४-१० चैत २०७४ | 18-24 March 2018

‘टिपर आतंक’

Share:
  
निर्माण सामग्री उद्योग र ठूला आयोजना थालिएसँगै थपिएका टिपरले सिद्घार्थ राजमार्गमा जोखिम बढाएको छ।

दीपक ज्ञवाली
‘मान दिनेलाई मान दिने हो, सान दिनेलाई हान दिने हो’, लु १ ख ९८३८ नम्बरको टिपर अगाडि यस्तै लेखिएको थियो (हे. तस्वीर) । तर रूपन्देही, तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी विष्णुकुमारी भट्टराई (८९) ले टिपरलाई कुनै सान दिएकी थिइनन् । दुर्गा मन्दिरमा पूजा गर्न गइरहेकी उनलाई ११ माघमा हुँइकिएर आएको त्यही टिपरले जेब्राक्रसमै ठक्कर दियो । उनको घटनास्थलमै मृत्यु भयो । आक्रोशित स्थानीयले ‘टिपर आतंक’ भन्दै ठक्कर दिनेसहित चार वटा टिपर जलाइदिए ।

टिपरको लापर्वाहीबाट अनाहकमा ज्यान गुमाउनुपरेको यो पहिलो घटना थिएन । २ पुसमा स्कूटरमा कार्यालयतर्फ गइरहेका बुटवलका सञ्चारकर्मी दलबहादुर भण्डारीलाई भुड्कीचोकमा टिपरले ठक्कर दियो । उनको पनि तत्कालै मृत्यु भयो । २० साउनमा अर्घाखाँचीको ठाडामा पनि त्यस्तै भयो । नरपानीको खानीबाट चुनढुंगा लिएर फर्किरहेको टिपर अमराईमा पल्टियो, कपिलवस्तुका विशाल सारुको घटनास्थलमै मृत्यु भयो । अन्य सात घाइते भए ।

पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलका अनुसार तीन वर्षयता साबिकको पश्चिमाञ्चलका १६ जिल्लामा तीन हजार ३४१ वटा सवारी दुर्घटनामा एक हजार ४४१ जनाको मृत्यु भइसकेको छ । तीमध्ये दोस्रो ठूलो दुर्घटना (७६३ वटा) निम्त्याउने ट्रक र टिपर नै हुन् ।

बुटवल भएर पाल्पा, गुल्मी, अर्घाखाँची र स्याङ्जालाई जोड्ने यो सडकमा दैनिक पाँच हजार बढी सवारी गुड्छन् भने प्रदेश–५ को अस्थायी राजधानी तोकिएको व्यस्त बुटवलका सडकमा दैनिक एक हजार भन्दा धेरै टिपर गुड्छन् । यी टिपर पाल्पा र अर्घाखाँचीका खानीहरूबाट ढुंगा, गिट्टी बोकेर भैरहवा र लुम्बिनी क्षेत्रका सिमेन्ट उद्योग तथा ठूला निर्माण आयोजनाहरूमा पुग्छन् । रोडा ढुंगा व्यवसायी संघ रूपन्देहीका अध्यक्ष गोपाल ज्ञवालीका अनुसार रूपन्देही सिमेन्ट उद्योगहरूका लागि हब बनिरहेको छ । पाल्पा र अर्घाखाँचीमा ठूला खानीहरू सञ्चालनमा छन् ।

पाल्पा–२ ‘ख’ का प्रदेश सभासद् तुलाराम घर्ती मगर हाइड्रोलिक इञ्जिनका ती टिपरका अधिकांश चालक युवा र कम अनुभवी भएकाले पनि बढी दुर्घटना भइरहेको छ । “टिपरहरू मान्छे, भैंसी केही भन्दैनन् । ठूलो जनधनको क्षति भइरहेको छ” मगर भन्छन्, “सिद्धार्थ राजमार्गलाई टिपरमुक्त बनाउनुपर्छ ।”

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी बुटवललाई ‘टिपर आतंक’ बाट मुक्त गर्नेबारे छलफल भएको बताउँछन् । “मुख्य बजार नछोइने गरी सिद्धबाबादेखि चौराहासम्म टिपर हिंड्ने छुट्टै रुट जरूरी छ । त्यसको व्यवस्था नहुञ्जेल यो सवारीका लागि समय छुट्याउने, गति कम गर्ने जस्ता विकल्पहरू हुनसक्छन् ।”

नगरप्रमुख सुवेदीको भनाइमा सिमेन्ट उद्योगी र खानी सञ्चालकहरू भने सहमत छैनन् । उनीहरूका भनाइमा, खानी उद्योगहरूबाट रातमा सामग्री उठाउन गाह्रो हुन्छ । “दिउँसो नहिंडाउने भन्ने हुँदैन, समझ्दारीमा विकल्प खोज्नुपर्छ”, रोडा ढुंगा व्यवसायी संघका अध्यक्ष ज्ञवाली भन्छन् ।

टिपर र यसको प्रदूषणले खेलाडीलाई पनि असर गरेको छ । २४ फागुनदेखि बुटवलमा चलिरहेको तिलोत्तमा गोल्डकप फूटबल प्रतियोगिता अवधिभर खेलाडी र खेलप्रेमीहरू जमघट हुने समयमा आसपासबाट टिपर नचलाउन आयोजकले आग्रह गरेको छ ।

ढुवानीका साधनहरूको लापर्वाहीका कारण आफूहरू पनि पीडित भएको भन्दै पाल्पा तिनाउ गाउँपालिका दोभानका महिलाले खबरदारी थालेका छन् । सवारी साधन नढाकिकनै ढुंगा, बालुवा ढुवानी गरिएका कारण धूलो घरभित्र पसेको भन्दै उनीहरूले आन्दोलनको चेतावनी दिएका हुन् । दोभान क्षेत्रमा मात्रै चार वटा चुनढुंगा खानी संचालनमा छन् । यहाँबाट उत्पादित ढुंगा गिट्टी बोकेर दैनिक ५०० टिपर गुड्ने गर्दछन् । “धूलोका कारण कति सास्ती भोग्नुपरेको छ, भनिसाध्य छैन”, महिला समन्वय समितिकी अध्यक्ष दिलकुमारी रोका मगर भन्छिन् ।

प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले धूलोको समस्या समाधान गर्न सडक मर्मत र पानी छ्याप्न तत्काल पहल गरिने बताउँछन् ।

दीपक ज्ञवाली, बुटवल

comments powered by Disqus

रमझम