१६ भदौ २०७० | 1 September 2013

दीर्घजीवनको कामना

Share:
  

साप्ताहिक हिमाल (२ भदौ) मा प्रकाशित पूर्व मुमाबडामहारानी रत्नको वैभवपूर्ण जीवन उत्तराद्र्धमा आइपुग्दा महेन्द्र–मञ्जिलको एकान्तवासमा सीमित भएको सम्बन्धी ‘महारानीको एकान्तवास’ शीर्षकको आवरण पढेपछि जीवनका अन्तिम दिनमा उहाँले भोग्नु परेको पीडाबारे थाहा हुन्छ । आफ्नै सन्तान नभएर पनि मातृत्व प्रदान गर्न सक्ने थोरै नेपालीमध्येकी एक हुनुहुन्छ रत्न । उहाँको सुस्वास्थ्य तथा दीर्घ जीवनको कामना गर्दछु । साथै जन्मदिनको शुभकामना ।

सत्तरमान लामा, इमेलबाट

पूर्व मुमाबडामहारानी रत्नका बारे प्रकाशित ‘वैभवदेखि वैरागसम्म’ समाचार पठनीय लाग्यो । राम्रोसँग प्रस्तुत गरिएको समाचार सूचनामूलक पनि छ । पूर्व मुमाबडामहारानी रत्नको ८६ औं जन्म दिनको शुभकामना ।

द्वारिकानाथ ढुंगेल, इमेलबाट


कहिले न्याय पाउने ?

हिमाल (२ भदौ) मा प्रकाशित गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या छानबिन सम्बन्धी समाचार पढेपछि माओवादी द्वन्द्वले नेपाली समाजमा पारेको भयावह पीडा थाहा हुन्छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल आफ्ना कार्यकर्ताबाट भएका कमजोरी लुकाउँदै सरकारलाई छानबिन नगर्न र गरेमा शान्ति प्रक्रिया भाँडिने चेतावनी दिंदैछन् । यस्तो चेतावनी दिएर माओवादी अध्यक्ष दाहालले हिंसाको पक्षमा वकालत गरेको सजिलै बुझन सकिन्छ । देश र जनताको लागि भन्दै १५ हजार जनाको लाशमाथि कुल्चेर सत्तामा पुगेका प्रचण्डलाई भोलिका दिनमा नेपाली जनताले कुनै पनि हालतमा विश्वास गर्ने छैनन् । यतिवेला एउटा पुरानो उखानको सम्झना भएको छ ‘न्याय नपाए गोर्खा जानू ।’ तर आज त्यही गोरखाका अधिकारी दम्पती आफ्नो छोराको हत्यामा संलग्नहरूको छानबिन गरी दोषीमाथि कार्बाही गरी पाऊँ भन्दा सुनुवाई नहुनु दुखद् कुरा हो । ढिलै भए पनि अधिकारी दम्पतीको पीडा सुन्न सरकार बाध्य भएको छ । तर प्रचण्डको शान्ति प्रक्रिया भाँडिने धम्कीबाट डराएर छानबिनमा कुनै अवरोध आउन नदिन सरकार चनाखो हुनैपर्छ ।

  • रसना ढकाल, बालकोट–५, भक्तपुर*

जानकारीमूलक समाचार

हिमाल (२ भदौ) मा प्रकाशित चासो चर्पी र चूलोको समाचारमा सामान्य लागेको तर महŒवपूर्ण विषय पढ्न पाइयो । यो समाचार निकै जानकारीमूलक लाग्यो । चन्द्रमा र मंगलग्रहको कुरा गर्ने हामी नेपाली मानवजीवनको आधारभूत विषयमा कति पछिपरेका रहेछौं भन्ने पनि यसबाट थाहा हुन्छ । चूलो र चर्पीमा सामान्य सावधानी अपनाउन नसक्दा हजारौंको ज्यान जानु झ्न् दुःखद् र लज्जाजनक विषय हो ।

सुजाता अधिकारी, कीर्तिपुर, काठमाडौं


यसरी सोच्ने कि !

हिमाल (२ भदौ) मा प्रकाशित चिहान बन्ने खतरा समाचार सान्दर्भिक लाग्यो । फूटपाथमा परेको घरको पिलर भत्काएर सतही रूपमा नयाँ पिलर थपी टेको दिंदा त्यसले घरलाई पर्याप्त सुरक्षा दिनै सक्दैन । सार्वजनिक जग्गा मिचेर फूटपाथमा घर बनाउँदा कस्ता समस्या भोग्नुपर्छ भनेर यो घटनाले गतिलो शिक्षा दिएको छ । त्यसकारण भोलिका दिनमा घर बनाउँदा कसैले पनि सार्वजनिक जग्गा अतिक्रमण नगरौं ।

तपन दास, इमेलबाट


मदिराको लत

हिमाल (२ भदौ) मा छापिएको मदिराको लतले बर्बादी समाचारले मदिराप्रेमीलाई पक्कै सचेत गराएको हुनुपर्छ । साथीसँगीको लहैलहैमा, कसैको मन राख्न वा चाडबाडका वेला एक पटक त हो नि भनेर लिएको चुस्कीले नै कतिपय जाँडरक्सीको अम्मली भएका छन् ।

मदिराले पैसाको बर्बादीसँगै स्वास्थ्यमा हानि पु¥याइरहेको छ । सामाजिक प्रतिष्ठामा पार्ने असर र मनोवैज्ञानिक प्रभावको त अनुमान गर्नैै गाह्रो छ । मदिरा सेवन गरेर सवारी साधन चलाउनेमाथि थालिएको कारबाहीसँगै उठेको राजस्वको दर हेर्दा पनि थाहा हुन्छ कति नेपाली मदिराको लतमा छन् भन्ने कुरा । एक जनाको लतले परिवार र समाजमा पारेको असरका विषयमा समाचार प्रकाशित गरेकोमा हिमाल लाई धन्यवाद ।

यामु थापा, झापा, हालः साउदी अरब


साझा मञ्च बनाऔं

सामुदायिक रेडियोले जनताको आवाज उठाएका छन् । गाउँका कुनासम्म तरकारीको भाउदेखि देश–विदेशका समाचार एकाबिहानै एफएम रेडियोले नै सुनाएका छन् । सामुदायिक रेडियो प्रसारक संघका अध्यक्षले गुणस्तरमा ध्यान दिने कुरा त भनेका छन् तर श्रोताले व्यावसायिक र सामुदायिक रेडियो छुट्याउन सक्ने अवस्था छैन । अर्को कुरा रेडियोलाई कुनै पनि पार्टीको भन्दा सबै पार्टीप्रति आस्था राख्नेको साझ मञ्च बनाउनुपर्दछ ।

अधिराज पौडेल, भरतपुर, चितवन

comments powered by Disqus

रमझम