४-१० चैत २०७४ | 18-24 March 2018

प्रहरी सुधार्ने अवसर

Share:
  
- राजेन्द्रसिंह भण्डारी
नयाँ संवैधानिक प्रावधान अनुसार संगठन पुनर्संरचनामा थोरै मात्र गम्भीर हुने हो भने नेपाल प्रहरीलाई साँच्चिकै जनमुखी बनाउन सकिन्छ।

भानु भट्टराई
प्रहरी सेवा अर्थात् ‘डण्डा’ राजनीतिक दल ‘झ्ण्डा’ को दोहनमा परेको छ । जनताको सरोकार र हित भन्दा सरकार वा शक्तिकेन्द्रका अघि प्रहरी नेतृत्वको निरीहताका कारण संगठनको संरचना र ‘चेन अफ कमाण्ड’ भताभुङ्ग भएको छ । उदाहरण हेरौं, कुनै पदविशेषको अनुपस्थितिमा तोकिएको प्रहरी अतिरिक्त महानिरीक्षकको पद संख्या नै दर्जन भन्दा बढी पुर्‍याइएको छ । र, ती सबै ‘सशुल्क’ वितरण गरिएको चर्चा छ । प्रदेशमा पनि नायव महानिरीक्षकको संख्या ३२ पुर्‍याइएको छ ।

वास्तवमा, राजनीतिक झ्ण्डाको आडमा अभीष्ट पूरा गर्ने मनोभावनाबाट ग्रसित दलहरूले प्रहरी संगठनको संस्थागत विकासमा ध्यान दिन आवश्यक नै ठानेनन्, परिणामस्वरुप २०१२ सालको प्रहरी ऐन अहिलेसम्म कायम छ । यही ऐनमै टेकेर प्रहरी संगठनको आकार, वर्गीकरण, मूल्याङ्कन, छनोट, वृत्ति–विकासका आधारहरूको चीरहरण जारी छ । राजनीतिक शक्तिकेन्द्रले सेवाको विशिष्टीकरण, व्यावसायिकीकरणको मुद्दा भन्दा प्रहरी सेवामा आफ्नो नियन्त्रण कायम राख्ने नियत देखियो, फलस्वरुप सुशासनको सुयोग्य साधन प्रहरी राजनीतिक ताबेदारी र तजबिजीको विश्वासिलो आड बन्न पुग्यो । भइदियो के भने, संगठनका प्रायः सबै प्रमुख भ्रष्टाचारको कसूरमा जेल परे, जो बचे ती इमानदार थिए वा प्राविधिक कारणबाट बचे भन्नेमा अझै पनि आशंका छ । संगठन विकासका हिसाबले यो निकै नै निराशाजनक अवस्था हो ।

मुलुकको राजनीतिक, सामाजिक परिवेशमा छोटो समयमै थुप्रै परिवर्तनका घटना, परिघटना भए, तर प्रहरी सेवाको संस्थागत विकासको मुद्दा जहाँको त्यहीं रह्यो । तर, अहिले भने संविधानतः नै संगठनको संरचना, स्वरुप, गठन, वर्गीकरणमा परिवर्तन गर्नै पर्ने बाध्यात्मक अवस्था बनेको छ । संविधानको धारा २६८ ले तोके बमोजिम तीन तहको प्रहरी संरचना निर्माण गरी संगठनलाई नयाँ ढंगले परिभाषित गर्ने अवसर र चुनौती सरकारसामु छ । संगठनमा व्यावसायिक र जुझरु नेतृत्व स्थापित हुने साइत जुरेको छ ।

पुनर्संरचनाको ‘साइत’

नवनिर्वाचित सरकारलाई सुशासन, समृद्धिको घेरामै बस्नुपर्ने बाध्यता आइलागेको छ अन्यथा सचेत जनताको डण्डा खेप्नुपर्ने भय उनीहरूमा छ । तर, ‘जोगीदेखि भैंसी र भैंसीदेखि जोगी डराइरहेको’ अवस्थामा डण्डा र झ्ण्डाको फ्युजनबाट नयाँ ऊर्जा र विचारको निर्माण गर्ने अवसर पनि छ । प्राप्त अवसरलाई सदुपयोग गर्न विज्ञतायुक्त व्यावसायिक ज्ञान, सीपको प्रयोग र राजनीतिक प्रतिबद्धत्ता सहितको ‘फ्युजन’ हुन आवश्यक छ ।

