वर्नरको पुस्तकलाई शुरूमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ), युनिसेफ, क्रिश्चियन मेडिकल कमिसन, युएसएआईडीलगायतका संस्थाहरूले अस्वीकृत गरेका थिए, ‘अल्पज्ञान खतरनाक हुन्छ’ भन्दै । तर मान्छेहरूले यसलाई चलाउन थाले । “किताब फैलियो”, गर्मी छल्न अमेरिकाको क्यालिफोर्नियाबाट न्यू ह्याम्सर राज्यको सिल्भर लेकस्थित पुख्र्यौली घर आएका वर्नरले भने, “अनि डब्ल्यूएचओ र युनिसेफले पनि यसको अंग्रेजी अनुवाद गराउन दिए ।”
यायावरीपछि पुस्तक
वर्नर पेशाले जीव वैज्ञानिक हुन् । उनी क्यालिफोर्नियालाई आधार बनाएर पश्चिमी मेक्सिकोको पहाडी क्षेत्रमा काम गर्छन् । उनी किशोरकालमै विश्व भ्रमणमा निस्किए । २६ अगस्त १९३४ मा ओहायोको सिन्सिन्याटीमा जन्मेका उनले हाईस्कूल तहसम्म त्यहीं पढें । हाईस्कूल नसकिकनै क्यालिफोर्नियाको वनमा झयाउ अध्ययन गर्ने विभागमा काम गरे । वर्नर भन्छन्, “विश्वविद्यालयस्तरको अध्ययन चाहिं अष्ट्रेलियामा सकियो ।”
उनकी आमा म्यासच्युसेट्स राज्यको हार्बर्ड विश्वविद्यालयमा भारतीय कवि रवीन्द्रनाथ ठाकुरको सहपाठी थिइन् । आमासँग ठाकुरको दि क्रेसेन्ट मुन कवितासंग्रह थियो, जुन उनी छोरालाई सुनाउँथिन् । त्यसले उनको बाल मस्तिष्कमा इन्डिया अर्कै संसार हो भन्ने छाप पार्यो । “ए, मानवता त त्यहाँ रहेछ भन्ने हुन्थ्यो” वर्नर सम्झ्न्छन् ।
त्यही प्रभावका कारण उनी भारत जान तुल्बुलाए, त्यो पनि साइकलमा । उनी न्यू ह्याम्सरको घरबाट निस्केर क्यानडाको टोरन्टो पुगे । त्यहाँबाट हवाइजहाजबाट बेलायत, स्कटल्याण्ड, आयरल्याण्ड हुँदै फ्रान्स, हल्याण्ड अनि जर्मनी पुगे । जाडोमा यात्रा कठिन भयो, त्यसमाथि उनका हात र खुट्टा जन्मजात रूपमै कमजोर थिए । अनि सन् १९५९ को हिउँदका दुई महीना जर्मनीमै फ्रेन्च पढ्दै र अंग्रेजी पढाएर बसे । उनी आफ्नै तागतमा भारत पुग्न चाहन्थे, विस्तारै–विस्तारै । त्यसपछि उनी साइकलमै इटाली, ग्रीस, टर्की, इरानहुँदै पाकिस्तान पुगे । “कराँचीमा साइकल बेचेर उत्तर भारत पसें” वर्नर भन्छन्, “त्यसबेला नेपाल गइनँ ।”
भारतमा उनले ऋषिकेशको वेदान्त आश्रममा हिन्दी भाषा र पूर्वीय दर्शन पढे, गान्धीवादी नेता विनोबा भावेको भूमिसुधार आन्दोलनमा हिंडे । ठाकुरको कोलकातास्थित शान्ति निकेतन पनि पुगे । कोलकाताबाट पानीजहाजमा सिलोन (श्रीलंका), सिंगापुर, भियतनामहुँदै जापान पुगेर टोकियोको जेन अध्ययन केन्द्रमा बौद्ध अध्ययनमा लागे । त्यहाँ उनलाई कोइलाबाट बनाइने जेन चित्रकलाले खूब खिच्यो । त्यो सिकेर पानीजहाज चढेका उनी दुई वर्षमा क्यालिफोर्निया उत्रिए । त्यसरी पृथ्वीको एकफन्को मारेर सन् १९६१ पछि उनी मेक्सिको जान थाले । त्यहींको कामले डेविड वर्नरलाई विश्वभर चिनायो ।
उनले मेक्सिकोसहित चार दर्जनभन्दा बढी देशमा युनिसेफ, डब्ल्युएचओ, पिसकोर, युएनडीपी आदि संस्थामार्फत काम गरेका छन् । ‘हेल्थराइट्स’ का सह–संस्थापक र सह–निर्देशक उनी दुई पटक नेपाल पुगे । दुवै पटक पूर्व निर्धारित कार्यक्रममा गएकोले फाल्तु समय निस्केन, पुग्यो, फक्र्यो भयो ।
‘स्वास्थ्य, मानवअधिकार हो’ भनेर वकालत गर्ने स्वास्थ्यसेवीका रूपमा सुपरिचित वर्नरका स्वास्थ्य र अधिकारसम्बन्धी आधा दर्जन पुस्तक प्रकाशित छन् । उनी सन् १९७५ मा स्थापित संस्था हेस्पेरियन फाउन्डेसनका पनि सह–संस्थापक हुन्, जसले डाक्टर नभएमा प्रकाशित गर्यो । यौन दुराचारको आरोप लागेपछि वर्नरले सन् १९९३ मा यो संस्थाबाट राजीनामा दिए । आरोप पुष्टि भने भएन ।
नेपालीमा डाक्टर नभएमा
डाक्टर नभएमाः ग्रामीण स्वास्थ्य कार्यकर्ताको हाते–पुस्तक को पहिलो नेपाली संस्करण युनिसेफको सहायतामा २०३९ सालमा प्रकाशित भएको थियो । डा. योगेन्द्र प्रधानाङ्ग, डा. गोविन्द पोखरेल र चित्रकुमार गुरूङ्ग यसका अनुवादक हुन् । यसको दोस्रो संशोधित संस्करण २०४४ र २०४६ सालमा निस्कियो । त्यसपछि परिमार्जित संस्करण २०५८ जेठमा आयो । यसका पछिल्ला संस्करणहरू स्वास्थ्य शिक्षण सामग्री केन्द्रले निकाल्दै आएको छ ।
हेस्पेरियन फाउन्डेसनको अर्को पुस्तक ह्वेयर वुमन ह्याभ नो डक्टर को नेपाली अनुवाद महिलाका लागि डाक्टर नभएमा पनि नेपालमा प्रकाशित छ । तर, यसका लेखक अरू नै हुन् ।
(अमेरिकाको सिल्भर लेकमा बसोबास गर्दै आएका कोइराला न्यूजलेटर ‘अक्षरिका’ का सम्पादक हुन् ।)