९-१५ वैशाख २०७५ | 22-28 April 2018

बढ्यो भारतको भाउ

Share:
  
- टीकाराम राई
चीनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बेइजिङको स्टेट गेष्ट हाउसमा न्यानो स्वागत गर्दै अब नेपालमा हुने चिनियाँ लगानी भारतीय रुचिबाट पनि प्रभावित हुने स्पष्ट संकेत दिएको छ।

चिनियाँ विदेशमन्त्री वाङ यीसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ।
नेपालको विकासमा चीन र भारतबीच साझ बुझइ हुनुपर्ने अवधारणा चीनले अगाडि सारेको छ । चीन भ्रमण (वैशाख ४–८) मा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग ५ वैशाखमा भेटवार्ता गरेपछि आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको विकास सन्दर्भमा त्यस्तो अवधारणा राखेका हुन् ।

चिनियाँ विदेश मन्त्रालयको अभ्यास विपरीत परराष्ट्रमन्त्री ज्ञवालीसँग चिनियाँ परराष्ट्रमन्त्री वाङले चिनियाँ स्टेट गेष्ट हाउस (ल्याउथाई) मा भेटवार्ता गरेपछि अनपेक्षित धारणा राखे । सामान्यतः चिनियाँ विदेशमन्त्री र समकक्षी मन्त्रीबीच चिनियाँ परराष्ट्र मन्त्रालयमै औपचारिक भेटवार्ता हुन्छ । कम्युनिष्ट पार्टीको विदेशी पाहुनालाई चाहिं ल्याउथाईमा राख्ने चलन छ ।

भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा एक चिनियाँ पत्रकारले सोधेको प्रश्नको उत्तरमा विदेशमन्त्री वाङले त्यस्तो धारणा राखेका हुन् । विदेशमन्त्री वाङले प्रश्नोत्तरको समयमै हिमालयन इकोनोमिक करिडोरबारे पनि आफ्ना धारणा राखे । उनको लिखित वक्तव्यमा चाहिं अन्तरसीमा आर्थिक सहयोग केन्द्रको बारेमा उल्लेख छ । यी तीनवटै अवधारणा महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोडसँग सम्बन्धित छन् ।

चीनले नेपालको विकास सहयोगमा भारतको सहमति खोज्नु आश्चर्यजनक छ । बेल्ड एण्ड रोड परियोजनामा भारतलाई संलग्न गराउन र नेपालको विकासमा भारतको भूमिका अनिवार्य छ भन्ने नेपाली नेताहरूको मनोविज्ञानलाई बुझेर विदेशमन्त्री वाङले त्यस्तो अवधारणा ल्याएको बुझ्न्छि । वाङको उक्त धारणा नेपालमा भारतीय भूमिका हुनुहुँदैन भन्नेहरूका लागि निराशाजनक छ ।

विजयकेशव गोखले विदेश सचिवमा नियुक्त भएपछि चीनप्रति भारत केही नरम भएको छ । गत २५ जनवरीमा गोखलेको नियुक्तिपछि भारत सरकारले निर्वासित तिब्बती सरकारलाई चीन विरुद्ध गतिविधि नगर्न सल्लाह दिंदै प्रत्येक वर्ष १० मार्चमा मनाउँदै आएको विद्रोह दिवस धुमधामले मनाउन पनि दिएन । उक्त कार्यक्रममा उपस्थित हुनका लागि भारतीय अधिकारीहरूलाई प्रतिबन्ध नै लगायो । अब चाँडै भारतीय रक्षामन्त्री र विदेशीमन्त्रीको चीन भ्रमण हुँदैछ । सम्भवतः त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन जानेछन् । चीन पनि नेपालको सन्दर्भमा भारतमैत्री हुन थालेको सन्देश विदेशमन्त्री वाङको भनाइबाट बुझ्न्छि ।

मन्त्री ज्ञवाली भारतसँग नेपालको राम्रो सम्बन्ध हुनुपर्छ, भारतलाई चिढ्याउनुहुँदैन भन्ने विचार सार्वजनिक गर्दै आएका नेता हुन् । उनको पृष्ठभूमि र धारणाबारे चीन अनभिज्ञ हुने कुरै भएन । यही कारण चिनियाँ विदेशमन्त्री वाङले मन्त्री ज्ञवाली र नेपाली नेताहरूको भारत सन्दर्भको मनोविज्ञानसँग मेल खाने गरी नेपालको विकासमा चीन र भारतबीच साझ बुझइ हुनुपर्छ भन्ने अवधारणा राखेका हुन् ।

दक्षिण एशियामा भूटान र भारत मात्र चीनको उक्त बेल्ट एण्ड रोड परियोजनामा संलग्न छैनन् । चीन, भारतलाई उक्त परियोजनामा संलग्न गराउन धेरै अगाडिदेखि नै प्रयासरत छ । यो परियोजनाअन्तर्गत पाकिस्तानमा निर्मित ग्वादर बन्दरगाहले काश्मिरमा सुरक्षा खतरा उत्पन्न गराएको भन्दै भारत त्यसमा संलग्न हुन मानेको छैन । भारतको यो भनाइलाई सम्बोधन गर्ने उपायको खोजीमा छ, चीन । अब भारतले उक्त परियोजनामा संलग्न हुने निर्णय गरे आश्चर्य मान्नु पर्दैन ।

बेल्ड एण्ड रोड चिनियाँ उत्पादनको बजार विस्तार गर्ने औजार हो । अमेरिकाले भने यसलाई सैनिक परियोजना भन्ने गरेको छ । भारत यो परियोजनामा संलग्न हुँदा चिनियाँ उत्पादनले भारतमा सहज प्रवेश पाउँछन् भने भारतीय व्यापारिक घरानाहरूले चीनमा पहुँच पाउँछन् । यही कारण चीन र भारत दुवै आपसमा सहज बन्दैछन् । त्यो संकेत गर्न पनि चिनियाँ विदेशमन्त्री वाङले नेपालका परराष्ट्र मन्त्रीलाई विशेष सम्मान गर्दै त्यस्तो धारणा राखेका हुन् । कूटनीतिमा राष्ट्रिय स्वार्थ सर्वोपरि हुन्छ भन्ने भनाइ वाङको यो धारणाबाट पुष्टि हुन्छ ।

नेपालको विकासमा भारत सकारात्मक छैन भन्ने पञ्चेश्वर परियोजना, नेपाल प्रहरीको तालिम केन्द्र र हुलाकी राजमार्गको अनुभवबाट स्पष्ट हुन्छ । चिनियाँ विकास परियोजना नेपालमा संचालन नहोस् भन्ने मनसाय भारतीय सत्तापक्षको छ । यही कारण, चिनियाँ विकास परियोजना रोक्न उनीहरू सक्रिय छन् । नेपालको विकासमा भारत र चीनको समान बुझइ हुनुपर्छ भन्ने चिनियाँ धारणा आएबाट भारतीय मनोकांक्षा पूरा भएको स्पष्ट हुन्छ । यही कारण अब अपेक्षा गरे अनुसार चिनियाँ सहयोग प्रवाह बढाउने चुनौती बढेको छ ।

comments powered by Disqus

रमझम