मलाई उहाँको निधनको समाचार सुनेर ‘दुःख’ लागेन । ‘उहाँलाई आफ्नो विश्वासको परमधाम मिलोस्’ भन्ने भाव मात्र आयो । बीबीसी अनलाइन मा समाचार पढेपछि त दुःख नलाग्नुको औचित्य पुष्टि भए झैं लाग्यो ।
औसतभन्दा बढी बाँचेर, संसारलाई सक्ने जति दिएर र पाउनुपर्ने जति पाएर, जीवनप्रतिको सन्तुष्टि र मृत्युप्रतिको स्वाभाविक विचार सार्वजनिक रूपमा अभिव्यक्त गरेर जानु भनेको सानो कुरा हो र ? उहाँ हामी सबैलाई गर्व लाग्ने जीवन बाँच्नुभएको थियो, जाँदा पनि उमेरका कारण हुने दुःखबिमार बाहेक शानदार तरीकाले नै जानुभयो । उहाँको महाप्रस्थानलाई ‘सुखद निधन’ भने हुन्छ । मैले त भनें ।
‘दीर्घजीवी हुनू’ भन्ने आसिक हामीले धेरै थरी शब्दमा धेरै पटक पाएका छौं । अरूलाई पनि दिएका छौं । दशैंको ‘आयुद्रोणसुते...’ देखि ‘चिरायु होस्’, ‘बीसासय वर्षको आयु होस्’ वा अरू शब्दमा र अनेक भाषामा पाइने÷दिइने यस्ता आशीर्वादको अर्थ अहिले आएर, खासगरी इन्द्रबहादुर राईको निधनपछि खुले–खुले जस्तो लाग्दैछ मलाई । जीवन हुनु त यस्तो पो हुनु (र जानु त यस्तो सन्तुष्ट भएर पो जानु) !
लाग्दैछ, मान्यजनहरूले हामीलाई लामो आयुको आशीर्वाद दिएको वा मान्छेले दीर्घ जीवनको रहर गरेको धेरै वर्षसम्म बाँच्न मात्र होइन । धेरै बाँच्नुको अर्थ हो, लामो समयसम्म संसार देख्नु, हेर्नु, बुझ्नु र बुझेका कुरा अरूलाई भन्नु । मान्छेको सभ्यता तयार भएको पनि एउटा पुस्ताले सिके–जानेका, देखे–बुझेका कुरा अर्को पुस्तालाई सचेत रूपमा र अभिलेख रहने गरी भन्न जानेर नै हो ।
इन्द्रबहादुर राई पनि सचेत रूपमा पौने शताब्दीभन्दा बढी समयसम्म संसार देखेर, हेरेर, बुझ्ने प्रयास गरेर, देखे–बुझेका कुरालाई चिन्तनको रापले गालेर र ती कुरा हामीलाई सुनाएर, पढाएर जानुभयो । फेरि दोहोर्याऊँ, उहाँले आफ्नो मातृभूमि र पितृभूमिका नेपालीभाषी समाजलाई दिनुसम्म दिएर जानुभयो । उहाँ मेचीपारिको नेपाली समाजका बौद्धिक, विवेकी र विवादरहित अगुवा हुनुहुन्थ्यो । यता नेपालमा पनि उहाँको साहित्यिक स्थान उति नै अग्लो थियो । राम्रो कुरा, समाज पनि सधैंभरि उहाँको गुणग्राही रह्यो । ‘इन्द्रबहादुर राईले भन्नुभएको’ भन्ने बित्तिकै धेरै कुरा स्वतः प्रमाणित, सावित भए जस्ता हुन्थे । धेरैलाई त्यतिले नै पुग्थ्यो ।
संयोग र सौभाग्य, उहाँले ‘दिन थालेको’ ठाउँमै बस्छु म आज । २००९ सालको फागुनताका उहाँ प्रधानाध्यापकका रूपमा इलामको करफोक विद्या मन्दिरमा आउनुभएको कुरा सम्झिनुहुन्छ मेरा बा नरहरि शर्मा (७७), जो त्यसबेला कक्षा ६ मा पढ्नुहुन्थ्यो । १९८४ साल माघको जन्मदेखि हिसाब गरेर ल्याउँदा आईबी सर भने पच्चीसको हुनुहुँदोरहेछ । “फुर्तिलो हुनुहुन्थ्यो, अध्ययन अध्यापनमा प्रवीण, अनुशासनका साक्षात् अवतार हुनुहुन्थ्यो । तलदेखि माथिसम्मका कक्षामा निरीक्षण गर्न पुगिरहने हुँदा शिक्षक विद्यार्थी सबै सतर्क रहन्थे । उहाँ त्यसबेला पनि निबन्धहरू लेख्नुहुन्थ्यो, तर उहाँको साहित्यिक व्यक्तित्व मुखर भइसकेको थिएन”, बा सम्झिनुहुन्छ ।
