ठूलो आकर्षण

Share:
  
- कमल रिमाल, विराटनगर
फ्लड लाइट, मैदानमै टेलिभिजन लाइभलगायतका प्रयोगले यस वर्षको विराट गोल्डकपमा नसोचेका दर्शक देखिए।

कमल रिमाल
२६ चैतमा विराटनगरको शहीद मैदानमा भएको विराट गोल्डकप फूटबल प्रतियोगिताको फाइनल हेर्न पुगेका हजार बढी दर्शक टिकट नपाएर फर्किनुपर्‍यो । यो झोंकमा कतिले आयोजक विरुद्ध नारा लगाए त कति गेट नै भत्काएर भित्र छिरे । मैदानमा नअटेपछि छेउको नेपाल टेलिकमको टावर, वरपरका ठूला घर र खेलकुद विकास समिति भवनको छानामा पनि दर्शक भरिए । दर्शक ओइरिनुको एउटै कारण थियो, फ्लड लाइट र प्रविधि प्रयोग ।

फ्लड लाइट, ठूलो एलईडीमा प्रत्यक्ष प्रसारण, ड्रोन क्यामेराको रेकर्ड र आतिसबाजी समेतले विराटनगरका दर्शकलाई नौलो स्वाद दिएको थियो । रु.१० हजारसम्म खर्चेर सिजनल टिकट काटेर आउनेहरू पनि थिए । उनीहरूलाई विशेष सिटको व्यवस्था गरिएको थियो ।

फ्लड लाइटको प्रकाशमा सञ्चालित खेल बेलुकी ७ बजेदेखि शुरु हुन्थ्यो । खेल अवधिभर मैदानका ६ ठाउँमा जडान गरिएका फ्लड लाइटमा मात्र रु.३५ लाख खर्च भएको आयोजकको भनाइ छ । प्रतियोगिताको कुल बजेट रु.१ करोड थियो ।

विजेता टीम थ्रीस्टार शिल्डका साथ ।

“विराटनगरको इतिहासमै दुर्लभ खेल भयो, नौ रात करीब डेढ लाख दर्शकले खेल हेरे”, आयोजक समितिका अध्यक्ष नविन रिजाल भन्छन्, “फाइनलमा ८ हजार अट्ने रंगशालामा २० हजार थिए । माइकमार्फत घरमै टेलिभिजनमा लाइभ हेर्न आग्रह गर्नु पर्‍यो ।”

गोल्डकपका सबै खेल हेरेका कटहरी गाउँपालिका–२ का वडाध्यक्ष किशोर पाण्डे व्यवस्थापन कमजोर देखिए पनि प्रतियोगिताले दर्शक र नयाँ प्रविधि प्रयोगमा रेकर्ड बनाएको बताउँछन् ।

२०१८ सालमा महेन्द्र गोल्डकपका नामबाट स्थापित प्रतियोगिता २०६७ मा विराट गोल्डकपमा परिणत भएको थियो । अघिल्लो वर्षबाट नियमित हुन थालेको प्रतिगोगिताको यो वर्षको उपाधि थ्रीस्टार क्लबले जित्यो । नेपाल आर्मी विरुद्ध ०–३ गोल अन्तरले विजयी थ्रीस्टारले उपाधिसहित रु.१२ लाख ७१ हजार पुरस्कार हात पार्‍यो ।


देशमा देवनारायण

थ्रीस्टार र सेनाबीचको फाइनलका हजारौं दर्शकमध्ये एक थिए, देवनारायण चौधरी । २०५० को दशकमा नेपाली फूटबलको राष्ट्रिय टीमका महत्वपूर्ण सदस्य चौधरी एक दशकदेखि अमेरिका बस्छन् । तर, फाइनल जसरी पनि हेर्छु भनेर उनी जिल्ला आइपुगे ।

“किनभने, मेरो खेल यही मैदानबाट शुरु भएको हो, यही मैदानमा खेलेको देखेर नेपाल पुलिसले मलाई जागिर दियो” चौधरी सम्झन्छन् ।

प्रहरी नायव निरीक्षकसम्म बनेका चौधरी २१वर्षे प्रहरी सेवापछि २०६५ सालमा सेवानिवृत्त भए । त्यसपछि उनी अमेरिकाको शिकागोतिर लागे । त्यहाँ पनि उनी बिदाको दिन नेपाली मूलका ७२ जना बालबालिकालाई फूटबल सिकाउँछन् ।

१५ वर्ष राष्ट्रिय टीमबाट खेलेका उनी सन् १९९९ मा नेपालमै भएको साफमा टीम फाइनलमा कप्तान थिए । मलेशिया, भारत, बंगलादेशका विभिन्न क्लबमा पनि खेले । दामभन्दा नाम धेरै कमाए ।

मोफसलको फूटबलमा यतिका दर्शक देखेपछि चौधरीलाई खेलमै फर्कने मन छ । शैक्षिक प्रमाणपत्र नभएकाले प्रशिक्षक हुन नसके पनि टीम संचालन गर्ने उनको इच्छा छ । “मेरो शिक्षा नै फूटबल हो, पढ्ने बेला फूटबल खेलें”, उनी भन्छन् । अब तीन–चार वर्ष अमेरिका बसेर टीम सञ्चालन गर्ने पैसा जुटाउने उनको योजना छ । “यसका लागि पारस माझी, प्रदीप खवास दाइहरूसँग सल्लाह गर्दैछु” उनले भने ।

विराट गोल्डकपको फाइनलमा चौधरीसँग फोटो खिचाउन दर्शकसँगै खेलाडीहरूको पनि भीड थियो । फाइनलमा हेड गोल गरेर थ्रीस्टारलाई जिताएका स्ट्राइकर अनन्त तामाङले त चौधरीलाई भेटेर ‘तपाईंले जस्तै गोल गरें’ भनेपछि उनी भावुक भए । आयोजकले नचिने पनि नयाँ खेलाडीले आदर्श मानेकोमा उनी दंग देखिए ।

comments powered by Disqus

रमझम