असुरक्षित लुम्बिनी

Share:
  
- वसन्त महर्जन
लुम्बिनीको सुरक्षाबारे नयाँ ढंगले सजग हुन ढिलो भइसकेको छ।

७ जुलाई २०१३ को साँझ् प्रसिद्ध बौद्ध सम्पदास्थल महाबोधि मन्दिर परिसर (बोधगया) मा लगातार १० वटा बम विस्फोट हुँदा संसार स्तब्ध हुनाको एउटा कारण त्यतिबेला भारतमा बौद्ध विषयवस्तुलाई लिएर कुनै विवाद नहुनु थियो । अनेक मुद्दामा बम विस्फोट हुनु भारतमा नौलो कुरा होइन । त्यतिबेला बौद्धस्थलमा बम विस्फोट गराउँदा अन्तर्राष्ट्रिय ध्यानाकर्षण हुने ठानेर त्यो गरियो । त्यस घटनापछि बौद्ध स्थलहरूको सुरक्षा चुनौती महसूस गरियो ।

नेपालमा भने त्यस्तो बोध भएको देखिएन । गत १२ चैत सोमबार लुम्बिनीको मायादेवी मन्दिर परिसरमा भएको एउटा घटनाले त्यहाँको सुरक्षा व्यवस्थामाथि प्रश्न उठायो । त्यो सोमबार साँझ् ५ देखि ६ बजेबीचको समयमा ४०–५० जना ताइवानी भिक्षुले मन्दिर परिसरमा खाडल खनेर मानव अस्तुजस्तै देखिने साना ठूला गरी २१९ वटा पोका, कपालका गुजुल्टाका १४ पोका र मानव बङ्गारा पुरेर फर्केको सुरक्षा संयन्त्रलाई अत्तोपत्तो भएन । मायादेवी मन्दिर परिसरमा आगन्तुकहरूलाई पूजापाठ, ध्यान–साधना र घुमघामबाहेक अरू क्रियाकलाप गर्ने छूट छैन । त्यस्तो छूट हुनु पनि हुँदैन । थप क्रियाकलाप गर्नुपरे लुम्बिनी विकास कोषबाट स्वीकृत लिनुपर्ने नियम छ । यो स्थल विश्व सम्पदा सूचीमा परेका कारण लुम्बिनी विकास कोष पनि युनेस्कोको मापदण्डभित्र रहनुपर्दछ । तर, ताइवानी भिक्षुहरूको गतिविधि कोषले १५ चैत बिहीबार मात्र थाहा पायो र सो खाल्डोबाट ती कुराहरू झ्किेर लियो ।

लुम्बिनीमा साढे तीनसयभन्दा बढी सुरक्षाकर्मी परिचालित हुन्छन्, तर ताइवानी समूहले घन्टौं खाल्डो खनेर ती वस्तु पुरेर जाँदा उनीहरूले चाल नपाउनु रहस्यमय छ । मायादेवी मन्दिर परिसरमा जडान गरिएको सीसीटीभी क्यामेरा पनि यस प्रकरणमा अर्थहीन भयो । लुम्बिनी विकास कोषका पदाधिकारी, कर्मचारी र सुरक्षाकर्मीहरूलाई सो कुराको जानकारी भए पनि आर्थिक प्रलोभनलगायतका कारणले आँखा चिम्लिदिएको आशंका गर्ने ठाउँहरू पनि थुप्रै छन् । ती ताइवानीहरू मृत आफन्तजनको अस्तु लुम्बिनीजस्तो ठाउँमा गाड्न पाउँदा राम्रो हुन्छ भन्ने धार्मिक भावनाबाटै प्रेरित भएको देखिए पनि मायादेवी मन्दिर परिसरमा त्यस्तो क्रियाकलाप गर्न दिनुपर्छ भन्ने हुदैन ।

