिष्कमा असर पार्दै हातखुट्टा काँप्ने, बर्बराउने र छारे रोग लाग्ने समस्या ल्याउने गर्छ । अत्यधिक मदिरा सेवन गरेर अचेत हुनेहरूलाई हृदयघात, विभिन्न प्रकारका क्यान्सर, कलेजो बिग्रने, ग्याष्ट्रिक, डिप्रेसन, डराउने, निद्रा नलाग्ने र कडा मानसिक रोग लाग्ने गरेको पाइएको छ । त्रिभुवन विश्वविद्यालय मनोविज्ञान केन्द्रीय विभागकी उप—प्राध्यापक सुमाया राई मदिरा सेवनले बालबालिकामा मनोवैज्ञानिक समस्या ल्याउने बताउँछिन् ।

महिलाहरूमा पनि मदिरा पिउने बानी बढेकाले उनीहरूले छोराछोरीलाई खानपान, गृहकार्य र स्वास्थ्यमा ध्यान दिन नभ्याउँदा बालबालिका कुलतमा फस्ने गरेको उनको अध्ययन छ । लामो समयदेखि बालबालिकाको क्षेत्रमा संलग्न संस्था सिविनका कार्यक्रम व्यवस्थापक शुभराज पोखरेल मदिरा सेवन गर्नेका छोराछोरीले पढ्न नपाउने, आफैं बाँच्ने उपाय खोज्नुपर्दा काम गर्न र चोर्न जान बाध्य हुने र नराम्रो कुरा सिक्दै आपराधिक गतिविधिमा पनि संलग्न हुने गरेको बताउँछन् । सिविनको अध्ययनले पारिवारिक कलह, सडक दुर्घटना, घरेलु हिंसा, आत्महत्या र सामाजिक अपराधको एउटा महŒवपूर्ण कारण मदिरा रहेको देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विकासोन्मुख देशमा धेरै मृत्युदर हुनुको प्रमुख कारण मदिरा सेवन नै रहेको देखिन्छ । विकसित देशमा भने मदिरा सेवन मृत्यु हुने तेस्रो कारणमा पर्दछ ।

मदिरा उत्पादन

आर्थिक सर्वेक्षण २०६९/७० अनुसार नेपालमा १ करोड ५७ लाख ४३ हजार लिटर हल्का पेय पदार्थ, ३९ लाख २४ हजार लिटर बियर, १ करोड ३० लाख ५६ हजार लिटर मदिरा उत्पादन भएको छ । बियरको वर्षेनि १० प्रतिशत र रक्सीको १५ प्रतिशत बजार विस्तार भएको त्यही सर्वेक्षणले देखाउँछ । आर्थिक वर्ष २०६९/७० मा रक्सीबाट रु.८ अर्ब ४६ करोड र बियरबाट रु.४ अर्ब ८४ करोड गरी रु.१३ अर्ब ३० करोड राजस्व उठेको छ । आन्तरिक राजस्व विभागका प्रमुख टंकमणि शर्मा मदिराको कारण समुदायमा बढ्दै गएको विसंगति हटाउन विभागले गुणस्तरहीन मदिरा नियन्त्रण गरेको बताउँछन् । राजस्वमा मात्र ध्यान दिंदा मदिराको कारण समुदायले व्यहोर्नु परेको क्षति ठूलो भएकाले राज्यले नियन्त्रणमा पनि ध्यान दिने उनको भनाइ छ ।


‘रक्सीले बिगारेपछि हाम्रो घर सप्रिएन’

