नेपालीका साथी मोबाइल र टीभी

Share:
  
- मधु आचार्य
ताजा मत सर्वेक्षणले सूचनाप्रविधिमा बढ्दो पहुँच सँगसँगै आम नेपालीका बदलिंदा रोचक आनीबानी र मनोविज्ञान उजागर गरेको छ।

मधु आचार्य
झट्ट सुन्दा अलि अपत्यारिलो लाग्छ, तर ९६ प्रतिशत नेपालीका हातमा मोबाइल फोन पुगेको छ । रेडियोलाई सूचनाको मुख्य स्रोत मान्ने समाज बदलिइसकेको छ । किनभने, नेपालीका घरघरमा रेडियोभन्दा टेलिभिजन सेट बढी छन् । रोचक के छ भने टेलिभिजन आम नेपालीको सूचनाको मुख्य स्रोत मात्र होइन, सबभन्दा विश्वासिलो माध्यम बनेको छ ।

‘शेयरकास्ट इनिसिएटिभ’ संस्थाले केही महीनाअघि गरेको ‘नेपाल मिडिया ल्याण्डस्केप’ सर्वेक्षणले बाहिर ल्याएको नेपाली समाजको बदलिंदो परिदृश्य हो, यो । गएको जनवरी र फेब्रुअरीमा सातवटै प्रदेश अन्तर्गतका ३८ जिल्लाका ४ हजार १४५ जना उत्तरदातामाझ् गरिएको सर्वेक्षणले नेपालमा इन्टरनेटको पहुँच, मोबाइल फोन र सामाजिक सञ्जालको प्रयोग तथा आमसञ्चारका माध्यमबारे चाखलाग्दा तथ्य अगाडि सारेको छ ।

हातहातमा मोबाइल, मोबाइलमा इन्टरनेट

केही वर्षअघिसम्म विलासिताको साधन झैं मानिने मोबाइल फोन अहिले नेपालीमाझ् अत्यावश्यक र सञ्चारको सबभन्दा प्रचलित साधन बन्न पुगेको छ । सर्वेक्षणमा सहभागी उत्तरदातामध्ये ९६ प्रतिशतका घरमा कम्तीमा पनि एकजनाले मोबाइल फोन प्रयोग गरिरहेको देखिनु र ९० प्रतिशत उत्तरदातासँग आफ्नै मोबाइल फोन हुनुले त्यही देखाउँछ । मोबाइल प्रयोगकर्तामध्ये आधाभन्दा बढीसँग स्मार्ट फोन छ ।

मोबाइल फोन प्रयोगकर्ताहरूको संख्या सबभन्दा धेरै प्रदेश–४ मा देखियो । सर्वेक्षणमा सहभागी प्रदेश–४ का उत्तरदातामध्ये ९९ प्रतिशतसँग मोबाइल फोन छ । र, यीमध्ये ६४ प्रतिशतसँग स्मार्ट फोन छ ।

सर्वेक्षणमा सहभागी उत्तरदातामध्ये ३५ प्रतिशतले इन्टरनेटमा नियमित पहुँच रहेको बताए, जसमध्ये २४ प्रतिशतले दैनिक इन्टरनेट उपयोग गरिरहेका छन् । ६३ प्रतिशत नेपाली इन्टरनेटको पहुँचमा छन् भन्ने नेपाल टेलिकमको भनाइ यो तथ्यसँग मेल खाँदैन । इन्टरनेटमा नियमित पहुच भएका देशभरका ३५ प्रतिशत उत्तरदातामध्ये ९८ प्रतिशतले इन्टरनेट चलाउन मोबाइल फोनको प्रयोग गरिरहेका छन् । ५.२ प्रतिशत उत्तरदाताले मात्र ल्यापटप/ट्याब्लेटमा इन्टरनेट चलाउने गरेको बताए भने डेस्कटप कम्प्युटरमा इन्टरनेट चलाउनेको संख्या ०.८ प्रतिशत मात्र छ । मोबाइल फोनको विस्तारसँगै सूचनाप्रविधिको उपयोगमा नेपालीले छलाङ मारेको उदाहरण पनि हो, यो ।

सर्वेक्षणमा सहभागी इन्टरनेट प्रयोग गर्ने उत्तरदातामध्ये करीब तीनचौथाइले इन्टरनेटका लागि मोबाइल डेटाको प्रयोग गर्छन् । १९ प्रतिशतले मात्र घरमा ब्रोडब्याण्ड इन्टरनेट वा वाईफाई प्रयोग गरिरहेका छन् । स्मार्ट फोनको उपलब्धता, टेलिकम सेवाप्रदायक कम्पनीहरूको प्रतिस्पर्धी मूल्य दर र त्यसबाट स्थापित मोबाइल डेटामा सहज पहुँचले गर्दा मोबाइल प्रयोगकर्तालाई इन्टरनेट प्रयोगमा हौस्याएको देखिन्छ । यसले ब्रोडब्याण्ड वाईफाई अझ्ै पनि शहरी क्षेत्रमै सीमित रहेको देखाउँछ ।

