९ भदौ २०७० | 25 August 2013

कलरफुल राजधानी

Share:
  
- संगम शिल्पकार
झट्ट हेर्दा बुझ्न गाह्रो पर्ने तर सन्देशमूलक चित्रले राजधानीका भित्ता रङ्गिन थालेका छन् ।

ललितपुरको कुपण्डोलस्थित सडकको भित्तामा महाकवि लक्ष्मीप्रसाद देवकोटा र एप्पल कम्पनीका संस्थापक स्टीभ जब्स ।
राजधानीको सडकछेउका पर्खालका खाली भित्तामा पछिल्लो समय सामान्य आँखाले हेर्दा बुझिने र नबुझिने चित्रहरू रंगिएका देखिन्छन् । अंग्रेजी शब्द पनि सँगै लेखिएका ती चित्र कसले र किन बनाएका होलान्, जिज्ञाशा भए पनि धेरैले सोध्ने र बुझ्ने ठाउँ पाउँदैनन् । चिनिएका अनुहार समेत देखिने ती चित्र नेपाल र विदेशका कलाकारले बनाएका हुन् । ती चित्र बनाउने कलाकारहरू राजनीतिक विसंगति र नेताहरूलाई व्यङ्ग्य गर्न तथा चेतना जगाउन यो अभियान थालिएको बताउँछन् ।

१४ जेठ २०६८ मा संविधानसभा विघटन हुने दिन कलाकारहरूको समूह आर्टूडियोले ‘वी मेक द नेशन’ (हामी बनाउँछौं देश) भन्ने नारामा ललितपुरको कुपण्डोलको भित्तामा चित्र बनाएपछि यो अभियान शुरु भएको हो । त्यसपछि कलाकारहरूका विभिन्न समूहले राजधानी र अरु शहरका भित्तामा त्यस्तै चित्र बनाउन थाले । काठमाडौंमा लिच्छविकालदेखि भित्ते चित्र शुरु भएको मानिन्छ । मैथिलभाषी क्षेत्रको मिथिला चित्रकला पनि यसैगरी भित्तामा बनाउने चलन छ । तर, भित्तामा कलात्मक चित्र बनाउने पछिल्लो प्रयोग युवा कलाकारबाट शुरु भएको हो ।

चेतनाको भित्ता

विदेशी कलाकार स्पेस इन्भेडरले सन् २००८ मा नेपालका सडकका भित्तामा चित्र बनाए पनि त्यसले धेरैलाई आकर्षित गर्न सकेको थिएन । फ्रेन्च कलाकार ब्रूनो लेभी, अमेरिकन कलाकार रेन्बो वारियर र छद्म नाम राखेका यती, मिस्टर के जस्ता नेपाली कलाकारले सन् २०११ देखि भूमिगत रुपमा राजधानीका भित्ता रङ्गाउन थाले । ‘बिग फूट’ नामक सो अभियानमा लागेका फ्रेन्च कलाकार लेभी बाहेक सबै कलाकारले आफ्नो परिचय लुकाउन राति चित्र बनाएका थिए । अहिले चित्र बनाइरहेका युवा कलाकारहरूको समूह आर्टूडियो, आर्टल्याब र कलर काठमाडौं तिनै ब्रूनोको सकारात्मक विचार र चेतना दिऔं अनि शहरलाई रमाइलो बनाऔं भन्ने अभियानबाट प्रेरित छ ।

आर्टूडियोले भिजुअल माध्यमबाट समाजका विकृतिलाई सार्वजनिक गर्दै मानिसलाई सचेत बनाउने र सुधार्ने उद्देश्य राखेको छ । त्यसका लागि उसले विभिन्न संस्थासँग मिलेर फोटो, भिडियो, वृत्तचित्र, कला र अन्य मल्टिमिडियामा पनि काम गरेको छ । सो समूहले युनिसेफसँगको सहआयोजना तथा विद्यालय र अरु सहकर्मीसँग मिलेर सन् २०१२ को ‘ग्लोबल ह्याण्ड वाशिङ डे’ मा काठमाडौं, पोेखरा, झापा, जनकपुर, महोत्तरीमा यस्तै चित्र बनाएको थियो । सो समूहले महिलाको पाठेघर झर्ने समस्या, महिला हिंसाको विरोध, विश्व धूम्रपान दिवस, बाल शोषण जस्ता विषयमा पनि भित्तामा चित्र बनाइसकेको छ । ‘आई एम् यू’ (म तिमी हो) भन्ने प्रोजेक्टमा व्यस्त आर्टूडियोलाई पशुपति पेन्ट्सले सहयोग गरेको छ ।