कहिले जन्मिएँ भन्ने मिति ठ्याक्कै थाहा नभए पनि ८ कक्षा पढ्दा नाम सच्याउने क्रममा जन्ममिति वि.सं. २०५१ लेखेकाले त्यो अनुसार म १९ वर्ष पुगें । अहिले व्यवस्थापनमा ११ कक्षा पढ्दैछु । मेरो घर दाङ भए पनि जन्मस्थान र आफन्तबारे मलाई केही थाहा छैन । मैले थाहा पाएदेखि आमा र बुबा दुवैले अत्यधिक रक्सी पिउनुहुन्थ्यो । घर झगडामा बुबाले आमालाई सधैं पिट्नुहुन्थ्यो । छोराछोरीलाई माया गर्ने, समयमा खान दिने जिम्मेवारी उहाँहरूले कहिल्यै निर्वाह गर्नुभएन । रक्सी धेरै पिएर २०५८ सालमा बुबाको मृत्यु भयो । तर, आमाले रक्सी पिउन छोड्नु भएन । घरमा खाने कुरा नपाएपछि म सधैं साथीहरूसँग माग्न हिंड्थें । माग्ने, चोर्ने र नदिनेलाई पिटपाट गर्ने हाम्रो काम थियो । ६ वर्षको हुँदा एक दिन ठमेलमा केही साथीसँग मिलेर माग्दा कसैले नदिएपछि हामी चोर्न हिंड्यौं । त्यही वेला एक जना विदेशी महिलाले मलाई त्यहाँबाट एउटा आवास गृहमा लग्नुभयो । त्यहाँको वातावरणले मलाई विस्तारै बदल्यो । म पढ्न थालें । उता, गत वैशाखमा रक्सीको कारण ५० वर्षको उमेरमा आमाको मृत्यु भयो ।

ती विदेशी महिलाले मलाई उद्दार नगरेको भए म अहिले सडकमा हुन्थें । बुबाआमाले रक्सी पिउने गरेकाले हाम्रो परिवार बिग्रियो । दाजु र भाइसँग अहिले पनि भेट हुँदैन । म अहिले ‘भ्वाइस अफ द चिल्ड्रेन’ नामक संस्थाको सहयोगमा काठमाडौंमा पढिरहेकी छु । १२ उत्तीर्ण गरेपछि यहीं काम गर्न पाउने भएकाले आफू जस्ता सडक बालबालिकाको हितमा काम गर्ने मेरो लक्ष्य छ । धेरै रक्सी पिएर छोराछोरीको भविष्य नबिगार्न सबै अभिभावकलाई मेरो सल्लाह छ ।


‘रक्सी खाने आमाबुबा कसैका नहुन्’

सुनिल केसी (नाम परिवर्तन)
म अहिले १२ वर्षको भएँ । सानो छँदै बुबाआमासँग काठमाडौं आएपछि दोलखामा रहेको घरमा म गएको छैन । आमाबुबा दुवै जना ईंटा भट्टामा ज्यामी काम गर्नुहुन्थ्यो । दिनभरि कमाएको पैसाले बुबा रक्सी पिउनुहुन्थ्यो र आमालाई पिट्नुहुन्थ्यो । दिनभर सँगै काम गरे पनि आमाले घर आएर बहिनी र मलाई खाना बनाएर खुवाउनुहुन्थ्यो । बुबाले धेरै पिट्न थालेपछि आमाले अर्को विवाह गर्नुभयो । बहिनीलाई उहाँले सँगै लैजानुभयो, मलाई छाडेर । आमा अहिले कहाँ हुनुहुन्छ मलाई थाहा छैन । आमा भागेपछि बुबाले झन् धेरै रक्सी पिउन थाल्नुभयो । त्यसपछि म सडकमा पुगें । त्यही वेला ‘भ्वाइस अफ द चिल्ड्रेन’ नामक संस्थाको सरले मलाई यहाँ ल्याउनुभयो । अहिले मजस्तै २८ जना साथीसँग बस्छु ।

एक महीना पहिला मलाई भेट्न आउँदा पनि बुबाले रक्सी पिउनुभएको थियो । केही महीना पहिला रक्सी पिउन सामान चोर्दा मानिसहरूले उहाँलाई पिटेको मैले थाहा पाएँ । अहिले उहाँ ललितपुरको सडकमा दिनभरि फोहोर बटुल्दै बिहानदेखि रातिसम्म रक्सी पिउँदै सडकमै बस्नुहुन्छ । अहिले मलाई लाग्छ, रक्सी पिउने आमाबुबा कसैका नहुन् ।

comments powered by Disqus

रमझम