प्रजातन्त्रको मृत्यु

Share:
  
- शंकर तिवारी

अमेरिकामा डोनाल्ड ट्रम्पको उदय, भारतमा नरेन्द्र मोदीको वर्चस्वशाली सत्तागमन पछि नेपालमा पनि राष्ट्रवादी लहर आयो, परिणाम केपी शर्मा ओली प्रधानमन्त्री चुनिए । तर यतिबेला विख्यात अमेरिकी विश्वविद्यालय हार्वर्डका दुई प्राध्यापक स्टिभन लेभिट्स्की र डानियल जेब्लाट लोकतान्त्रिक व्यवस्थाहरू किन संकटोन्मुख भइरहेका छन् भन्नेमा केन्द्रित पुस्तक हाउ डेमोक्रेसिज डाई– ह्वाट हिस्ट्री रिभिल्स अबाउट आवर फ्यूचर का कारण चर्चामा छन् । पुस्तकले प्रजातान्त्रिक निर्वाचनमार्फत नै सत्तामा पुग्ने नेता कसरी अधिनायकवादतर्फ उन्मुख हुन्छन् र प्रजातान्त्रिक विधिबाटै प्रजातन्त्रको हरण गर्छन् भन्ने कुराको बेलिविस्तार गरेको छ । समस्या मात्र होइन, समाधानको सूत्र पनि सुझाइएको छ ।

बीसौं शताब्दी र शीतयुद्धकालमा फासीवाद, साम्यवाद वा सैनिक शासनका माध्यमबाट तानाशाही शासन लाद्ने गरिन्थ्यो । तर आजकल सैनिक ‘कु’ दुर्लभ बन्दै गएको छ । अधिकांश देशमा आवधिक निर्वाचन भइराख्छन् । बर्लिन पर्खाल ढलेको समयलाई शीतयुद्ध अन्त्य भएको मान्दा लोकतान्त्रिक शासन व्यवस्थाको क्षयमा सैनिकभन्दा निर्वाचित सरकारको भूमिका बढिरहेको देखिन्छ । ह्युगो चाभेजले भेनेजुएलामा जसरी लोकतान्त्रिक संस्थाहरूलाई धरासायी बनाए, जर्जिया, हंगेरी, निकारागुवा, पेरु, फिलिपिन्स, पोल्याण्ड, रुस, श्रीलंका, टर्की र युक्रेनमा पनि त्यही देखियो ।

जननिर्वाचित नेताहरूले नै प्रजातन्त्रको हत्या गर्न सक्ने हुँदा सैनिक कु, मार्सल ल वा संविधानको निलम्बन विना पनि तानाशाही शासन व्यवस्थाको अभ्यासको थालनी भएको देखिन्छ । सरकारको विरोध गर्नेलाई ‘कराउने ब्वाँसो’ को आरोप लगाउने नजिर बसेको छ ।

पुस्तक हाउ डेमोक्रेसिज डाई– ह्वाट हिस्ट्री रिभिल्स अबाउट आवर फ्यूचर

लेखक स्टिभन लेभिट्स्की र डानियल जेब्लाट

प्रकाशक भिकिङ (पेन्गुइन बुक्स)

पृष्ठ ३१२+८

मूल्य रु.१११८

धेरैले अनुमान गरेजस्तो, संयुक्त राज्य अमेरिकाका लोकतान्त्रिक संस्था र पद्धतिहरू जन्मजात आएका वा स्थापित भएका होइनन् । ती त राजनीतिक समूह, विचारधारा र पार्टीहरूबीचको निरन्तरको घर्षणबाट उत्पन्न भएका हुन् । अमेरिकाको संविधान लेखिंदा डेमोक्रेटिक वा रिपब्लिकन पार्टी स्थापना भएकै थिएन । तेत्तीसौं संशोधन हुँदा समेत अमेरिकी संविधानले राजनीतिक दलबारे औपचारिक रुपमा बोलेको छैन । संविधान जारी हुँदा अमेरिका मूलतः फेडरालिष्ट र एन्टी फेडरालिष्ट दुई कित्तामा विभाजित थियो । पुस्तकमा अमेरिकी लोकतन्त्रले कुन कुन अवस्थामा महत्वाकांक्षी नेताहरूको गैरलोकतान्त्रिक चरित्रबाट शासन व्यवस्थालाई जोगाउन सफल भयो भन्नेमा सविस्तार चर्चा गरेको छ ।

