२-८ वैशाख २०७५ | 15-21 April 2018

मालामाल दलाल

Share:
  
- फुर्पा तामाङ
सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन नसक्दा देशकै अर्थतन्त्रको मेरुदण्ड बनेको यो क्षेत्र धेरैको लागि शोषणको माध्यम बनिरहेको छ।

बिक्रम राई
रोजगारीका लागि मलेशिया जाँदै बाराका वजुल मिया (३६), त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा ।
२०४६ सालपछिको खुला परिवेशमा रसुवा जिल्लाबाट पहिलो पटक वैदेशिक रोजगारीमा जापान जाने सम्भवतः राम्चेका लालबहादुर तामाङ नै हुनुपर्छ । उनीपछि सानोभार्खुका फुर्पु पासाङ तामाङ, धुन्चेका विजय लामा, गोल्जोङका दावा गोम्बो तामाङलगायत दक्षिण कोरिया पुगे । त्यसपछि धुन्चेकै दावा लोप्साङ तामाङ सिंगापुर गए । फुर्पु पासाङ त कोरियाबाट फर्केर श्रीमती छेटेन तामाङलाई पनि लिएर ताइवान पसे ।

माओवादीले हिंसात्मक विद्रोहको दबाब बढाएसँगै २०५५/५६ सालतिर मलेशिया, साउदी अरबलगायतका देश जाने क्रम बढ्यो । माओवादीहरूले आफ्नो सेनामा लैजान खोज्ने र राज्यले शंकालु दृष्टिले हेर्ने भएपछि अन्य जिल्लाका जस्तै रसुवाका युवाले पनि वैदेशिक रोजगारमा जानुलाई सुरक्षित ठाने । २०६० पछि त रसुवाली युवक–युवतीका लागि इजरायल, कुवेत, इराक, किर्गिस्तान, जोर्डन, लेबनान, साइप्रस आदि मुलुक पनि मुख्य गन्तव्य हुनपुगे । उनीहरूलाई श्रम स्वीकृति भएका, नभएका ती देशहरूमा पुर्‍याउने अनेक किसिमका चोर बाटोहरू प्रयोग गरिए । करीब ५० हजार जनसंख्या भएको रसुवाका हरेक १० मध्ये ८ घरबाट वैदेशिक रोजगारमा गएको अनुमान छ ।

बाध्यताको सपना

वस्तु विनिमयको प्रचलन पूर्ण रूपमा हराएकोले पनि पुख्र्यौली पेशाहरू छाडेर नगद आम्दानीका नयाँ पेशा–व्यवसायको चलन बढेको छ । यसको लागि सबभन्दा सजिलो विकल्प वैदेशिक रोजगार हुन पुगेको छ । दक्ष, अर्धदक्ष, अदक्ष, निरक्षर सबैलाई सजिलै वैदेशिक रोजगारमा लैजान दलालहरू गाउँ–गाउँमा हाजिर छन् । दलालहरू जसलाई, जुनसुकै उपाय लगाएर पनि विदेश पठाएर कमिशन कुम्ल्याउन दत्तचित्त भएर लागेका छन् । जानेहरू पनि सही परामर्श र बाटोबारे उति ध्यान दिंदैनन् । विदेशमा नगद कमाउन भनेपछि नक्कली नागरिकता र राहदानी समेत प्रयोग गरेर उड्ने आँट गर्नुले यही बताउँछन् ।

गाउँबाट युवा बटुल्ने साना दलालहरूले कमिशन बापत केही रकम बुझने र काठमाडौंका ठूला दलाल (म्यानपावर कम्पनी) हरूले विदेश उडाउने चाँजोपाँजो मिलाउँछन् । विदेशमा समस्या परे कहिलेकाहीं साना दलाल समातिन्छन्, ठूला दलालहरू कारबाहीमा परेको विरलै सुनिन्छ । यो समस्यामा सरकारको पहलकदमी सन्तोषजनक छैन ।

गाउँघरमा आम्दानीका स्रोत छैनन्, पढेकाले पनि जागिर पाउँदैनन् । अर्कोतिर बदलिएको जीवनशैली र उपभोगको तरिकाले नगद आम्दानीलाई निर्विकल्प बनाएको छ । यसरी वैदेशिक रोजगारी सन्तानलाई बोर्डिङ स्कूलमा पढाउने, मीठो खाने, राम्रो लाउने सपनासँग जोडिन पुगेको छ । यो स्वाभाविक सपनाको यात्रामा निस्कनेमध्ये धेरैले विदेशमा नसोचेको कष्ट पाउँछन्, कतिले मृत्युवरण गर्छन् । यही चैतमा चिलिमेकी सरिता तामाङको मृत्युको दुःखद् खबर सुन्नु पर्‍यो । सानोभार्खुका कामी तामाङ, नागुङका सोनाम तामाङहरू पनि बाकस बन्द भएर घर आए ।

अरब देशहरूमा घरेलु कामदार बन्न पुगेका महिलाहरूलाई घरमालिक र उसका नातेदारहरूले यौन शोषण गरेको, गर्भवती बनाएको, शारीरिक–मानसिक यातना दिएको खबर पनि सामान्य बन्न थालेका छन् ।

प्रभाव र परिवर्तन

वैदेशिक रोजगारीमा गएकाहरूको कमाइले परिवारहरूको खर्च टार्न त सजिलो भएको छ नै देशको अर्थतन्त्रमा समेत टेवा पुगेको छ । सन्तानलाई शिक्षा, रोग लाग्दा उपचार र चाडबाडको बेला साहूको मुख ताक्नु नपर्ने भएको छ । राम्रो लाउन र मीठो खान सहज भएको छ । विदेशबाट फर्केपछि नयाँ घर बनाउने र घर बनाउन नसक्नेहरूले पनि घर–आँगनहरू सफासुग्घर राखेको दृश्य बाक्लै देखिन थालेको छ । यसबाट व्यक्ति र परिवारको आत्मसम्मान बढेको छ ।

वैदेशिक रोजगारले गर्दा सम्बन्ध चिसिएर सम्बन्धविच्छेद गर्ने दम्पतीहरूको संख्या पनि बढेको छ । लामो समय विदेशमा कमाएको भएभरको कमाइ लिएर श्रीमती अर्कैसँग भागेका घटना दोहोरिन थालेका छन् । विदेशमा श्रीमतीले दुःखले कमाएको पैसा घरमा अर्की महिलासँग उडाउने श्रीमान्हरू पनि छन् । त्यस्तै, गाउँघरमा कुखुरा पाल्ने चलन छोडेर ब्रोइलरको मासु किनेर खाने, कोदो, मकै, जौको रक्सीको साटो बियर, ह्विस्की, रम आदिमा रम्ने चलन चलेको छ । खेतीपाती, पशुपालन छोडेर सबै थोक बजारमा किनेर खाने चलन नवसंस्कृतिकै रूपमा विकास भएको छ ।

विधिशास्त्रको न्याय सम्बन्धी सिद्धान्तले भन्छ– ‘आफ्ना नागरिकलाई शान्ति र सुरक्षा दिन नसक्ने राज्यले नागरिकबाट कर उठाउन पनि मिल्दैन ।’ हाम्रो सरकारले अहिले नै वैदेशिक रोजगारको उत्तम विकल्प दिन सक्तैन, तर देशको अर्थतन्त्रलाई समेत भरथेग गरेको यो क्षेत्रलाई सुरक्षित, मर्यादित र दलालको चंगुलबाट मुक्त गराउन सक्छ ।

(तामाङ अधिवक्ता हुन् ।)

comments powered by Disqus

रमझम