मेरो साहित्यिक अभिरुचि हुर्किंदै गर्दा ‘आयामेली आन्दोलन’ वा ‘तेस्रो आयाम’ चर्चाको शिखरमा थियो । ‘तेस्रो आयाम’ नेपाली साहित्यमा सबभन्दा धेरै टिकेको र सबभन्दा धेरै चर्चा भएको आन्दोलन हो, जसले आयामेली हुँ नभन्नेहरूको रचनाकर्ममा पनि उकेरा लगाइदिएको थियो । तेस्रो आयामका प्रवर्तकहरूसित भेट्न मात्र पाउँदा पनि ठूलै मान्छे भएजस्तो लाग्थ्यो ।
अलि पछि कवि जीवन आचार्य (स्व.) का कारण बल्लभ दाइ (ईश्वर बल्लभ) सँग चिनजान भयो । मेची अञ्चलका सामाजिक सम्बन्धहरूले काँल्दाइ (बैरागी काइँला) सित नजिकिने निहुँ उपलब्ध गराइदिए । तर ‘उहाँहरूले समेत गुरु मानेका ‘आईबी राई’ भनेर हामीले जानेका इन्द्रबहादुर राईसित प्रत्यक्ष हुने अनुकूल परेको थिएन ।
२०५२ सालमा उहाँ ललितपुरमा जगदम्बा श्री पुरस्कार ग्रहण गर्न आउनुभएका बेला हो कि जस्तो लाग्छ, भेट हुँदा मैले आफूलाई ‘इलाम, करफोकको’ भनेर चिनाएको थिएँ । त्यसो भन्दा उहाँको ध्यान तानिन्छ कि भन्ने दाउ थियो । म सफल भएँ, सोधिहाल्नुभयो, “म दुई वर्ष बसेको ठाउँ हो त्यो । धेरैलाई चिन्छु । कसको छोरानाति हो तपाईं ? कसैलाई चिन्छु कि ?”
मैले भनेको थिएँ, “मेरा बालाई तपाईंले ... मा पढाउनु भएको थियो रे !” बाको नाम पनि भनें । उहाँको प्रतिक्रिया रोचक थियो, “तिनी त लेख्न खूब चाख राख्थे । अहिले पनि लेख्छन् ?”
अनि उहाँले थप्नुभएको थियो, “भनेपछि जीवनाथ तपाईंका काकाबाजे ?” त्यसबेला करफोकमा पढाउने र पछि दार्जीलिङमै पढाएर सेवानिवृत्त हुनुभएका मेरा कान्छा हजुरबा जीवनाथ अधिकारी आफ्ना दौंतरी र सहकर्मी भएको सुनाउँदै उहाँले भन्नुभएको थियो, “जीवनाथका घर मास्तिर पहेंलपुर भएर फिलुङ्गे फुलेको मेरा आँखामा अहिले पनि नाचिबस्छ ।”
पछि २०६३ सालमा प्राध्यापक चूडामणि बन्धुको पछिपछि लागेर म उहाँको निवासमा पनि पुगें । हामी त्यसबेला मदन पुरस्कार पुस्तकालयका तर्फबाट नेपाली युनिकोडबारे कुरा गर्ने र चलाउन सिकाउने अभियानमा पूर्वोत्तर भारतको यात्रामा थियौं । प्रसङ्ग मिलाएर मैले आफूलाई फेरि चिनाएँ । उहाँले सम्झिनुभयो र सभामा नै भनिदिनुभयो, “भाषा साहित्यलाई माया गर्ने परिवारको हुनुहुन्छ उहाँ । मेरो विद्यार्थीको छोरो, मेरा साथीको नाति ।”
म फेरि दङ्ग परें ।
आईबी दाजु, आईबी सर, इन्द्रबहादुर राईज्यूका कामहरू हेर्दा लाग्छ, उहाँ समाजलाई चुनौती दिइरहनुहुन्थ्यो र त्यसलाई बौद्धिक रूपमा गतिशील बनाउन अनेक ‘लीला’ रचिरहनुहुन्थ्यो । आयामेली आन्दोलन होस् वा लीला लेखन, उहाँ हल्लाउन चाहनुहुन्थ्यो र हल्लाउन सक्नुहुन्थ्यो । एक पटक, मार्टिन चौतारीमा हो कि क्या हो, उहाँले भनेको सम्झिन्छु (शब्द यिनै होइनन्, तर उहाँको आशय यही थियो), “नेपालमा लेखिने साहित्यबाट दार्जीलिङ चुनौती चाहन्छ । शैलीमा, शिल्पमा र कथ्यमा । अहिले त्यस्तो चुनौती कुमार नगरकोटीका किताबले मात्र दिएका छन् ।”
इन्द्रबहादुर राईको अवसानलाई हामीले जसरी लिए पनि उहाँ सँगसँगै मेचीपारिको नेपाली÷गोर्खाली समाजका लागि र समग्र नेपाली वाङ्मयका लागि एउटा युगको अन्त्य भएको छ । उहाँको बौद्धिक परम्परालाई अघि बढाउने पात्र हुर्किइरहेका भए र अघि आए राम्रो हुनेछ । हामीले दुःख चाहिं त्यसो नभए मान्नुपर्नेछ ।