राणाशासनको अन्त्य र औलो ज्वरोको उन्मूलनले तयार पारेको वातावरणमा मधेश र तराई बसाइँसराइको मूल थलोमा परिणत हुन पुग्यो । आजभोलिका दिन बाघ, हात्ती, गैंडा जस्ता वन्यजन्तु र तिनका बासस्थान सरकारले सीमा कोरिदिएका राष्ट्रिय कुञ्ज, संरक्षण क्षेत्र तथा आरक्षहरूमा सीमित हुन पुगेको छ । चितवन राष्ट्रिय निकुञ्जले पचासौं वर्षको अनवरत प्रयासमा ६०५ वटा गैंडा (सन् २०१५ को गणना) र १२० वटा मात्र पाटेबाघ बचाउन सकेको छ । त्यो संख्या राणाकालीन एउटै शिकारले भेट्ने गर्दथ्यो ।
जनसंख्या चापले पहाडी एवं हिमाली क्षेत्रमा पनि वन, वनस्पति र वन्यजन्तु संरक्षित क्षेत्रका सीमाभित्र कुण्ठित हुँदैछन् । त्यसो भए तापनि यी संरक्षित क्षेत्रले पर्यटनको तर्फबाट उल्लेखनीय आम्दानी भिœयाउन थालेको छ । नेपाल भित्रिने विदेशी पर्यटकमध्ये ५५ प्रतिशतले संरक्षित क्षेत्रको भ्रमण गर्ने गरेको छ । पर्यटकीय आम्दानीले गर्दा संरक्षित क्षेत्रहरू सुनको फूल पार्ने कुखुरी जस्तै देखिएका छन् । वर्तमान नेपालको संघीय संरचनाभित्र संरक्षित क्षेत्रहरू कसरी आवद्ध गर्ने वा गराउने भन्ने विषयमा गहन बहस आवश्यक छ । समयमै विचार पुर्याउन नसके सुनका फूलहरू सोहोर्ने लुछाचुँडीमा माउ कुखुरी नै नष्ट हुन जाने भय हुन्छ । केन्द्रीय, प्रान्तीय र स्थानीय सरकारहरू संरक्षित क्षेत्रहरूको मूल मर्मलाई बिर्सेर आम्दानीको मात्र पछाडि लागे भने हाम्रा समृद्धिका आधारहरू भत्कने छन् ।
संघीयता र संरक्षण
प्रकृति संरक्षण समृद्धिका आधार हुन् । प्रकृतिलाई नबुझ्किन समृद्धिको बाटोमा लाग्न सकिन्न । प्रकृतिको मूल पाँच तत्व– जल, स्थल, वायु, आकाश र सूर्य प्रकाशलाई स्वस्थ राख्ने काममा वन, वनस्पति र वन्यजन्तु क्रियाशील हुन्छन् । वन, वनस्पति तथा वन्यजन्तुलाई संरक्षण गर्न सकेनौं भने हाम्रो आफ्नो प्राकृतिक स्रोत सबै नष्ट भएर जान्छ । तसर्थ समृद्धिका लागि संरक्षण अपरिहार्य छ । संघीय नेपालमा केन्द्रीय, प्रान्तीय र स्थानीय सरकारहरूको शासन–प्रशासनमा समन्वय भएन भने हालसम्मका प्राप्तिहरू स्वतः जोखिममा पर्नेछन् । विद्यमान ऐन, कानून र नियमहरूमा समयसापेक्ष परिमार्जन गर्न ढिलाइ भयो भने हामी आपसी द्वन्द्वको मारमा पर्छौं । तसर्थ संरक्षित क्षेत्रहरूको व्यवस्थापन हस्तान्तरण हुनुभन्दा पहिले द्वन्द्व उब्जन नदिने वातावरण खडा गर्नुपर्ने हुन्छ ।
यो सन्दर्भमा ‘माउन्टेन स्पिरिट’ नामक गैर–सरकारी संस्थाले गएको २३ चैतबाट प्रारम्भ गरेको ‘संरक्षणमा संघीयताको प्रभाव के कस्तो होला’ भन्ने बहस आफैंमा अर्थपूर्ण बनेको छ । संरक्षणमा जनसहभागिता, जनसहयोग र जनविश्वासका उच्चतम सफलता सामुदायिक वन प्रणाली एवं संरक्षित क्षेत्रका मध्यवर्ती क्षेत्रमा बस्ने बासिन्दाहरूको संस्थागत प्रयासमा उजागर छ । प्रकृति संरक्षणमा दशकौंको मिहिनेत र लगानीबाट स्थापित संस्थागत संरचनाहरूको फेरबदल गरेर संविधान सापेक्षित गर्दै लैजाने क्रममा ठूलो होशियारीका साथ कदम चाल्नुपर्ने हुन्छ । संरक्षित क्षेत्रहरूका भूस्वरुप र जैविक विविधतामा नकारात्मक प्रभाव पार्ने कदमहरू आत्मघाती हुनेछन् ।
