९ भदौ २०७० | 25 August 2013

चिल्लो पातको लक्षण

Share:
  
- ऋषिराम कट्टेल

ऋषिराम कट्टेल
मुगुको दुर्गम गाउँ मुगुका हिमग्याप लामा टासी (३६) का धेरै साथी अहिले पनि यार्सागुम्बाको व्यापार गरेर पैसा कमाउँछन् । तर, उनलाई भने पैसाले भन्दा नामको मोहले सानैदेखि तान्यो । त्यही भएर भारतको दार्जीलिङबाट स्कूले शिक्षा सक्ने बित्तिकै नृत्य सिक्न भारतकै धर्मशाला र दिल्ली पुगे । त्यहाँबाट काठमाडौं फर्केपछि त्रिचन्द्र क्याम्पसमा पढ्दै वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठसँग पनि नृत्य सिके ।

राम्रो अध्ययनपछि मात्र राम्रो परिणाम आउने गरी काम गर्न सकिने मान्यता राख्ने उनले निर्देशक प्रताप सुब्बासँग ‘क्लासिक सिनेयुनिभर्स’ मा अभिनय, चलचित्र निर्देशन, क्यामेरा चलाउने प्रशिक्षण लिए । त्यसपछि जर्मनीको प्राइपर्ग फिल्म इन्ष्टिच्यूटबाट तिनै विषयमा ७ महीने कोर्ष गरेलगत्तै अमेरिकाको न्यूयोर्क फिल्म एकेडेमी क्यालिफोर्नियाबाट एकवर्षे फिल्म निर्देशन अभिनय, सिनेमाटोग्राफी, स्क्रिप्ट लेखन र सम्पादन पढे । टासी भन्छन्, “योग्य निर्देशक बनुँ भनेर नै मैले यत्रो मिहिनेत गरेको हुँ ।”

नभन्दै, ती कोर्ष गरेर फिल्म निर्देशनमा आएका उनले गरेका कामको वरिष्ठ निर्देशकहरूबाट समेत प्रशंसा हुन थालेको छ । वरिष्ठ निर्देशक यादव खरेल भन्छन्, “टासीको काम हेर्दा नेपाली फिल्म क्षेत्रले प्रतिभाशाली निर्देशक पायो भन्न सकिन्छ ।” “टासी जस्तै अध्ययन, नयाँ सोच र काम गर्ने शैली भएका निर्देशक आए भने नेपाली चलचित्रमा परिवर्तन आउन समय लाग्दैन” अर्का वरिष्ठ निर्देशक प्रताप सुब्बाको विचार छ ।

वरिष्ठहरूबाट हौसला पाएका टासीको काम पनि हौसला दिनुपर्ने खालकै छ । टाउको काटेर वि.सं. २०१० मा प्रहरीले हत्या गरेका किसान आन्दोलनका अगुवा शहीद भीमदत्त पन्तको विषयको चलचित्र उनकै निर्देशनमा बनेको छ । ५०–६० वर्ष अघिको घटनालाई फिल्ममा उतार्नु गाह्रो काम भए पनि टासीले त्यो सफलतापूर्वक गरेको बताउँदै भीमदत्त का निर्माता नवल खड्का भन्छन्, “युवा जोश र काम गर्ने क्षमता देखेरै मैले यो चलचित्र निर्देशन गर्ने जिम्मा उहाँलाई दिएको हुँ ।” भीमदत्तको जन्म गाउँ डडेलधुराको कारी, त्यहींका अरू गाउँ र कर्णाली क्षेत्रमा चलचित्र छायांकन गरिएको छ ।

अमेरिकामा कोर्ष सकेलगत्तै उनले त्यहाँ बसेका भुटानी शरणार्थीको कथामा आधारित चलचित्र भुल्ने पो हो कि निर्देशन गरेका थिए । नायिका प्रियंका कार्कीलाई चलचित्रमा प्रवेश दिएको सो चलचित्रपछि नायिका रेखा थापाले उनलाई चलचित्र काली को निर्देशन गर्न अमेरिका हुँदै प्रस्ताव राखेकी थिइन् । जसलाई माने पनि भीमदत्त सँग समय जुधेपछि गर्न नभ्याएको टासी बताउँछन् । चलचित्र भीमदत्त आफ्नो करिअरका लागि मात्र नभएर नेपाली चलचित्रकै लागि महत्वपूर्ण हुने उनको विश्वास छ ।

अमेरिकामा अध्ययन गरेको वेलामै उनले घरबास नभएकाहरूको विषयमा होमलेस डार्कनेस, नेपालमा दाइजो र बालविवाह सम्बन्धी अनसल्भ फ्याक्ट, तिब्बती शरणार्थी सम्बन्धी फेथ, काठमाडौंदेखि सुर्खेत, मुगु हुँदै तिब्बतसम्मको यात्रा डकुमेन्ट्री भर्जिन अफ हिमालय, काठमाडौंमा ईंटाभट्टाले पारेको असर बारे डिस्ट्रोय काठमाडू जस्ता डकुमेन्ट्री बनाएका थिए । गत असोजमा चलचित्र निर्देशक समाजले लमजुङको घलेगाउँमा आयोजना गरेको फिल्म कार्यशालामा मन्सरी नामक उनले बनाएको छोटो चलचित्र सर्वोत्कृष्ट घोषित भएको थियो । भीमदत्त को पोष्ट प्रोडक्सनको काम गर्दै रहेका टासीले त्यो सक्नासाथ अमेरिका र क्यानाडा गएर चलचित्र सिमलको फूल खिच्नेछन् । जसको कथा उनका गुरु निर्देशक प्रताप सुब्बाले लेखेका हुन् भने अमेरिकामै बस्ने अनुराधा शाह निर्माता हुन् । ऐतिहासिक पात्र भृकुटीको बारेमा प्रिन्सेस भृकुटी बनाउने योजना उनको ड्रिम प्रोजेक्ट हो । जुन आफ्नो करिअर र नेपाली सिनेमाका लागि कोसेढुंगा बन्ने उनको आशा छ ।

ऋषिराम कट्टेल

comments powered by Disqus

रमझम