इन्टरनेट प्रयोगकर्तामध्ये सबैभन्दा बढी (८१ प्रतिशत) ले फेसबूक चलाउँछन् । त्यसपछि क्रमशः म्यासेन्जर (४३ प्रतिशत), इमो (२० प्रतिशत), भाइबर (३.८ प्रतिशत) र ह्वाट्सएप (३.६ प्रतिशत) का प्रयोगकर्ता छन् । १६ देखि २४ वर्ष उमेर समूहका ८६ प्रतिशत उत्तरदाताले फेसबूक चलाउने गरेको सर्वेक्षणले देखाएको छ । यो आँकडा केलाउँदा करीब ८० लाख नेपालीले फेसबूक प्रयोग गर्ने गरेको अनुमान गर्न सकिन्छ । वैदेशिक रोजगारमा गएका आफन्तसँग कुरा गर्न अधिकांशले इमो प्रयोग गर्छन् । हाम्रो पात्रो नै एक मात्र त्यस्तो नेपाली एप हो, जुन १.३ प्रतिशत इन्टरनेट प्रयोगकर्ताको रोजाइमा परेको छ ।

बलियो विश्वासिलो टीभी

सर्वेक्षणको नतिजाले देखाउँछ– विद्युतीय सञ्चारमाध्यममा टेलिभिजनले रेडियोलाई समेत उछिनेको छ । ५६ प्रतिशत उत्तरदाताले आफ्नो घरमा टेलिभिजन रहेको बताए भने २९ प्रतिशतसँग मात्रै परम्परागत ‘रेडियो रिसिभर’ छ । विद्युत्मा पहुँच, डीटीएच र केबल लाइनको उपलब्धतासँगै रेमिटेन्सको बचत (सर्वेक्षणमा सहभागी तीनमध्ये एकजना उत्तरदाताले आफ्नो परिवारका कम्तीमा एकजना वैदेशिक रोजगारमा गएको बताएका थिए) ले घरघरै टीभी सेट भित्रिएको यसले देखाउँछ । यद्यपि, रेडियोका श्रोता नै घटेका होइनन् । ५६ प्रतिशत उत्तरदाताले आफ्नो मोबाइल फोनमा रेडियो सुन्ने गरेको बताएका छन् । २१ प्रतिशत उत्तरदाताले पछिल्लो ६ महीनामा एक पटक मात्र पत्रिका हेरेको बताए भने दैनिक पत्रिका पढ्नेहरू ६ प्रतिशत मात्र छन् । रोचक के छ भने दैनिक पत्रिका पढ्नेहरू पनि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारका लागि रेडियो र टेलिभिजनमै भर पर्छन् ।

सर्वेक्षणमा सोधिएको एउटा प्रश्न थियो– तपाईंका लागि सबैभन्दा भरपर्दो सूचना प्राप्त गर्ने माध्यम कुन हो ? यो प्रश्नको उत्तरमा एकतिहाइ उत्तरदाताले टेलिभिजन र रेडियोलाई भरपर्दो सूचनाको माध्यम भएको बताए भने छापा माध्यम (पत्रपत्रिका) मा विश्वास गर्नेको संख्या तीन प्रतिशत मात्र देखियो । इन्टरनेटमा भेटिएका सूचनालाई भरोसायोग्य ठान्ने उत्तरदाता भने दुई प्रतिशत भन्दा पनि कम भेटिए । यस्तो ठान्ने उत्तरदातामध्ये अधिकांशले अनलाइनहरूमा आएका सूचनाभन्दा छिमेकीले भनेका कुरा बढी विश्वसनीय हुने गरेको बताए ।

८५ प्रतिशत नेपाली समाचारका लागि टेलिभिजन च्यानल हेर्छन् । मनोरञ्जनका लागि टेलिभिजन हेर्ने उत्तरदाताको संख्या भने ४३ प्रतिशत मात्र छ । टेलिभिजनका नियमित दर्शकमध्ये ८६ प्रतिशतले बेलुकी टीभी हेर्छन्, जसमा महिलाको संख्या धेरै छ । अधिकांश पुरुषहरूले बिहानको समयमा टेलिभिजन हेर्ने गरेको पाइयो । उमेर समूह, भौगोलिक क्षेत्र, प्रादेशिक, शिक्षा, पेशालगायतका सबै ‘भेरिएबल’ अनुसार पनि यो समय यथावत् देखिन्छ । सर्वेक्षणमा सहभागीहरूको मत छ– नेपाली टेलिभिजन च्यानलमा मनोरञ्जनका कार्यक्रम राम्रा छैनन् ।

टेलिभिजन प्रयोगकर्तामध्ये ३५ प्रतिशतले घरमा सेटअप बक्स विनाको केबल टेलिभिजन रहेको बताए भने ३३ प्रतिशत चाहिं नेपालको एक मात्र ‘डाइरेक्ट टू होम– डीटीएच’ सँग जोडिएका छन् । बाँकी ३२ प्रतिशतले भने स्थानीय सेटअप बक्स, भारतीय डीटीएचलगायत जडान गरेको बताए । सबै केबल टेलिभिजन कम्पनीहरू डिजिटल प्रणालीमा जानुपर्ने सरकारको नयाँ नीतिले भने चाँडै नै यो परिदृश्य बदल्न सक्छ ।

comments powered by Disqus

रमझम