९ भदौ २०७० | 25 August 2013

धार्मिक सहिष्णुताको संगमस्थल

Share:
  
- फुर्पा तामाङ
हिन्दू, बौद्ध/बोन्पो धर्मावलम्बीको संगमस्थल बनेको छ गोसाईंकुण्ड ।

रसुवामा रहेको पवित्र गोसाईंकुण्डमा हरेक वर्ष दुई पटक मेला लाग्ने गर्दछ । जसमध्ये गंगादशहरामा हिन्दू मात्र स्नान गर्न जान्छन् भने जनैपूर्णिमामा हिन्दू, बौद्ध÷बोन्पो धर्मावलम्बीको ठूलो मेला लाग्छ । गोसाईंकुण्डको सबैभन्दा राम्रो पक्ष भनेकै हिन्दू, बौद्ध÷बोन्पो बीच धर्मको नाममा कुनै किसिमको विवाद नहुनु हो अर्थात् वर्षौंदेखि धार्मिक सहिष्णुता कायम छ । गोसाईंकुण्डलाई हिन्दू धर्मावलम्बी भगवान शिवजीका नाममा पूजा गर्छन् भने बौद्ध÷बोन्पो धर्मावलम्बी ‘ह्याप क्षेह्याल÷क्षेग्याल क्षेम्बो’, ‘ल्हाक्षेम्बो मादेउ’ अर्थात् सबैका पिताका रूपमा । अन्य धर्मावलम्बी र पर्यटकका लागि प्रकृतिको सुन्दर ठाउँ गोसाईंकुण्ड हिन्दू, बौद्ध÷बोन्पो धर्मावलम्बीका लागि भने धार्मिक सहिष्णुताको संगमस्थल बनेको छ ।

धार्मिक विश्वास र महत्व

गोसाईंकुण्डप्रति हिन्दू धर्मावलम्बीको ठूलो श्रद्धा छ । उहिले देवता र दानवबीचको युद्धका क्रममा समुद्र मन्थन गर्दा निस्किएको कालकूट विष सेवन गरेर शिवजीले सृष्टिलाई बचाएको धार्मिक विश्वास छ । विषको कारण छटपटिएर शीतल ठाउँ खोज्दै हिमालय पर्वततिर निस्किंदा शिवजी गोसाईंकुण्डमा आइपुगेको जनविश्वास छ । भगवान शिवले ल्याएको त्रिशूलले पहाडको भित्तामा घोपेपछि शीतल जल निस्कियो र त्यो पानी बगेर तलतिर जम्मा हुँदा गोसाईंकुण्डको उत्पत्ति भएको स्थानीयवासीहरू बताउँछन् । धार्मिक कथामा उल्लेख भए अनुसार अहिलेसम्म पनि भगवान शिवजी सोही कुण्डमा विराजमान छन् । त्यसकारण जनैपूर्णिमाका दिन सो कुण्डमा आई नुहाउँदा पुण्य प्राप्ति हुने हिन्दू भक्तजनहरूको विश्वास छ ।

गोसाईंकुण्डबारे बौद्ध÷बोन्पो धर्मावलम्बीको आफ्नै कथा छ । उनीहरू गोसाईंकुण्डलाई सबैका पिताका रूपमा पूजा गर्छन् । गोसाईंकुण्डलाई तामाङ भाषामा ‘कर्पु छोकर’ अर्थात् ‘सेतो’ भनिन्छ । तर रसुवाका भार्खु, यार्सा, सेस्र्युङ, गोर्मो गाउँका तामाङहरू ‘ग्यो’ भन्छन् । धुन्चे, ठाडे, राम्चे, स्याफ्रु, गचिलिमे, हाकु, नेसिङ लगायतका गाउँले ‘ह्वे’ तथा लाङटाङ, श्यारपोको, खाङजिम, बृद्धिम, टिमुरे, थुमन गाउँलेहरू ‘छो’ भन्छन् । उनीहरू भैरव कुण्डलाई ‘छोना’ अर्थात् कालोकुण्ड भन्छन् । उहिले तामाङ जातिकै गोले वंशको बोन्पो (झाँक्री) लाई भैरवकुण्डको नागले तानेर भित्र लगेको हुनाले अहिलेसम्म पनि ‘गोले’ वंशका तामाङ झाँक्री कुण्डमा जाँदैनन् । दाजु ‘छोना’ ले भाइ ‘मादेउ’ लाई भार्खुगाउँको लेकमा पर्ने ‘नम्सुङ कुण्ड’ मा एक्लै छोडी भैरवकुण्ड गई बसेको र पछि भाइ ‘मादेउ’ ले खोज्दै जाँदा भेट्टाएको जनविश्वास छ । दाजु ‘छोना’ को मन कालो भएकोले भैरवकुण्ड कालो भएको र भाइ ‘मादेउ’ को मन सफा भएकोले गोसाईंकुण्ड सेतो भएको स्थानीय झाँक्रीहरूको विश्वास छ ।

