१६ भदौ २०७० | 1 September 2013

डा. वाग्ले बचाऊ अभियान

Share:
  
- रामबहादुर क्षेत्री

जागीरे जीवनको ९९ प्रतिशत समय दुर्गम गाउँमा विताएका डा. चित्रप्रसाद शर्मा वाग्ले यतिवेला मृत्युसँग जुधिरहेका छन् । नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा आफ्नो जायजेथा सिध्याएका वाग्लेलाई चिकित्सकहरूले थप उपचारका लागि अमेरिका वा क्यानडा लैजान सल्लाह दिएका छन् ।

दुर्गम क्षेत्रका विरामीको सेवामा खटिएका डा. वाग्लेले भने पर्याप्त सहयोगी हात पाउन सकेका छैनन् । सहयोगका लागि गरिएको आग्रह क्रन्दनमा सीमित भएको छ । खासगरी सरकारले उनको उपचारमा चासो देखाएको छैन । यद्यपि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारी, गैरसरकारी तथा निजी संघसंस्था र केहीले स्वस्फूर्त रूपमा जुटाएको सहयोग भने सकारात्मक छ । संसारमा धेरै डाक्टर छन् तर पनि डा. वाग्ले जस्ता डाक्टर नेपालमा कमै होलान् । आफ्ना कार्यकर्ता सामान्य बिरामी परेका वेला लाखौं खर्च गर्ने सरकारले वाग्ले जस्ता होनहार डाक्टरलाई अस्पतालको शैय्यामा छटपटाइरहँदा पनि सहयोग नगर्नु विडम्बना हो । वाग्लेलाई बचाउनु भनेको हजारौं नेपालीलाई पुनर्जीवन दिनु हो भन्ने कुरा सरकारले बुझ्नुपर्छ ।

२४ भदौ २०५९ मा माओवादीले अर्घाखाँचीको सन्धिखर्क आक्रमण गर्दा घाइते भएका सर्वसाधारण, सेना, प्रहरी र माओवादी लडाकूको उपचारमा उनै वाग्ले खटेका थिए । आक्रमणपछि यत्रतत्र छरिएका लाशको थुप्रो, रातभरिको दोहोरो भिडन्तका कारण स्थानीयवासीमा फैलिएको त्रास, गोला बारुदको आवाज अनि घाइते र पीडितहरूको रोदनमा पनि कत्ति विचलित नभई उनी उपचारमा तल्लीन रहे । सरकारी निकायका प्रायःजसो हाकिमहरू चुकुल लगाएर बसेका वेला सरकारकै नूनपानी खाएका डा. वाग्लेको यस किसिमको सत्कार्यबाट हामी सबै आजपर्यन्त प्रभावित भएका छौं ।

संभवतः उनी एक मात्र त्यस्ता कार्यालय प्रमुख थिए जो दुई–दुई पटक सन्धिखर्क आक्रमण हुँदा पनि सरुवा मागेर अन्यत्र भागेनन्, बरु नडराइकन आफ्नो कर्ममा खटिइरहे । यति मात्र होइन वेलावेलामा आयोजना गरिएका स्वास्थ्य शिविरमा पनि डा. वाग्ले बिरामीको निःशुल्क उपचारमा अग्रसर भएका थिए । एक जना डाक्टरलाई जोगाउन सक्दा विकट गाउँका हजारौं सर्वसाधारणले स्वास्थ्य सेवा पाउँछ भने तपाईं हामी पनि सहयोगका लागि अग्रसर किन नहुने ?

comments powered by Disqus

रमझम