गगनसिंह थापाको भर्खरै प्रकाशित पुस्तक कर्णालीको छेउछाउ मा १० वर्षे द्वन्द्वले पारेको प्रभावको एउटा प्रसंग हो, यो । माओवादी र राज्य दुवै पक्षबाट सर्वसाधारणले पाएको हैरानीबारे थापा लेख्छन्, “त्यतिवेला नेपाली जनजीवन दुई ढुंगाबीचको तरुल भएको थियो ।”
१५÷१६ हजार नेपालीको हत्या गरेर, अर्बौं लूटपाट गरेर कसले के पायो ? विस्थापित परिवार स्थापित हुन सकेका छैनन् । अपाङ्ग, घाइतेको अवस्था उस्तै छ, मल्हमपट्टी पाएका छैनन् । राहतका लागि दातृ निकायले दिएको रकम आफैं कुम्ल्याउँछन्, पीडकहरू । थापा त्यहाँ प्रश्न गर्छन्, के तिमीहरूको छातीभित्र च्वास्स बिझ्दैन, उनीहरूको चहराइरहेको त्यो घाउ ? साम्यवादी, जनवादी फल टिप्न प्रयोग गरिएको लासको सिंढी चढेको रूखमा त प्रजातन्त्र र लोकतन्त्रका मीठा फल रहेछन् । आज त्यही स्वादिष्ट फल खान हतार भइरहेछ, तँछाड–मछाड भइरहेछ, लुछाचुँडी भइरहेछ भनेर माओवादीको हिंसात्मक विद्रोहमाथि व्यङ्ग्य गरेका छन्, लेखक थापाले । माओवादीबाट पीडित लाखौंमध्येका एक हुन्, लेखक स्वयं पनि । उनको घरबाट माओवादीले गतिला वस्तु लगेर बाँकी सबै सामान जलाएका थिए । यसक्रममा पुस्तकको पाण्डुलिपि समेत खरानी बनाइदिएकोमा आक्रोश पोखेका छन् लेखक थापाले, पुस्तकमा ।
द्वन्द्वसँगै कर्णाली छेउछाउको जनजीवन र संस्कृतिको जीवन्त चित्रण छ, पुस्तकमा । कर्णालीको इतिहास, समाज, राजनीति र पीडा समेटिएको पुस्तकमा सुदूरपश्चिममा व्याप्त आर्थिक दुरवस्था, सामाजिक विषमता र अशिक्षाको चित्रण पनि छ । तीन वर्र्ष प्रहरी सेवामा काम गरेपछि राजीनामा दिएर दुर्गम गाउँमा विद्यालयमा पढाएको वेला छोरीलाई पनि स्कूल पठाऔं भन्ने सन्देश दिन सफल भएको उनको अनुभव छ, त्यहाँ । पुस्तक पढेपछि कर्णाली वरिपरि बसेर त्यहाँको जनजीवनको आफैंले अनुभव गरेको भान हुन्छ पाठकलाई । नूनतेलका लागि १० दिनसम्म हिंडेर हाट जानुपर्ने, कामको लागि भारतका विभिन्न शहर गएर नोकरी गर्नुपर्ने सुदूरपश्चिमको बाध्यता दर्शाइएको छ, पुस्तकमा । बाल्यकालदेखिका घटना समेटिएको पुस्तकमा लेखक थापाले जातीय छुवाछूतले समाजमा पारेको असरबारे पनि उल्लेख गरेका छन् ।
समाजमा व्याप्त सबै किसिमका विकृति र विसंगतिलाई औंल्याउँदै संगतिपूर्ण समाज स्थापना हुनुपर्नेमा लेखक थापाको जोड छ । प्रजातन्त्र प्राप्तिपछि पनि कर्णालीमा अभाव, गरीबी र पछौटेपन कायम रहेको र यो क्षेत्रको मुहार फेरिन नसकेकोमा थापाले पुस्तकमा चिन्ता व्यक्त गरेका छन् । ग्रामीण जनजीवनमा बोलिने शब्दको प्रयोगले पुस्तकलाई पठनीय बनाएको छ । तर पनि कतिपय प्रसंगलाई अनावश्यक रूपमा तन्काउँदा पुस्तकको आकार मात्र बढेको पाठकले बुझ्न सक्छन् ।
रामजी दाहाल