नेपालको नक्शामा संरक्षित क्षेत्रहरू हिमाल, पहाड, तराई र मधेशमा छरिएका टापुजस्तै देखिन्छन्– विशेषतः कोशी टप्पु वन्यजन्तु आरक्ष, चितवन, बाँके एवं बर्दिया राष्ट्रिय निकुञ्जहरू । मेचीदेखि महाकालीसम्म चारकोसे झडीको एकै आँचलमा लपेटिएका यी आरक्ष र निकुञ्जहरू अहिले पृथक् टापुमा परिणत हुँदैछन् । भूमण्डलीय अवधारणामा ‘तराई आर्क ल्याण्डस्केप’ एवं चितवन अन्नपूर्ण ल्याण्डस्केप आदि परियोजनाहरू कार्यान्वयन हुन थालेका छन् । जैविक मार्ग प्रशस्त नभएमा जैविक विविधता एवं जैविक प्रणालीमा ह्रास आउँछ भन्ने भविष्यको सोचलाई दृष्टिगत गरेर यी कार्यक्रम अघि सारिएका हुन् । पर्यावरणीय दृष्टिले पृथक् एवं एक्लिएर जाने अवस्थाको त्रासमा परेका हाम्रा संरक्षित क्षेत्रहरू अब आएर राजनीतिक एवं प्रशासनिक पृथकीकरणको चपेटामा पर्न जाने अवस्था सिर्जना भएको छ ।
१२ वटा राष्ट्रिय निकुञ्ज, दुई आरक्ष, ६ वटा संरक्षण क्षेत्र र अन्तर्राष्ट्रिय सिमसारहरू समेत गरेर नेपालको झ्ण्डै २५ प्रतिशत भूभाग संरक्षित क्षेत्रले ओगटेको छ । अहिलेको प्रदेश सीमालाई नियाल्दा प्रदेश–१ मा सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु–वरुण राष्ट्रिय निकुञ्ज, कञ्चनजंघा संरक्षण क्षेत्र तथा कोशीटप्पु वन्यजन्तु आरक्षका केही अंश परेको देखिन्छ । कोशी टप्पुको केही भाग र पर्सा राष्ट्रिय निकुञ्ज प्रदेश–२ मा परेको छ । पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको चितवन राष्ट्रिय निकुञ्जको अधिकांश भाग प्रदेश–३ मा पर्न आएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज, शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज र गौरीशंकर संरक्षण क्षेत्र पनि प्रदेश–३ मा छ । प्रदेश–४ मा अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र र ढोरपाटन शिकार आरक्षको केही अंश पर्न आउँछ । यस प्रदेशमा राष्ट्रिय निकुञ्ज पर्दैन । दुईवटा राष्ट्रिय निकुञ्ज (बाँके र बर्दिया) तथा ढोरपाटन शिकार आरक्षको केही भाग प्रदेश–५ मा परेको छ । प्रदेश–६ मा दुईवटा राष्ट्रिय निकुञ्ज (रारा तथा शे–फोक्सुण्डो) र ढोरपाटन शिकार आरक्षको केही अंश पर्न जान्छ । प्रदेश–७ मा पनि दुई राष्ट्रिय निकुञ्ज (खप्तड तथा शुक्लाफाँटा) र एउटा संरक्षण क्षेत्र अपिनाम्पा परेको छ ।
संरक्षित क्षेत्रहरूमध्ये कुनै संघीय सरकार मातहतमा हुन्छन् भने कुनै प्रान्तीय सरकारको मातहत । स्थानीय प्रशासनले प्रायः सबै मध्यवर्ती क्षेत्रको व्यवस्थापनमा आफ्नो अधिकार खोज्ने अवस्था छ । संघीय संरचनाभित्रको व्यवस्थापनमा लाभको बाँडफाँड पहिलो मुद्दा बन्न पुग्छ । तसर्थ संघीय व्यवस्थापन लागू गर्नुभन्दा पहिले बृहत् छलफलद्वारा आपसी सहमति र समझ्दारी कायम गर्न÷गराउन सक्नुपर्छ ।
संघीयताले स्थापित समृद्धिलाई फोड्ने होइन, जोड्ने काम गर्न सक्नुपर्छ । प्रकृति संरक्षणले स्थापित गरेको समृद्धिमा वृद्धि थप्नु नै समृद्धिको लक्ष्य हो । समृद्ध नेपालको सपना साकार पार्न प्राकृतिक सम्पदा संरक्षण गर्न सक्नुपर्छ । संरक्षणका क्षेत्रमा हालसम्म प्राप्त सफलतालाई दिगो–दह्रो बनाउन समयमै सकारात्मक बहस र विचार आदानप्रदान आवश्यक छ ।
नयाँ वर्ष २०७५ ले सबै नेपालीलाई एकजुट हुने, बलियो आधार बसाल्ने सफलता दिलाओस्, शुभकामना !