राजधानीको सडकमा चित्र बनाउँदै क्यानेडियन कलाकार डनाए ब्रिसोनेट ।
आर्टूडियोका संस्थापक कैलाश श्रेष्ठ भित्ते कलाले देश र जनतालाई सकारात्मक सोचमा लैजाने बताउँछन् । पैसा कमाउन भन्दा देश र समाजका लागि केही गर्न यो अभियान चलाएको उनको भनाइ छ । भन्छन्, “सार्वजनिक ठाउँ जनतामाझ अन्तरक्रिया गर्ने सीधा माध्यम हो ।”

७५ जिल्ला र प्रसिद्ध अनुहार

सत्या मिडिया आर्टस्ले सन् २०१२ मा शुरु गरेको ‘कलर काठमाडौं’ अभियान जनतालाई देशबारे जानकारी दिन र काठमाडौं शहरलाई रङ्गीन बनाउन केन्द्रित छ । त्यसका लागि उसले ७५ जिल्ला दर्शाउने चित्र काठमाडौं उपत्यकाका ७५ ठाउँका भित्तामा कोर्दैछ । यो अभियानमा स्वदेशी र विदेशी २६ जना कलाकार सहभागी छन् । यो अभियानमा आर्ट ल्याबका कलाकार पनि संलग्न छन् ।

कलर काठमाडौंका संचालक युकी पौडेल राजनीतिक नारा, बन्द, हड्तालका खबर लेखिएर राजधानीका भित्ता फोहोर भएकाले यो अभियान शुरु गरेको बताउँछिन् । अमेरिकाको फिलाडेल्फियामा पढ्दा त्यहाँका भित्तामा सुन्दर चित्र देखेर प्रभावित भएको उनी बताउँछिन् । पौडेलका अनुसार यो अभियान अगष्ट २०१३ सम्म चल्नेछ ।

सहभागिताका लागि कलाकारहरू आह्वान गरेर शुरु गरिएको सो अभियानकी संयोजक प्रीति शेरचन पढाइ, अनुभव भन्दा लगनशीलता र चाहनालाई आधार बनाएर कलाकार छनोट गरिएको बताउँछिन् । नेदरल्याण्डको प्रिन्स क्लज फण्डले सहयोग गरेको सो अभियानमा विदेशी कलाकार पनि सहभागी छन् । अभियानलाई पशुपति पेन्ट्सले ८०० लिटर रङ दिएको छ भने अभियानमा सहभागी हरेक कलाकारलाई रङ र खर्च बाहेक मासिक रु.१४ हजार पारिश्रमिक दिइएको छ । एक वर्षदेखि यस्तै भित्ते चित्र बनाउने अभियानमा लागेको आर्ट ल्याबमा ७ जना कलाकार छन् ।

समाजबाट नकारात्मक सोच हटाउन भित्ते कलालाई माध्यम बनाएको सो समूहका कला निर्देशक आदित्य अर्याल सार्वजनिक ठाउँलाई रोचक तथा आकर्षक पार्दै सार्वजनिक ग्यालरी बनाउने योजना रहेको बताउँछन् भने प्रबन्ध निर्देशक रोमेन भट्टराई यो कलाले मानिसलाई समस्याको समाधान खोज्न प्रोत्साहित गर्ने विचार राख्छन् । कलर काठमाडौं अभियानमा संलग्न यो समूह लक्ष्मीप्रसाद देवकोटा, संगीना वैद्य, पुष्पा बस्नेत, मह जोडी, विनोद शाही, झमक घिमिरे, नारायणगोपाल, पासाङ ल्हामु शेर्पा, सत्यमोहन जोशीका मुहारको चित्र भित्तामा बनाउने ‘प्रसाद’ अभियान चलाइरहेको छ ।

कुपण्डोलबाट सानेपा जाने बाटोमा बनाइएको डोटी जिल्ला नाम दिइएको चित्र ।
जोगाउने चिन्ता

४ मंसीरमा संविधानसभा निर्वाचन हुने चर्चासँगै भित्तामा चित्र बनाउने समूहलाई त्यहाँ बनेका चित्र जोगाउने चिन्ताले सताउन थालेको छ । अहिले नै पनि कैयौं ठाउँका चित्र माथि विभिन्न प्रचार सामग्री र राजनीतिक दलका भ्रातृ संगठनका नारा लेखिन थालिसकेका छन् ।

आर्टूडियोका संस्थापक कैलाश श्रेष्ठ भित्ताका चित्र जोगाउन अरु समूह, चर्चित कलाकार तथा कला सम्बन्धी संघ–संस्थासँग छलफल गर्ने योजना बनाएको बताउँछन् । “उनीहरूसँग छलफल गरेपछि राजनीतिक दल र तिनका भ्रातृ संगठनहरूलाई पनि ती चित्र जोगाउन अनुरोध गर्नेछौं”, श्रेष्ठ भन्छन् ।

शब्द/तस्वीरः संगम शिल्पकार

comments powered by Disqus

रमझम