२-८ वैशाख २०७५ | 15-21 April 2018

चियाम्पेन

Share:
  
- सिकुमा राई
ढिलै सही, नेपाली चिया अन्तर्राष्ट्रिय बजारमा आफ्नै ब्राण्ड भने स्थापित गर्ने बाटोमा छ।

गोपेन राई
नेपालबाट निर्यात हुने उच्च मूल्यको उत्पादन बन्ने सम्भावनासहित अर्थोडक्स नेपाली चियाले नयाँ अन्तर्राष्ट्रिय बजार सिर्जना गर्दैछ । सामान्य चिया उत्पादनमा भन्दा बढी हेरविचार र गुणस्तर नियन्त्रण चाहिने यो परिष्कृत चियाका उत्पादक र निर्यातकर्ताहरू बढिरहेका छन् । उच्च पहाडी भेगमा उत्पादित मौलिक स्वादको नेपाली चियाले अन्तर्राष्ट्रिय पारखी लोभ्याउँदैछ ।

नेपालबाट निर्यात हुने कुल चियाको ८० प्रतिशत ‘सीटीसी भेराइटी’ नै हो । तर, पछिल्लो समय अर्थोडक्स वा विशिष्टीकृत चियाले अन्तर्राष्ट्रिय बजारमा पहुँच बढाएको छ । यसले नेपाली चियाको आफ्नै ब्राण्ड बनाउने लामो समयको प्रयासलाई सहयोग पुर्‍याएको छ– भारतको दार्जीलिङ र श्रीलंकाको सिलोन जस्तै । तीमध्ये एक हो, राकुरा । “अन्तर्राष्ट्रिय ब्राण्डका अन्य चियाहरू जस्तै राकुरा को बजार प्रवद्र्धनमा प्रयत्नशील छौं”, उद्योगी निरज राठी भन्छन् ।

उच्च गुणस्तरको चिया उत्पादन गर्न सकिने क्षमता र सम्भावना हुँदाहुँदै पनि नेपालले अहिलेसम्म ‘नेपाली ब्राण्ड’ स्थापित गर्न सकेन । त्यसो त देशभित्रै गुणस्तरीय चिया उत्पादन भइरहेको बारे पनि कमैलाई मात्र थाहा छ ।

नेपाल चिया तथा कफी विकास बोर्ड यतिबेला नेपाली अर्थोडक्स चियालाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन व्यापारिक चिह्न प्रदान गर्ने तयारीमा छ । ‘नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४’ तयार भएपछि ‘क्वालिटी फ्रम द हिमालयाज्’ ट्याग लाइनसहितको चिह्न कार्यान्वयनमा आएको हो ।

“लोगोले हाम्रो चियाको मापदण्ड प्रमाणित गर्छ” बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतम भन्छन्, “लोगोसहितको प्याकेटभित्रको चिया उत्पादनका क्रममा अनुगमन गरिएको, प्रमाणित र उच्च गुणस्तरको छ भन्ने हो ।”

त्यसो त अन्तर्राष्ट्रिय बजारका उपभोक्ताहरू जुन चियाबारी जस्ता उच्च पहाडी उत्पादनसँग परिचित भइरहेका छन्, जसले मौलिक स्वादका २० थरी चिया उत्पादन गरिरहेको छ । “सामान्य अन्तर्राष्ट्रिय उपभोक्तालाई नेपालबारे खासै थाहा हुँदैन, त्यसैले हिमालय शब्द जोड्नुपर्छ”, जुन चियाबारी का लोचन ज्ञवाली भन्छन् । परम्परागत नेपाली चिया र दार्जीलिङको चियाको स्वाद उस्तै भएका कारण ग्राहक अलमलमा परेकाले पनि आफूहरूले नयाँ र फरक स्वादका चिया उत्पादन गरेको ज्ञवाली बताउँछन् । “फरक स्वाद र वासनाले अरू चिनिएका चियाभन्दा हाम्रो उत्तम र बेग्लै छ”, उनी भन्छन् ।

धनकुटाको हिलेमा बगान रहेको जुन चियाबारी ले आफ्ना उत्पादन जापान, अमेरिका, क्यानाडा र यूरोपमा निर्यात गरिरहेको छ । जुन चियाबारी को हिमालयन पाइन, हिमालयन एभरग्रिन, हिमालयन शिवा र हिमालयन स्प्रिङ अन्तर्राष्ट्रिय बजारमा प्रिय छन् ।

“सामान्य अन्तर्राष्ट्रिय उपभोत्ताmालाई नेपालबारे खासै थाहा हुँदैन, त्यसैले पनि हिमालय शब्द जोड्नुपर्छ।”

लोचन ज्ञवाली

जुन चियाबारी

परम्परागत चियाभन्दा बेग्लै तरिकाले बनाइने र खाइने यो अर्थोडक्स चिया समारोहमा चिसो पारेर स्याम्पेन जसरी पनि खाइन्छ । विशेष प्रक्रियाबाट उत्पादन गरिएका चियाको बोट (कल्टिवार्स) बाट चिया उत्पादन गरिन्छ । बुटा हुर्काउनेदेखि, पात टिप्ने, केलाउनेमा समेत विशेष ध्यान दिएर बेग्लै प्रक्रिया अपनाइन्छ । ज्ञवाली दार्जीलिङ भेराइटीको खराब नक्कल भन्दा बेग्लै तरिकाले चिया उत्पादन गरिरहेको बताउँछन् । कफीबाट मोहभंग भइसकेका यूरोप र पूर्व एशियाका स्वास्थ्यप्रति संवेदनशील उपभोक्ताहरू आफ्ना उत्पादनमा आकर्षित भएको उनको भनाइ छ ।

“ब्राण्डिङको नयाँ अभ्यास गर्दागर्दै पनि, नेपालमा उच्च गुणस्तरको चिया उत्पादन निकै कम छ” गोर्खा टी स्टेट र नेचर हिमालयन टी का उदय चापागाईं भन्छन्, “उचित खाद्य सुरक्षा उपाय र गुणस्तर नियन्त्रणको मापदण्ड पूर्णरूपमा पालना नहुने हो भने ब्राण्ड खस्किन बेर लाग्दैन ।”


बगानबाट कपसम्म

दुई पात र कोपिला सहितको मुनाबाट शुरु हुन्छ चिया जीवन ।

कलिलो मुना टिप्नका लागि श्रमिकहरु प्रशिक्षित हुन्छन् ।

टिपिएको पात ओइलाउनका लागि खुलामा यसरी राखिन्छ ।

पातलाई हात वा मेशीनले माडिन्छ ।

गुच्छा परेका पातलाई टुक्राइन्छ र अक्सिडाइज गरिन्छ ।

चियाको प्रकार अनुसार पातलाई निश्चित तापक्रममा तताइन्छ ।

लामो समयसम्म गुणस्तर कायमै राख्न पातमा भएको पानीको मात्रा कम पारिन्छ ।

सुक्खा पत्तीलाई एकपटक फेरि केलाइन्छ ।

चियाको गुणस्तर उपयुक्त रहे/नरहेको चिया जाँचकी (टी टेस्टर) ले परीक्षण गर्छन् ।

comments powered by Disqus

रमझम