पुस्तकमा उल्लिखित नेताहरूको आचरण अध्ययन गर्ने हो भने उनीहरू कसरी अधिनायकवादतर्फ उन्मुख हुन्छन् भन्ने पत्ता लगाउन सकिन्छ । पहिलो, प्रचलित लोकतान्त्रिक नियमलाई बोलेर वा कामबाट बेवास्ता गर्ने, दोस्रो प्रतिपक्षको वैधानिकतालाई उपेक्षा गर्ने, तेस्रो हिंसालाई सहने वा प्रोत्साहन गर्ने, चौथो प्रतिपक्ष र विरोधीहरूको नागरिक अधिकारलाई निलम्बित गर्ने र सञ्चारमाध्यमको नियमन गर्ने ।

कुनै पनि राजनीतिज्ञले जब उल्लिखित चारमध्ये कुनै एक सीमारेखा पार गर्छ, ऊ लोकतन्त्रको स्वास्थ्यका हिसाबले सन्देहको घेरामा पर्छ । तानाशाहको ‘लिटमस टेष्ट’ मा धेरैजसो प्रोफाइलिष्ट (प्रियतावादी) नेताहरू पास हुन्छन् । यस्ता प्रोफाइलिष्टले स्थापित राजनीतिक शक्ति वा पार्टीको वैधतामा प्रश्न गर्दछन्, अप्रजातान्त्रिक र अराष्ट्रवादीको आरोप लगाउँदै । उनीहरूले मतदातालाई मौजूदा व्यवस्थाको लोकतान्त्रिक नभएर, भ्रष्ट, ठालुहरूको राज भएको, प्रजातन्त्रको अपहरण गरिएको हल्लाखल्ला गर्छन् । यस्ता ‘पपुलिष्टहरू’ जब चुनावमा विजयी हुन्छन्, तब व्यवस्था भित्रबाटै प्रजातान्त्रिक विधि र पद्धतिको तेजोबध गर्दछन् । ल्याटिन अमेरिकी नेताहरू अल्बर्टो फुजिमोरी, ह्युगो चाभेज, इभो मोरालेज, लुसियो गुटिरेज र राफेल कोरियाको यस्तै उदाहरण हुन् ।

तानाशाही वृत्ति भएका नेताहरूलाई सत्ताबाट टाढा राख्न भने सजिलो छैन । किनकि लोकतन्त्रले राजनीतिक पार्टी वा नेताहरूलाई चुनावी प्रतिस्पर्धाबाट प्रतिबन्धित गर्न सक्दैन । यसको अचूक उपाय भनेको लोकतन्त्रका पहरेदारहरू उत्तरदायी हुनु नै हो । लोकतन्त्रका पहरेदारहरूले पाँच तरिकाबाट अतिवादी शक्तिहरूलाई किनारा लगाउन सक्छन्, पहिलो अतिवादी रुझान भएकालाई पार्टीको आन्तरिक चुनावबाट टाढा राख्ने, दोस्रो पार्टीको तल्लो तप्काबाट नै उक्लन नदिने, तेस्रो लोकतन्त्रवादी शक्तिले गैरलोकतान्त्रिक पार्टी र उम्मेदवारसँग चुनावी तालमेल नगर्ने, चौथो लोकतान्त्रिक पार्टीले अतिवादीलाई प्रक्रियाबाटै अलग्याउने, वैधता नदिने र पाँचौं, जहाँ चुनावमा प्रतिस्पर्धी अतिवादीलाई मूलधारका पार्टीहरूले संयुक्त मोर्चा बनाएर पराजित गर्ने । यसो गर्न कठिन छ, तर असम्भव भने छैन ।

जसरी इन्दिरा गान्धीले भारतमा सन् १९७५ मा संकटकाल लगाएर लोकतान्त्रिक संस्थाहरूलाई फितलो बनाएकी थिइन्, गृहयुद्धताका अब्राहम लिंकनले पनि त्यस्तै गरेका थिए । १८६४ को चुनावमा अमेरिकाका एकतिहाइ राज्यले भाग लिएनन् । सिनेटका पचासमध्ये २२ सीट खाली थिए, संसद्को एक चौथाइ रिक्त थियो ।