अर्को कुरा लुम्बिनीमा सर्वसाधारणमाथि मात्र सुरक्षा वा अन्य नीतिनियम र प्रावधानहरू लागू गर्ने हो भने थिति होइन ज्यादती हुन्छ । त्यसबाट विदेशी, पहुँचवाला वा पैसावालाले जे गर्दा पनि हुन्छ, कोषका निश्चित पदाधिकारीलाई प्रभावित पारेर जे पनि फत्ते गर्न सकिन्छ भन्ने सन्देश पनि जान्छ । २०७१ साल मंसीरको अन्तिम हप्तातिर तत्कालीन भारतीय राजदूत रन्जित रे मायादेवी मन्दिर परिसरमा बोधगयाबाट ल्याइएको बोधिवृक्ष रोपेर हिंडेका थिए । मन्दिर परिसरमा त्यो गलत काम हो भनेर कोषका पदाधिकारीहरू राम्रै जानकार थिए । त्यो नकामको व्यापक विरोध हुँदा कोषका पदाधिकारीहरू त्यसबारे आफूहरू अनभिज्ञ रहेको भनी पन्छिएका थिए । त्यसरी त्यसबेला पनि कोष आफ्नो विधिविधानमा अडिंदैन, कुनै प्रकारको प्रभावमा पर्छ भन्ने देखिएको थियो ।

बौद्ध धर्म–संस्कृतिसम्बन्धी जानकारीका अभावमा पनि लुम्बिनीका पदाधिकारीहरू कतिपय कुरामा निर्णय लिन/दिन हच्किने गरेको पाइन्छ । कतिपय थाईलगायत विदेशी श्रद्धालुहरू लुम्बिनीमा सुनौलो स्टिकर टाँसेर जान्छन् । श्रद्धा चढाउन टाँस्ने यो स्टिकरको उनीहरूका देश वा समाजमा आफ्नै महत्व होला, तर लुम्बिनीमा पुरातात्विक सामग्रीहरूमा नै टाँसिंदा नकारात्मक असर परिरहेको छ । यो निकै संवेदनशील कुरा हो । बौद्ध आस्थासँगै सम्बन्धित भए पनि कोषले पुरातात्विक संवेदनशीलतालाई ध्यानमा राखेर यस्ता क्रियाकलापमा कडाइसाथ रोक लगाउनुपर्छ । राम्ररी बुझउने हो भने विदेशी श्रद्धालुहरूले सहजै मान्छन् पनि । विदेशीले टाँसेका स्टिकर नेपाली श्रद्धालुहरूले उप्काएर प्रसादका रूपमा लैजाने गरेको पनि पाइन्छ । त्यसले लुम्बिनीका ईंटालगायत पुरातात्विक वस्तुहरूमा थप नकारात्मक असर परिरहेको छ ।

मायादेवी मन्दिर परिसरमा विद्युतीय चेकजाँच हुने एउटै मात्र प्रवेशद्वार भए पनि त्यहाँ राम्ररी जाँच हुँदा धेरै प्रकारका अवाञ्छनीय गतिविधि नियन्त्रण हुन सक्छ । गत वर्षको माघ अन्तिम साता बौद्ध भिक्षुको आवरणमा लुम्बिनी पुगेका शुरूमा आफूलाई भारतीय भनी परिचय दिने एकजना शंकास्पद इराकी नागरिक सुरक्षाकर्मीको आँखामा छारो हालेर भाग्न सफल भएको थियो ।

यस पटकको घटनामा ताइवानी भिक्षुहरूले अस्तुलगायतका वस्तुहरू ताइवानबाटै लिएर आएका हुन् भन्ने पक्का छ । ती वस्तुहरू चेकजाँचका क्रममा काठमाडौं विमानस्थलमै बरामद हुनुपर्थ्यो, तर भएन र मायादेवी मन्दिर परिसरमा खाडल खनेर पुर्दासम्म पनि सुरक्षाकर्मीहरूले भेउ पाएनन् । यसले हाम्रो सुरक्षा संयन्त्रको फितलोपन देखाउँछ । यो अवस्थालाई कायम राखेर बस्दा बोधगयाको महाबोधिमा भएजस्तो घटना भयो भने के गर्ने ? जबकि, तत्काल चर्चाका भोका अतिवादी समूहको जताततै बिगबिगी छ अहिले ।

comments powered by Disqus

रमझम