संघीय, प्रादेशिक र स्थानीय प्रहरी संरचनाको बनावट, अधिकार बाँडफाँड, अनुगमन तथा सुपरीवेक्षकीय प्रणाली निर्धारणसँगै संघीय प्रहरी प्रणालीको मोडल छनोट गर्नु आवश्यक छ । विभिन्न मुलुकमा विभिन्न संघीय प्रणाली प्रचलनमा छन् । तर, नेपाल प्रहरीको संरचना परिवर्तनमा भने फौजदारी न्याय प्रणालीका अन्य अंग सरकारी वकिल, न्यायालयको संरचनासँग मेल खाने संरचना तय गर्दा सहज हुने देखिन्छ । संघीय मोडल छनोट गर्दा हामी ‘डिस्इन्टिग्रेटेड अप्रोच’ अर्थात् भिन्दाभिन्दैको स्वरुपमा जाने वा ‘इन्टिग्रेटेड अप्रोच’ अर्थात् एकीकृत अवधारणामा जाने भन्नेमा पर्याप्त छलफल हुन आवश्यक छ । प्रशासनिक स्वायत्तताको टुंगो लगाउँदा भूबनोट, क्षेत्रीय पहिचानका आधारमा भइरहेका राजनीतिलाई मध्यनजर गर्दै राष्ट्रिय सुरक्षा र अखण्डतामा पर्न सक्ने दीर्घकालीन असर मूल्याङ्कन गरिनु आवश्यक हुन्छ । संघीय प्रहरीको सुपरीवेक्षण, समन्वय, रेखदेखका विषयमा गरिएको संवैधानिक प्रावधानका आधारमा प्रशासनिक ‘चेन अफ कमाण्ड’ लाई केन्द्रदेखि मातहतसम्म कायम राख्नुपर्छ । साथै प्रत्येक कार्यालयको कार्य प्रकृति अनुरूप संरचनाको स्वरुप निर्धारण गर्ने नीति अवलम्बन गरिनुपर्दछ र प्रहरीअन्तर्गतका सम्पूर्ण कार्यालयलाई पाँच भागमा वर्गीकरण गर्नुपर्छ, जसमा संघीय प्रहरीलाई सुपरीवेक्षण, प्रादेशिक कार्यालयलाई अनुगमन र स्थानीय प्रहरीलाई कार्यान्वयन तहको भूमिकामा केन्द्रित गरिनुपर्दछ ।

यसैगरी प्रशिक्षण र अन्य सशस्त्र समूहका प्रहरीलाई सहायता र आपूर्ति इकाइका रूपमा विकसित गरिनुपर्दछ । प्रशिक्षण केन्द्रको संरचनालाई विश्वविद्यालयको अवधारणा अनुरूप विकसित गर्न आवश्यक छ । केन्द्रीय अनुसन्धान ब्यूरोलाई प्रादेशिक तहमा समेत विशिष्ट अनुसन्धान सेवाका रूपमा स्थापित गरिनुपर्ने देखिन्छ । सुरक्षा खतराका आधारमा सेवाको वर्गीकरण गर्दा हिमाली, पहाडी, तराई, शहरी, राजमार्ग क्षेत्रको वर्गीकरण गरी तदनुरूपको प्रहरी संरचना र जनशक्ति उत्पादन गरी सेवा विशिष्टीकरणको अभ्यास गर्नुपर्छ । जनशक्ति विकासमा प्रविधियुक्त सेवालाई संगठन आधुनिकीकरण र विस्तारको प्रमुख आधार बनाइनुपर्दछ । हिजोको सोच, शैली र संयन्त्रमा आमूल परिवर्तन नगरी चुस्त र व्यावसायिक प्रहरी संगठनको निर्माण गर्न सकिन्न भन्ने हेक्का राख्नु पनि उत्तिकै जरूरी छ । परिवर्तनको मुद्दालाई व्यक्ति र प्रवृत्ति दुवैमा लागू गर्नुपर्छ, राजनीतिक अहस्तक्षेपको व्यवस्था कानूनी रूपमै निदान गरिनुपर्दछ । सरकारले तल्लो दर्जाका प्रहरी जवान र प्रहरी हवल्दारलगायतको वृत्ति–विकास, सुविधाका विषयमा ध्यान नदिएका कारण अहोरात्र फिल्डमा खटिने उनीहरू नै १२–१४ वर्षसम्म पदोन्नतिविहीन हुनुपरेको छ । परिणाम; पेन्सन हुनासाथ जागिर छाड्नेको संख्या दिनानुदिन बढिरहेको छ । संगठन पुनर्संरचनामा यसलाई पनि मुख्य मुद्दा बनाइनुपर्छ ।

समग्रमा प्रहरी संगठन यतिबेला आमूल परिवर्तनको सँघारमा उभिएको छ । विकास र समृद्धिको पूर्वशर्त शान्तिसुरक्षा व्यवस्थापनमा पुनर्संरचनालाई स्वार्थरहित उपयोग गर्न सके संगठनको व्यावसायिकीकरण गर्न खासै हम्मे पर्ने छैन ।

(भण्डारी नेपाल प्रहरीका अवकाशप्राप्त अतिरिक्त प्रहरी महानिरीक्षक हुन् ।)

comments powered by Disqus

रमझम