कुनै पनि व्यवस्थामा अँध्यारा र अप्ठ्यारा दिन आउँछन्, तर त्यसबाट सफलतापूर्वक कसरी बाहिर निस्कने ? आज अमेरिका जुन लोकतान्त्रिक जग र संस्कारमा उभिएको छ, त्यसमा प्रथम राष्ट्रपति जर्ज वासिंगटनको ठूलो देन छ । वासिंगटनले भनेका थिए– ‘म नयाँ जमीनमा हिंडिरहेको छु । मेरो आचरणको कुनै पनि हिस्सालाई भविष्यमा नजिरको रुपमा हेरिनेछ ।’ उनले आफ्ना लिखित अधिकारको जमेर उपभोग गरे, संसद्को कुनै पनि अधिकार क्षेत्रमा कुल्चेनन् । वासिंगटनले तेस्रो पटक राष्ट्रपति बन्न इन्कार गर्दा संविधानले रोकेको थिएन । फ्रांकलिन डी रुजबेल्ट चार पटक राष्ट्रपति निर्वाचित भएपछि मात्र एउटै व्यक्ति दुई पटक भन्दा बढी राष्ट्रपति बन्न नपाउने कानून बनाइएको हो । त्यसैले पनि हुनसक्छ, बेलायती लेखक जेम्ब ब्रायसले आफ्नो पुस्तक द अमेरिकन कमनवेल्थ मा अमेरिकी राजनीतिक व्यवस्थालाई संविधानले नभएर अलिखित नियमहरूको प्रयोगले बनाएको भनेका छन् ।

दुईतिहाइ दम्भ

नेपाल गणतन्त्र अभ्यासको प्रारम्भिक वर्षहरूमा छ । हाम्रा नेता र पार्टीहरूको प्रत्येक आचरण लोकतन्त्र सबलीकरणको नजिर बन्छ । विश्वको पुरानो लोकतन्त्र कसरी चलेको छ र हामी कहाँ कहाँ सचेत हुनुपर्छ भन्ने कुरा बुझ्न यो पुस्तकले मद्दत गर्दछ ।

गणतन्त्र नेपालको संविधान जारी भएपछिको पहिलो निर्वाचनमार्फत कम्युनिष्ट पृष्ठभूमि भएका शक्तिहरू सत्तासीन छन् । हुन त विगतका सत्ता बहिर्गमन र सत्तारोहणका घटनालाई हेर्दा उनीहरूको लोकतान्त्रिक व्यवहारप्रति शंका गर्नुपर्ने ठाउँ छैन तर बेलाबेला देखिएको दुईतिहाइको दम्भप्रति भने सचेत र चनाखो भइरहनुपर्ने देखिन्छ ।

विवादास्पद प्रधानन्यायाधीश गोपाल पराजुलीलाई अपारदर्शी रुपमा बिदाइ गरिनु, प्रधानमन्त्री ओलीका प्रिय पात्र भनी चिनिएका पर्शुराम बस्नेतले सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट सफाइ पाउनु, यसअघि प्रधानमन्त्री कार्यालयअन्तर्गत नभएका विशेष अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण, राजदूत, अनुसन्धान जस्ता विभाग÷निकायलाई आफ्नो अधीनमा राख्नुले यसैको संकेत गरेको छ । सरकारले ‘मधुमास’ पनि गुजारिनसकेकोले हुनसक्छ, शक्तिशाली प्रधानमन्त्रीको कसैले विरोध गरेका छैनन् । तर, प्रधानमन्त्रीको नियत सोझो र सपाट नभएको आशंकालाई बल भने अवश्य पुगेको छ ।

बाराक ओबामाले राष्ट्रपति निर्वाचित भएपछि आफ्ना प्रतिस्पर्धी जोन म्याकवेलको योगदानको तारिफ गरेका थिए । तर, ओलीले सफलतापूर्वक निर्वाचन गराएका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई सामान्य धन्यवाद दिन समेत आवश्यक ठानेनन् । संसद्मा विश्वासको मत लिंदा प्रतिपक्षको सम्मान गर्न चुके । ‘मलाई भोट नहालेकोमा सपनामा चुकचुकाउनुहोला’ उनको यो बोली शिष्ट र मर्यादित थिएन ।

पुस्तकले डेमोक्र्याटको तुलनामा रिपब्लिकन ज्यादा अनुदार, अतिवादी र संस्कारहीन भएको आरोप लगाएको छ । त्यसका लागि रिपब्लिकन पार्टीका नेताहरूका अभिव्यक्ति पनि प्रशस्त समेटिएको छ । यो पुस्तक कतै रिपब्लिकनलाई बदनाम गराउन निकालेको पर्चा त होइन भन्ने लाग्न पनि सक्छ । तर, त्यति मात्र ठानिए, पुस्तकप्रति अन्याय हुनेछ ।

लेखकद्वयको निष्कर्ष छ– कुनै एउटा नेताले प्रजातन्त्र मास्न सक्दैन । न त कुनै एक नेताले प्रजातन्त्रको उद्धार नै गर्न सक्छ । लोकतन्त्र साझा अनुष्ठान हो । यसको भाग्य हामी सबैमा भर पर्दछ । हामीले लोकतन्त्रलाई भित्रबाटै मर्न दिनबाट रोक्नुपर्छ ।

comments powered by Disqus

रमझम