गोसाईंकुण्ड हजारौं झाँक्री भेला हुने पवित्र धाम हो । गोसाईंकुण्डमा वर्षेनि जनैपूर्णिमाको दिन झाँक्री नाच्ने चलन छ । टाढा गएकाहरू पनि जनैपूर्णिमामा गाउँ फर्कने चलन छ । गोसाईंकुण्ड वरिपरि सूर्यकुण्ड, सरस्वतीकुण्ड, भैरव झरना आदि छन् भने सिंगो रसुवामा १०८ वटा कुण्ड छन् । १०८ बौद्ध÷बोन्पो धर्मावलम्बीको लागि पुण्य प्राप्तिको संख्या हो । यी कुण्डमा नुहाउनाले सन्तान नभएकालाई सन्तान मिल्ने, बोली नफुट्नेको बोली फुट्ने, धन आर्जनमा सफलता मिल्ने तथा गोसाईंकुण्ड र भैरव झरना छेउछाउका जडीबुटी खाँदा र बाँधेपछि भूतप्रेतले छुन नसक्ने जनविश्वास छ ।

संरक्षणको चुनौती

गोसाईंकुण्ड सन् २००७ मा विश्वरामसार सूचीमा सूचीकृत भइसकेको छ । यसको उचित संरक्षणसँगै प्रचारप्रसार गरी मेलाको बखत विशेष सुविधा दिन सके धार्मिक पर्यटकको संख्या बढ्ने मात्र होइन, संस्कृति संरक्षणमा समेत मद्दत मिल्नेछ । उहिलेदेखि कुण्ड, मादेउ थान, त्रिशूलधाराको पुजारी भार्खु गाउँको अवतारी झाँक्री रहने परम्परा भए पनि २०४६ पछि गोसाईंकुण्ड क्षेत्र विकास समितिको मातहतमा आएको छ । स्नान गर्नेले कुण्ड र यसका वरिपरि जथाभावी फालेका फोहोरले गोसाईंकुण्ड प्रदूषण भएको छ ।

समुद्री सतहबाट ४ हजार ३८० मीटर उचाइमा रहेको गोसाईंकुण्ड रसुवाको स्याफ्रु गाविस–६ ठूलोभार्खु गाउँको सिरानमा पर्छ । काठमाडौंबाट धुन्चेसम्म सार्वजनिक यातायात, टाटा सुमो, जीप, मिनीबस र बसबाट पुग्न सकिन्छ । काठमाडौंबाट नुवाकोट, धुन्चे हुँदै गोसाईंकुण्ड जाने बाटो सजिलो पनि छ । यसबाहेक काठमाडौंबाट चिसापानी, कुटुमसाङ, ठाडेपाटी, घोप्टे, फेदी भएर सूर्यकुण्ड डाँडा हुँदै मेलम्ची गाउँ, ठाडेपाटी, घोप्टे, फेदी भएर सूर्यकुण्ड डाँडा हुँदै पनि गोसाईंकुण्ड पुग्न सकिन्छ । किंवदन्ती अनुसार भगवान शिवजी काठमाडौंबाट त्रिशूली, वेत्रावती, राम्चे, धुन्चे, खन्दी, चन्दनबारी, लौरीविना उकालो चढेर गोसाईंकुण्ड पुगेकोले पनि भक्तजनहरू शिवजीको पाइला पछ्याउँदै पुण्य प्राप्तिको लागि धुन्चेको बाटो भएर गोसाईंकुण्ड जान बढी रुचाउँछन् ।

comments powered by Disqus

रमझम